जिल्ला प्रशासन कार्यालयले भोलि शनिबारदेखि सार्वजनिक बिदाको दिनमासमेत राष्ट्रिय परिचयपत्र सेवा दिने भएको हो ।
बर्दिया — जिल्ला प्रशासन कार्यालय बर्दियाले सार्वजनिक बिदाको दिनमा राष्ट्रिय परिचयपत्र सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालयले भोलि शनिबारदेखि सार्वजनिक बिदाको दिनमासमेत राष्ट्रिय परिचयपत्र सेवा दिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र सेवा लिन आउने सेवाग्राहीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । दिनहुँ १ सय ५० जना बढी सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले बताए ।
‘सेवाग्राहीको चाप अत्यधिक बढेकोले शनिबार र आइतबार राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गरिनेछ,’ उनले भने, ‘अर्को सूचना प्रकाशित नभएसम्म शनिबार र आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अन्य दिन जस्तै नियमित रुपमा प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गर्नेछ ।’
सेवाग्राहीको सुविधालाई मध्यनजर गरी प्रशासनले सार्वजनिक बिदाको दिनमा सेवा प्रवाह गर्नु जिल्लावासीको लागि सुखद रहेको सर्वसाधारणहरुको भनाइ छ ।
