दुई लेनको ३ सय मिटर लामो पुलको ५ ठाउँमा सरिया बाहिर निस्किएर खाडल बढ्दै गएको छ ।
बर्दिया — गुलरिया-नेपालगन्ज हुलाकी सडकमा पर्ने गुलरियास्थित बबई नदीको भादा पुल हस्तान्तरण भएको २ वर्ष नबित्दै स्पान माथिको व्यारिङ कोर्स उप्किदै गएको छ ।
दुई लेनको ३ सय मिटर लामो पुलको ५ ठाउँमा सरिया बाहिर निस्किएर खाडल बन्दै गएको छ । पुलका सरिया बाहिर निस्कदा सवारी साधन जोखिममा परेको छ । यो पुल हुँदै दैनिक करिब ५ सय बढी सवारी साधन आउजाउ गर्छन् ।
करिब ३५ करोड रुपैयाँका लागतमा बनेको पुल २ वर्ष नबित्दै क्षति हुन थालेको हो । पुल निर्माण लागि सपना निर्माण सेवा काठमाडौंले २०७४ मंसिर २२ मा ठेक्का लिएको थियो ।
सडक पूर्वाधार कार्यालय बर्दियाका प्रमुख हेमन्तकुमार रोकाले मापदण्ड अनुसार ढलानको मोटाई नपुग्नु, कंक्रिटको गुणस्तरमा कमी, कम्तीमा १४ दिन ढलान गरिएको ठाउँमा पानी हाल्दा छोपेर नराख्दा व्यारिङ कोर्स उप्किने गरेको बताए ।
पुल महाशाखाकी प्रमुख सविना राना भाटले व्यारिङ कोर्स सँगै फलेग लियर निस्केकोले ठेकेदार कम्पनीलाई फोन र पत्राचार गरी तत्काल मर्मत गर्न निर्देशन दिएको बताइन् । ‘निर्माणको ५ वर्षसम्म सम्बन्धित कम्पनीले मर्मत गर्नुपर्ने सम्झौतामा उल्लेख छ,’ उनले भनिन्, ‘डिजाइन र निर्माणको काम ठेकेदार कम्पनीको भएकोले सबै जिम्मा उसैको हो ।’ नयाँ बनेको पुलसँगै जोडिएको ०३८ सालमा बनेको एक लेनको पुरानो पुलमा अहिलेसम्म कुनै समस्या देखिएको छैन ।
