सिद्धार्थ राजमार्गको दोभान बजारदेखि चिडियाखोलासम्मको चार किलोमिटर सडकमा हिउँदमा धुलो उडेर हैरानी हुन्छ भने वर्षा सुरु भएपछि हिलाम्य हुने गरेको छ।
पाल्पा — सिद्धार्थ राजमार्गको दोभान बजारदेखि चिडियाखोलासम्मको चार किलोमिटर सडकमा यात्रु तथा चालकले जहिलेसुकै सास्ती खेप्नुपर्ने बाध्यता छ । हिउँदयाममा धुलो उडेर हैरानी हुन्छ भने वर्षा सुरु भएपछि हिलाम्य सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ ।
‘यसपटक अझ बढी समस्या बेहोर्नु परेको छ,’ गुल्मीबाट मोटरसाइकलमा यात्रा गर्दै गरेका खिमलाल पन्थले भने, ‘अघिल्ला वर्षमा भन्दा यसपटक धेरै हिलाम्मे भएछ ।’ साना सवारी साधनका चालकले बढी समस्या खेप्नु परेको उनले बताए । माथिबाट पहिरो तथा ढुंगा खस्ने डर छ भने हिलाम्मे सडकमा चिप्लिने खतरा रहेको उनले बताए । पन्थले भने, ‘सामान्य वर्षा भए पनि हिलाम्मे भएर चिप्लिने समस्या छ ।’
वर्षायाम सुरु भएपछि पानी पर्नासाथ दोभान बजारनजिकै पैठेडाँडादेखि चिडियाखोलासम्म नै यात्रा गर्न कठिन छ । हिउँद होस् वा बर्खा जहिलेसुकै रेनकोट लगाएर हिँड्नुपर्ने बाध्यता रहेको पाल्पाका निस्दी गाउँपालिका–७ का मोटरसाइकल चालक गमबहादुर सारुले बताए । ‘अन्यत्र राम्रो भए पनि दोभानबाट बुटवल पुग्ने समयसम्म साहृै डर लाग्छ,’ उनले भने, ‘पानी नपर्दा धुलोको हैरानी छ भने पानी परेपछि हिलाम्मे हुने र चिप्लिने नै डर हो ।’ उनका अनुसार हेडबक्सदेखि माथिल्लो सिद्धबाबासम्म अझ बढी डर लाग्दो अवस्था छ ।
सुरुङमार्ग निर्माण सुरु भएपछि यस क्षेत्रमा सडक मर्मत भएको छैन । जसले गर्दा विगतमा आरसीसी ( रिनफोर्समेन्ट सिमेन्ट कंक्रिट) साथै कालोपत्र गरेको सबै उप्किएको छ । कतिपय मर्मत गरे पनि एक वर्ष पनि टिकेको छैन । यस क्षेत्रमा माथिबाट ढुंगा खसेर सडक बिगार्ने समस्या छ । चार वर्षअघिसम्म सडक डिभिजनले मर्मतका नाममा यही खण्डलाई वार्षिक २ करोड बढी खर्च गर्दै आएको थियो । आयोजनाले काम गर्न सुरु गरेपछि सडक डिभिजनले मर्मतको कामसमेत गरेको छैन । जसले गर्दा दोभानदेखि ४ किलोमिटर सडक खण्ड हिलाम्मे र धुलाम्मे बनेको हो ।
सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख नवराज बास्तोलाले निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई गिट्टी, बालुवा राखेर भए पनि सडकको अवस्था सुधार गर्न निर्देशन दिएको बताए । पटकपटक निर्माण कम्पनीलाई निर्देशन दिएको उनले बताए । ‘धेरै पटक यस विषयमा छलफल भइसकेको छ,’ उनले भने, ‘सायद अब पालिका र खानी उद्योगसँग समन्वय गरेर काम गर्छ ।’
पालिकालाई रोयल्टी तिर्न निर्माण कम्पनीले नमान्ने भएकाले पनि केही समस्या आएको बास्तोलाले बताए । अहिले पालिकासँग समन्वय भएको र खानी उद्योगबाट गिट्टी ल्याएर राख्ने विषयमा सहमति भएको छ । निर्माण कम्पनीले तत्कालै मर्मतको काम अघि बढाउने जनाएको छ ।
दुई साताअघि जिल्ला प्रशासन कार्यालय पाल्पाले राखेको सार्वजनिक सुनुवाईमासमेत स्थानीय बासिन्दा साथै राजमार्ग भएर यात्रा गर्ने यात्रीले धुलाम्मे र हिलाम्मे सडकका विषयमा गुनासो राखेका थिए । प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेयले तत्कालै समस्याको समाधान गर्ने आश्वासन पनि दिए ।
जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमासमेत दोभानदेखि चार किलोमिटर सडक क्षेत्रमा यात्रु तथा चालकले पाएको सास्तीका विषयमा गम्भीर छलफल भएको थियो । तर निर्माण कम्पनीले अटेरी गर्दा समस्याको समाधान हुन सकेको थिएन ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले निर्माण कम्पनी र आयोजना कार्यालयलाई यस विषयमा तत्काल काम गर्न निर्देशन दिएका थिए । यो राजमार्गमा पाल्पाका साथै अर्घाखाँची, गुल्मी, स्याङजा, कास्की, बाग्लुङ, पर्वत, मुस्ताङ म्याग्दीलगायतका सवारी साधन र यात्रुले ओहोरदोहोर गर्छन् ।
