दाङको घोराहीका शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य पक्राउ

घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै उनले विद्यालय गेटनजिकै मोटरसाइकलमा सवार अजय बोहरालाई मोबिल खन्याइदिएका थिए ।

असार २९, २०८३

दुर्गालाल केसी

दाङ — शिक्षा अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी पक्राउ परेका छन् ।

उनले घोराहीका शिक्षा अधिकृत अजय बोहरालाई शनिबार मोबिल खन्याएर दुर्व्यवहार गरेकाले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर केसीले बताए । उनीविरूद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै उनले विद्यालय गेटनजिकै मोटरसाइकलमा सवार बोहरालाई मोबिल खन्याइदिएका थिए । बाटोमा मोटरसाइकल रोकेर बुढाथोकीले बोहराको शरीरमा प्लास्टिकको बोतलबाट मोविल खन्याउँदै अन्त्यमा बोतल प्रहार गरी दुर्व्यवहार गरेका थिए ।

उक्त दुर्व्यवहारको भिडियो बुढाथोकीले आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरेका थिए । बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै असार २३ गते उपमहानगरपालिका कार्यालयमा निवेदन दिएका थिए । निर्वाचन गैरकानुनी रूपमा हुन थालेको दाबी गर्दै उनले रोक्न माग गरेका थिए । उपमहानगरपालिकाले असार २५ गते विद्यालयलाई पत्र पठाउँदै यस सम्बन्धमा के भएको हो छानबिन गरी नियमानुसार आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो । अहिले विद्यालयको निर्वाचन सम्पन्न भइसकेको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully