बर्दिया निकुञ्जमा गाडीको ठक्करबाट एक वर्षमा ३५ वन्यजन्तु मारिए

बर्दिया निकुञ्जबाट राजमार्गमा आउजाउ हुने गाडीलाई टाइम कार्ड लागू गरिए पनि वन्यजन्तुको दुर्घटनामा पर्ने क्रम रोकिएको छैन ।

श्रावण २, २०८३

कमल पन्थी

35 wildlife killed in Bardiya National Park in one year due to vehicle collisions

What you should know

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा सवारी साधनको ठक्करबाट एक वर्षमा ३५ वन्यजन्तु मरेका छन् ।

गत आर्थिक वर्षमा महेन्द्र राजमार्गको सडक खण्ड रम्मापुर चेक पोष्ट हुँदै चिसापानीसम्म भएका दुर्घटनामा ३५ वन्यजन्तु मारिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

दुर्घटनामा सबैभन्दा बढी १८ वटा चित्तल मारिएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताए । गाडीको ठक्करबाट लंगुर ५, बाँदर ३, चितुवा १ मारिएको उनले बताए । यसबाहेक निर बिरालो, जरायो, सुन गोहोरो, रतुवा मृग, खरायो, न्याउरी मुसा, मयुर, जंगली बिरालोसहित गरी ३५ वटा वन्यजन्तु मारिएका छन् । 

अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा सवारी दुर्घटनामा ३० वटा वन्यजन्तु मारिएका थिए । उक्त वर्ष १८ चित्तल, १ गैंडाको बच्चासहित ३० सवारी दुर्घटनामा मरेका थिए । 

प्रशासनले बर्दिया निकुञ्जबाट राजमार्गमा आउजाउ हुने सवारी साधनलाई टाइम कार्ड लागू गरे पनि वन्यजन्तुको दुर्घटनामा पर्ने क्रम भने रोकिएको छैन । निकुञ्जका सूचना अधिकारी न्यौपानेले प्रायःजसो दुर्घटना रातिको समय हुने गरेको बताए । ‘यसको मुख्य कारण भिजिविलिटी कम हुनु हो, केहीले लापरवाही ढंगले सवारी साधन गुडाउने गरेकाले पनि दुर्घटना हुने गरेको छ,’ उनले भने । 

राजमार्ग अन्तरगत निकुञ्जको रम्मापुरदेखि शैनबारसम्म १४ किलोमिटरमा २ वटा चेकपोष्टबाट आउजाउका लागि टाइम कार्ड लागु गरिएको छ । राजमार्गको अर्मेनी–चिसापानी खण्डको १४ किमीमा पनि सवारी साधनलाई टाइम कार्ड लागु गरिएको छ । सरकारी सवारी साधन, मन्त्री सवार साधन, एम्बुलेन्सलगायतका अत्यावश्यक गाडीमा भने टाइम कार्ड लागु गरिएको छैन ।

निकुञ्जका पूर्ववार्डेन रमेशकुमार थापाले राजमार्गको अम्रेनी–चिसापानी खण्ड घना जंगलसँगै सबैभन्दा बढी वन्यजन्तु ओहोरदोहोर गर्ने भएकोले वन्यजन्तु सवारी दुर्घटनामा मारिने गरेको बताए । ‘राजमार्गमा सवारी साधन आउजाउ गर्दा वन्यजन्तु ओहोरदोहोर गर्दा दुर्घटनामा पर्ने गरेका छन्,’ उनले भने, ‘यस ठाउँमा अण्डर/ओभरपास पुल बनाउन जरुरी छ ।’ 

१० वर्षअघि महेन्द्र राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभारमा बसको ठक्करले बयस्क पाटे बाघ मरेको थियो । पछिल्लो गणनामा बर्दिया निकुञ्जमा १ सय २५ बाघ, ३६ वटा गैंडालगायत वन्यजन्तु छन् । यहाँ हात्तीको संख्या १ सय २० रहेको निकुञ्जको अनुमान छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully