पाल्पा-बुटवल सडक : पहिरो खस्ने समस्या वर्षौंदेखि जस्ताको तस्तै

गतवर्ष २ करोडभन्दा बढीको ठेक्का लगाएर समाधानको उपाय खोजिए पनि आधा भाग कालोपत्र गरेकै भोलिपल्ट भासियो । तल्लो भेगमा पहिरो खस्यो । स्थानीय बासिन्दाका जग्गा, घरसमेत भासिएका छन् ।

असार २८, २०८३

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउँ गाउँपालिका–३, झुम्सा भुतखोलामा सडक पहिरो खस्ने र भासिने क्रम १० वर्षभन्दा बढी भइसक्यो । तर हरेक वर्ष थोरैथोरै बजेटमा मर्मत गरे पनि दिगो समस्याको समाधान हुन सकेको छैन ।

गतवर्ष २ करोडभन्दा बढीको ठेक्का लगाएर समाधानको उपाय सडक डिभिजन पाल्पाले खोज्यो । तर आधा भाग कालोपत्र गरेकै भोलिपल्ट पुनः सडक भासियो । तल्लो भेगमा पहिरो खस्यो । स्थानीय बासिन्दाका जग्गा, घरसमेत भासिएका छन् । 

पछिल्लो १० वर्षयता १० मिटरभन्दा बढी सडक भासिएर तल्लो भागमा पुगेको छ । ‘सानाठूला सवारी सञ्चालन गर्न समस्या नहुने कुरै भएन,’ झुम्साका स्थानीय टंक बस्यालले भने, ‘सडक डिभिजनले हरेक वर्ष काम गर्छ तर यसको स्थायी समाधान खोजेको जस्तो लाग्दैन ।’ कामका लागि टेन्डर हरेक वर्ष लगाए पनि यसको दिगो समाधान निस्कन नसकेको उनले बताए । 

तिनाउ गाउँपालिका–३, दोभानको बीसमाइल पुल नजिकै तीन वर्षअघि खसेको पहिरोमा प्लास्टिक लगाएर राखिएको छ । तल्लो भागमा दोभानदेखि गाउँपालिका हुँदै कचल साथै दोभानकै नुवाकोट जाने सडक र पुल छ । तल्लो भागमा सडक भासिने खतरा बढेको छ । माथिल्लो भागमा सिद्धार्थ राजमार्ग जोखिममा छ । तर यसको समाधान तीनवर्षदेखि सडक डिभिजनले निकाल्न सकेको छैन । ‘सडक छेउबाट पहिरो खसेको छ,’ पाोखरा–बुटवल राजमार्गका बस चालक केशव खनालले भने, ‘सरकारले बजेट पठाउँदैन वा काम गर्दैनन् भन्ने बुझेको छैन ।’ 

राजमार्गको पहिरोले चुनमाया पार्क जाने कल्भर्टका साथै तिनाउ खोलामा निर्मित पक्की पुलतर्फ लेदो र गग्रेटो बगाएर लगेको छ । सामान्य पानी पर्दासमेत पहिरो खस्ने र पक्की पुलमा लेदो जम्ने गरेको छ । पानी पर्दा राजमार्गको छेउबाट ढुंगामाटो सहितको पहिरो बढ्दै गएपछि सडक डिभिजनले राजमार्ग जोगाउन प्लास्टिक बिछ्याएको सूचना अधिकारी महेश्वर लम्सालले बताए । 

लुम्बिनी प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सडक डिभिजनसँग समन्वय नगरीकन काम गर्दा उत्तरदक्षिण जोड्ने राजमार्ग नै धरापमा परेको हो । ‘जोखिम आँकलन नगरी पहुँचको भरमा योजनामा बजेट राखेकै कारण अहिले राजमार्ग नै धरापमा परेको छ,’ तिनाउका स्थानीय लीलबहादुर उचैले भने, ‘अहिले जोखिम बढ्दै जाँदा तिनाउ खोलाको पुललाई समेत क्षति पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।’ 

राजमार्गकै तिनाउ गाउँपालिका–५, २४ माइल नजिक सडक भासिएको ७ वर्ष भइसकेको छ । तर अहिलेसम्म यसको समस्या समाधान खोजिएको छैन । ढलान गरेर पुनः भासिएको समेत चार वर्ष भइसकेको छ । तर सवारीसाधन एकतर्फी गुडाउनुपरेको छ ।

राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डका विभिन्न खसेको पहिरोको समस्या वर्षौंदेखि समाधान भएको छैन । ‘सडक पहिरो खसेको र भासिएको स्थानमा एकतर्फी सवारी चलाउनुपर्छ,’  बस चालक केशव खनालले भने, ‘कहिलेकाहीँ घण्टौं जामसमेत हुन्छ तर सुनुवाइ कतैबाट हुँदैन ।’ राजमार्गको तिनाउ गाउँपालिका–५, मस्याम चर्चरेको पहिरो तीन वर्षपछि समाधान खोजिएको छ । तर यहाँ तीन वर्षदेखि एकतर्फी सवारी सञ्चालन गर्नु परेको थियो ।

सडक विभागबाट कन्सल्ट्यान्ठमार्फत पहिरो नियन्त्रणका लागि अध्ययन भइरहेको सडक डिभिजन पाल्पाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । ‘हामीले चार स्थानको पहिरोको अध्ययनका लागि विभागसँग अनुरोध गरेका थियौं,’ उनले भने, ‘सोहीअनुसार पहिरो गएको र भासिएको स्थानमा अध्ययन भएको थियो ।’

तर सडक डिभिजन पाल्पाले ३ करोड ८५ लाखको टेन्डर निकालेर स्रोत सहमति माग्दा नपाएको गुनासो प्रमुख जयसवालको छ । राजमार्ग नै भासिन सक्ने जोखिमलाई मध्यनजर गरी अध्ययन गरेर टेन्डर आह्वान गरे पनि बजेट सहमति हुन नसकेको हो । पुनः १ करोड ६५ लाखको ठेक्का लगाएर भुतखोला र चर्चरेको पहिरोको काम अघि बढेको प्रमुख जयसवालले बताए । ‘हामीले राजमार्ग जोखिममा परेको चार स्थानकै कामका लागि टेन्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘विभागले स्रोत सहमति नदिएपछि पुनः अर्को टेन्डर निकाल्न बाध्य भयौं ।’ 

जुट नेटिङका साथै बायो इन्जिनियरिङ लगायत दिगो समस्या समाधानको खोजी गरेर टेन्डर निकाले पनि स्रोतको अभाव भएको उनले बताए । अहिले भुतखोलामा भासिएको स्थानमा वर्षायाम सुरु भएपछि काम भएको छ । राजमार्गको माथिल्लो भागमा इनार (वेल) बनाउने र तल्लो भागबाट पानी जाने पाइप राख्ने योजना छ । तर काम भने अहिलेसम्म सकिएको छैन । चर्चरेमा भने आरसीसी पर्खाल लगाएर समस्याको समाधान खोजिएको प्रमुख जयसवालले बताए ।

सिद्धार्ज राजमार्ग भएर तराईका साथ गुल्मी, पाल्पा, स्याङजा, कास्की, अर्घाखाँची, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्मका सवारी साधन यही बाटो भएर दैनिक ५ हजार बढी सवारीसाधन गुड्छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully