सरकारी कार्यालयमा मादक पदार्थ सेवन गर्ने पाँच जना पक्राउ

भूमि प्रशासन कार्यालयमा मादक पदार्थ सेवन गर्ने ५ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।

श्रावण १, २०८३

रामप्रसाद चौहान 

Five arrested for consuming alcohol in government office

बर्दिया — सरकारी कार्यालयमा दिउँसै मादक पदार्थ सेवन गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो भूमि प्रशासन कार्यालयमा मादक पदार्थ सेवन गरिरहेका उनीहरूलाई  प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार कार्यालय समयमै कार्यालयभित्र मादक पदार्थ सेवन गरिरहेको देखेपछि सेवाग्राहीले जिल्ला प्रशासनमा खबर गरेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकाल र प्रहरी निरीक्षकसहितको टोली भूमि प्रशासन कार्यालयमा पुग्दा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो । 

भूमि प्रशासन कार्यालयका खरिदार सुर्खेत विरेन्द्रनगर नगरपालिका–११ का युवराज आचार्य, सवारी चालक बारबर्दिया नगरपालिका–७ बस्ने गुलबहादुर चौधरी, गुलरिया नगरपालिका भू–सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका–६ का सन्तोष राना, लेखनदास गुलरिया नगरपालिका–४ की दिलमाया डाँगी र सुभा थारूलाई भूमि प्रशासन कार्यालयबााट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले बताए । 

कार्यालयभित्र मादक पदार्थ सेवन गर्ने ५ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पनि बताए ।

यस विषयमा भूमि प्रशासन कार्यालयका प्रमुख शेरबहादुर थापा र सूचना अधिकारी दिपेन्द्रकुमार बिसीलाई फोन सम्पर्क गर्दा सम्पर्क भएन ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully