नदीको कटानले यस भेगका रत्नापुर, झगरुपुर, रंगीपुर, नयाँपुर र महजदिया गाउँ उच्च जोखिममा परेका छन् ।
बर्दिया — मंगलबार बबई नदीमा जलस्तर बढेपछि गुलरिया नगरपालिका–१० का पाँच गाउँ उच्च जोखिममा परेका छन् । जलस्तर घट्नासाथ नदीको कटानले यस भेगका रत्नापुर, झगरुपुर, रंगीपुर, नयाँपुर र महजदिया गाउँ उच्च जोखिममा परेका छन् ।
साबिक बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालय, बर्दियाले दशगजा नजिक तटबन्ध गर्ने क्रममा भारतको अवरोधले काम रोकिएको ठाउँमा बबई नदीको कटान हुन थालेको छ । गुलरिया–१० रत्नापुरका किसान दीपक चौधरीले यस क्षेत्रमा तटबन्ध निर्माणमा भारतले अवरोध गरेका कारण नदीले धार परिवर्तन गर्दै पाँच वटा गाउँ जोखिममा परेको बताए ।
‘ठूलो बाढी आउनासाथ नदी कटान बढ्दै गई यस क्षेत्र डुबानमा पर्ने जोखिममा पर्नेछ,’ उनले भने, ‘यस क्षेत्रमा सम्बन्धित निकायले तटबन्ध तत्काल बनाउन जरुरी छ ।’ बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयले निर्माण गरेको दक्षिणतर्फका तटबन्ध पनि कटानको जोखिममा परेका छन् । आयोजनाले यस क्षेत्रमा तटबन्ध गर्ने योजना बनाइरहेको अवस्थामा गत वर्ष साउन १ गतेदेखि कार्यालय डडेलधुरा स्थानान्तरण गरिएको छ । आयोजना स्थानान्तरण भएपछि यस क्षेत्रमा तटबन्धको काम प्रभावित भएको छ ।
यस कार्यालयको कामकाज अहिले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले (साबिक कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुर) हेर्ने गरेको छ । आयोजना प्रमुख सुदिन मुक्तानले नदी कटानबारे आफूलाई जानकारी कतैबाट नआए पनि त्यस क्षेत्रमा पुगेर रोकथामको प्रयास गर्ने बताए । ‘धेरैलाई साबिक बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालयको सम्पर्क कार्यालय, राजापुरले हेर्ने गरेको जानकारी छैन,’ उनले भने, ‘यसै कारण हामीलाई बबई कटानबारे जानकारी नआएको होला ।’ विगत सात वर्षयता स्थानीय किसानको ४० बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरिसकेको स्थानीय किसान जगदीश लोधले बताए ।
वर्षायाम असोजसम्म हुने भएकाले खेत कटानको त्रास उत्तिकै रहेको स्थानीय रघुवीर मल्लाहले बताए । ‘सरकारले बबई, भादा, ओराही नदी व्यवस्थापन आयोजनाको काम पूरा नहुँदै अन्यत्र स्थानान्तरण गरेर ठूलो गल्ती गरेको छ,’ उनले भने, ‘अब तटबन्ध कहिले हुने, कसले गर्ने, त्यतिन्जेलसम्म हाम्रो खेत नदीले बगाइसक्छ ।’
नेपाल–भारत सीमा नजिक रहेको उक्त गाउँमा धान, तोरी, गहुँ, तरकारी र मकै उत्पादन हुन्छ । नदी कटान रोक्न स्थायी तटबन्ध बनाउनु पर्ने माग गाउँलेहरूले गर्दै आएका छन् । तटबन्धको काम गत आवदेखि सुरु गर्ने योजना भए पनि आयोजना स्थानान्तरण भएपछि अधुरो रह्यो ।
यस भेगको दक्षिणबाट नदी कटानले धार परिवर्तन गरिरहेकाले उच्च जोखिम बढेको स्थानीय बताउँछन् । पाँच वर्षअघि यसै गाउँ नजिक नेपाल–भारत सीमामा रहेका तीन वटा सीमा स्तम्भ बगाएको थियो । यस वर्ष ठूलो बाढी अझै आएको छैन । स्थानीय नरेश गोडियाले भने, ‘२०७१ र २०७४ सालजस्तो बाढी आए रंगीपुर लगायत रत्नापुरमा समेत ठूलो क्षति हुने जोखिम बढेको छ ।’
