चालकको सावधानी, ट्राफिक व्यवस्थापनमा कडाइ र ठूलो वर्षा हुँदा सवारी साधन रोक्ने अभ्यासले सिद्धबाबा क्षेत्रमा दुर्घटना न्यूनीकरण भएको प्रहरीको निष्कर्ष छ।
What you should know
पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पछिल्लो सात वर्षयता सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ। एक समय वर्षायाम सुरु हुनासाथ पहिरो, ढुंगा र तीव्र गतिका कारण बारम्बार दुर्घटना हुने यो सडकखण्डमा अहिले चालकको सावधानी, ट्राफिक व्यवस्थापनमा कडाइ र ठूलो वर्षा हुँदा सवारी साधन रोक्ने अभ्यासले दुर्घटना न्यूनीकरण भएको प्रहरीको निष्कर्ष छ।
जिल्ला प्रहरी पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जोखिमबारे चालकमा चेतना बढ्नु र ट्राफिक नियमको कडाइका कारण दुर्घटना घटेको बताए। 'जोखिम क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै पनि विगतमा जबर्जस्ती सवारी चलाउने प्रवृत्ति थियो,' उनले भने, 'अहिले चालकलाई निरन्तर सचेत गराउने, ट्राफिक नियम कडाइका साथ लागू गर्ने र ठूलो वर्षा हुँदा सवारी रोकिने व्यवस्थाले दुर्घटना घटेको छ।'
उनका अनुसार वर्षायाममा ठूलो वर्षा भएपछि दोभान र बुटवलमै सवारी रोक्ने, जोखिमपूर्ण स्थानमा प्रहरी परिचालन गर्ने तथा चालकलाई निरन्तर सचेत गराउने अभ्यास प्रभावकारी बनेको छ।
बुटवल–गुल्मी रुटमा इभी चलाउने चालक दीपेश खत्रीका अनुसार सुरुङमार्ग निर्माणका कारण सडक साँघुरो भएकाले पनि तीव्र गतिमा सवारी चलाउन सकिने अवस्था छैन। 'चार किलोमिटर क्षेत्रमा खाल्डाखुल्डी र निर्माण कार्यका कारण बिस्तारै चलाउनुपर्छ,' उनले भने, 'अर्कोतर्फ निकै होसियार भएर मात्रै सवारी चलाउनुपर्ने भएकाले पनि दुर्घटना घटेको हुन सक्छ।'
स्थानीय टंक बस्यालका अनुसार सुरुङमार्ग निर्माण भइरहेकाले अधिकांश सवारी साधन स्वाभाविक रूपमा कम गतिमा चलिरहेका छन्। प्रहरी र ट्राफिक प्रहरीको नियमित निगरानी तथा जोखिमयुक्त स्थानमा खटिने व्यवस्थाले पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र खड्काले जिल्लाभर दुर्घटनाको संख्या बढेजस्तो देखिए पनि सिद्धबाबा क्षेत्रमा भने २०७६ यता दुर्घटना घटेको बताए। 'ठूलो पानी पर्नासाथ सवारी साधन रोक्ने व्यवस्था गरिएको छ,' उनले भने, 'जोखिमका बेला यात्रा नगर्ने र चालक सचेत हुने अभ्यासले पनि दुर्घटना कम भएको हो।'
गत आर्थिक वर्ष जिल्लाभर ११६ दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो। चालु आर्थिक वर्षको जेठसम्म १४४ दुर्घटनामा ३३ जनाले ज्यान गुमाएका छन्। तर प्रहरीका अनुसार सिद्धबाबा क्षेत्रमा भने पछिल्ला सात वर्षयता दुर्घटनाको दर घट्दो छ।
यद्यपि सिद्धबाबा अझै पनि देशकै सबैभन्दा जोखिमयुक्त सडकखण्डमध्ये एक मानिन्छ। २०५४ सालमा बस तिनाउ खोलामा खस्दा ३९ जनाको मृत्यु भएको थियो। २०५५ मा पहिरोले बस बगाउँदा २६ जनाले ज्यान गुमाए। त्यसयता पनि पहिरो, ढुंगा र सडक दुर्घटनाले पटक–पटक ठूलो मानवीय क्षति पुर्याएको छ।
आर्थिक वर्ष २०७०/७१ मा मात्रै सिद्धबाबा क्षेत्रमा ११ जनाको मृत्यु भएको थियो। त्यसपछिका केही वर्ष पनि पहिरो र दुर्घटनामा हरेक वर्ष जनधनको क्षति भएको प्रहरीको तथ्यांक छ। स्थानीय जंगबहादुर सुनारका अनुसार दोभानदेखि चिडियाखोलासम्मको चार किलोमिटर सडकखण्ड सबैभन्दा जोखिमयुक्त हो। यही क्षेत्रमा माथिबाट ढुंगा खस्ने, पहिरो जाने र लेदोमाटोसहितको भेलले सवारी साधन बगाउने घटना धेरै हुने गरेका छन्।
जिल्ला ट्राफिक प्रहरीका अनुसार बर्तुङदेखि चिडियाखोलासम्मको ३६ किलोमिटर सडकखण्डमा पछिल्ला दुई दशकमा २०० भन्दा बढीको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते वा अंगभंग भएका छन्। स्थानीय विष्णुप्रसाद पाण्डेका अनुसार अहिले पनि जोखिम उस्तै छ। 'दैनिक दोभानदेखि बुटवल यात्रा गर्दा कहाँबाट ढुंगा वा माटो खस्छ भन्ने अनुमान गर्न सकिँदैन,' उनले भने, 'वर्षातमा यो सडक अझै पनि उत्तिकै संवेदनशील छ।'
२०२२ सालमा निर्माण सुरु भएको सिद्धार्थ राजमार्ग २०२८ सालमा पोखरासम्म कालोपत्र गरिएको थियो। तर सिद्धबाबा खण्डको दीर्घकालीन समाधानका लागि सुरुङमार्ग निर्माण भइरहेको छ। प्रहरी र स्थानीयका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि मात्रै यस सडकखण्डको दुर्घटनाको जोखिम स्थायी रूपमा घट्ने अपेक्षा गरिएको छ।
