२०७२ को भूकम्पपछि जोखिममा परेको गुल्मी मालिका–२ दर्लिङको कसिलाबाँझमा ३०–३५ घरधुरी वर्षायामभर अस्थायी गोठमा आश्रय लिन बाध्य छन् । दशक बित्दा पनि बस्ती स्थानान्तरणको टुंगो लागेको छैन ।
गुल्मी — गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङको कसिलाबाँझमा वर्षायाम लाग्नु भनेकै पहिरोको त्रास सुरु हुनु हो । २०७२ सालको भूकम्पपछि जोखिममा परेको यो बस्तीका स्थानीय ठूलो पानी परेपछि घर छाडेर अस्थायी गोठमा आश्रय लिन बाध्य छन् । बस्ती स्थानान्तरणको कुरा उठेको एक दशक बिते पनि उनीहरूको सुरक्षित बसोबासको टुंगो लागेको छैन।
जब झरी पर्छ, यहाँका बासिन्दाको निद्रा पर्दैन । निरन्तरको झरीले थातथलोबाटै उठीबास लगाउँछ । घरदेखि निकै माथि अस्थायी गोठमा आश्रय लिनुपर्ने बाध्यता रहेको दिलबहादुर बिकले बताए । 'बर्खामा तीन महिना माथि लेकमा रहेको गोठमा ज्यान जोगाउन जान्छौं,' उनले भने, ‘बत्ती, सडक र पानीबिनाको ठाउँमा रात कटाउने मात्रै हो ।’ केही साताअगाडि हावाहुरीले समेत सास्ती दिएको बताउँदै उनले पहिरो कतिखेर जान्छ र बस्ती सखाप पार्छ भन्ने पीरमा रहेको सुनाए ।
सोही ठाउँमा हर्कबहादुर बिकले जेठदेखि पानी पर्दा रातमा निद्रा हराएको गुनासो गरे । ‘रातमा निद्रा छैन । आधा/एक घण्टा माथि निस्केर आश्रय लिनुपर्छ,’ उनले भने, ‘अब भदौ असोजसम्म ठूलो पानी परे निदाउन सकिँदैन, पानी बाटो र बत्ती नभएको स्थानमा रात काट्न बाध्य छौं ।’
चन्द्री बिक घरमा एक्लै छिन् । तर, पीर ज्यान जोगाउने मात्रै छ । प्रायःजसो ज्यान जोखिममै राखेर बस्न बाध्य भएको उनले बताइन् । ‘खोलानाला र पहिरोले राति सुत्न सक्ने अवस्था छैन भने दिउँसो बस्न सकिन्न,’ उनले भनिन्, ‘कसैले सहयोग गरे हुन्थ्यो, अरु त केही भन्नु छैन ।’
अर्का स्थानीय ज्ञानबहादुर प्रतेलले घर भएको ठाउँ पहिरोको जोखिममा छ । उनी डेढ घण्टाको बाटो गोठमा गएर आश्रय लिने गरेका छन् । ‘आजसम्म बल्लतल्ल ज्यान जोगाएको तर पनि हावाहुरीले क्षति पुर्यायो,’ उनले भने, ‘प्रहरीले तथ्यांक लैजानेबाहेक केही काम भएको छैन ।’ उनले बाध्यताले पहिरोले जोखिम भएको ठाउँमा बस्न बाध्य भएको बताए ‘ठूलो पानी पर्दा मर्ने र बाँच्नेको टुंगो हुँदैन,’ उनले भने, ‘स्थानान्तरण कसैले गरेनन, जिजु बाजे बसेको ठाउँ सम्झेर यही बसेका छौं ।’
सोही ठाउँमा चुडामणि बिक भने घरमा पहिरोले क्षति पुर्याएपछि घर छाडेर लेक निस्किएका छन् ।
कसिलाबाँझकोव दलित बस्ती नै पहिरोको जोखिममा छ । तर, यो समस्या अहिलेको होइन । १२ वैशाख २०७२ मा भूकम्प जाँदा यो बस्ती छियाछिया हुँदा पहिरोको जोखिममा पर्यो । त्यसपछि सानाठूला पहिरोले सधैं पिरलो थपेको छ । ११ वर्ष पुग्दासम्म पनि यहाँको बस्ती विस्थापित र जोखिम भनिएपनि स्थानीय ज्यान जोगाउन ठूलो पानी पर्नासाथ लेक अस्थायी गोठमा जानुको विकल्प छैन ।
स्थानीय युवा अगुवा युद्धवीर प्रतेलले पहिरोले ३०/३५ घर जोखिममा परेको बताए । ‘सबैले यो बस्ती जोखिममा रहेको र विस्थापित पनि भन्छन्,’ उनले भने, ‘वडामा पनि पहल भएको तर स्थानान्तरण अहिलेसम्म भएको छैन ।’ केही साताअगाडि आएको भीषण हावाहुरीले पनि यहीँ बस्तीका छाना उडाएर/भत्काएर सास्ती पुर्याएको थियो ।
१८ असार २०७७ मा इस्मा गाउँपालिका–१ र मुसिकोट नगरपालिका–२ मा भीषण पहिरो गएको थियो । पहिरोमा परेर १६ महिने शिशु सुरज सारु र आठ वर्षीया अपेक्षा खत्रीको मृत्युु भएको थियो । घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गरिएको थियो । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय गुल्मीले त्यस भेगका दुई सय ५० घर विस्थापित भनेको थियो । तर, ती पीडित त्यसबेलादेखि नै जोखिम क्षेत्रमै बस्न बाध्य छन् । अहिले पहिरोको जोखिममा रहे पनि बसाइँसराइ गरेर अन्यत्र जानेबाहेक अन्य स्थानीय त्यस क्षेत्रमै बसेका छन् । बेँसीमा घर हुनेहरू माथिबाट पहिरोले पुर्ने पीरमा छन् भने माथिल्ला बस्ती पहिरोले तानेर लैजाने पिरलोमा छन् ।
मुसीकोट नगरपालिका–१ पौंदीअमराईको बिसौना दुई दशकदेखि पहिरो जोखिम क्षेत्र हो । बिसौनामा २०६१ र २०८१ मा पहिरोले एउटै बस्तीका १० जनाको ज्यान लिएको थियो । पहिरो पीडितलाई आवासको व्यवस्था नभएपनि लालपुर्जा भने वितरण गरिएको छ । यहाँका पहिरो पीडित जोखिम क्षेत्रमा भने छैनन् । तर, माथि घर भाडामा लिएर बस्न बाध्य छन् ।
पहिरोले जोखिम भए पनि सोही क्षेत्रमा बस्न स्थानीय पीडित बाध्य छन् । तर, पनि स्थानीय, प्रदेश र संघ सरकारको बस्ती स्थानान्तरण सम्बन्धि कुनै ध्यान छैन ।
गुल्मीमा विपद्सम्बन्धी जोखिम क्षेत्र पहिचान र पीडित बनेपछिका आश्रयस्थल लगायतका मात्रै काम भएका छन् । विपद् पूर्वतयारीस्वरुप सुरक्षाकर्मी, स्वयंसेवक, विपद् सम्पर्क व्यक्ति लगायतका जनशक्ति आधारभूत आवश्यकताका सामग्रीसहित तयारी अवस्थामा छन् ।
जिल्लाको रेसुंगा नगरपालिकाभित्र एक बाढी, १५ पहिरो र ३५ आगलागी र मुसिकोट नगरपालिकामा १० बाढी, १५ पहिरो र ३४ आगलागी सम्भावित क्षेत्रहरु रहेका छन् । चन्द्रकोट गाउँपालिकामा एक बाढी, १८ पहिरो र १७ आगलागी जोखिम क्षेत्र छन् । यी पालिकाहरुमा क्रमशः एक, तीन र एक क्षेत्रमा चट्याङबाट सम्भावित जोखिम क्षेत्र छन् ।
सत्यवती गाउँपालिकामा छ बाढी, सात पहिरो र आठ क्षेत्रमा आगलागी, रुरुक्षेत्रमा दुई बाढी, छ पहिरो र १४ क्षेत्रमा आगलागी, छत्रकोटमा दुई बाढी, दुई पहिरो र १४ क्षेत्रमा आगलागीको जोखिम छ । गुल्मीदरबारमा छ पहिरो र ३१ क्षेत्रमा आगलागी र धुर्कोट गाउँपालिकामा एक पहिरो र २३ क्षेत्रमा आगलागीको सम्भावित जोखिम रहेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना गुल्मीले समावेश गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत कमल सेन ओलीले बताए ।
मदाने गाउँपालिकामा पहिरो १९ क्षेत्र, मालिकामा चार बाढी, आठ पहिरो र १८ क्षेत्रमा आगलागीको सम्भावित जोखिम छ । इस्मा गाउँपालिकामा कुनै जोखिम स्थान छैन भने कालीगण्डकी गाउँपालिकामा एक स्थानमा पहिरो जोखिम रहेको ओलीले बताए ।
स्थानीय तहका जनप्रतिनिधि विपद् व्यवस्थापनमा रहने हुँदा पालिकासँग प्रत्यक्ष रुपमा साथै जोखिम क्षेत्र पहिचान, उद्धार, राहत र सूचना आदानप्रदानमा समन्वय भइरहेको छ भने प्रदेश र संघसँग सूचना आदानप्रदान, बजेट व्यवस्थापन र अन्य थुप्रै विपद् जोखिम न्यूनीकरणका लागि समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘जोखिम क्षेत्रका पीडितलाई बस्ती नै सार्ने छुट्टै कार्यक्रम त केही छैन,' उनले भने, ‘निरन्तर पानी पर्दा सतर्क र सचेत बनाउनुका साथै आश्रयस्थल तयार गरेका छौं ।’ उनले उद्धार र राहतका लागि पूर्वतयारी सबै पूरा भएको उनको भनाइ छ ।
