शितगंगा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले खेतबारी जोत्न १० थान हाटे ट्याक्टर वितरण गरेको हो ।
अर्घाखाँची — सामुदायिक वनबाट उत्पादित काठ र दाउरा बेचेर वन उपभोक्ता समूहले गाउँलेलाई हाते ट्याक्टर वितरण गरेको छ ।
शितगंगा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले खेतबारी जोत्न १० थान हाटे ट्याक्टर वितरण गरेको हो । वनका अध्यक्ष रेशमराज बञ्जाडेले उपभोक्ताभित्र कृषकले ५० प्रतिशत लगानीमा ट्याक्टर बाँडेको बताए । एउटा ट्याक्टरको मूल्य ६२ हजार रुपैयाँ परेको छ । जसमध्ये ३१ हजार रुपैयाँ वनले सहयोग गरेको हो ।
समुदाय मिलेर वर्षौंदेखि वनजंगल संरक्षण गर्दै आएका थिए । वनमा रोपेका र आफैं उम्रेका साना विरुवा हुर्केर उत्पादन भएको काठ र दाउरा बिक्रीबाट भएको आम्दानीले तत्कालका लागि १० वटा ट्याक्टर किनेको बञ्जाडेले बताए ।
गाउँमा युवा जनशक्ति कमीको कारण हल गोरु पाल्ने किसान थोरै छन् । गोरु थोरै भएपछि एकैपटक सबै गाउँलेको खेतबारी जोत्न कठिनाई भएको थियो । यतिबेला धान रोपाइँ गर्न खेतमा किसान व्यस्त छन् । गोरु अभाव भएपछि ट्याक्टर खरिद गरिएको उनले बताए । १० वटा हाते ट्याक्टरले गाउँभरीको खेत जोतेर रोपाइँ गर्न लागिएको उनले बताए । ‘हाते ट्याक्टर पाउनासाथ सिधैं खेतमा लागेर जोत्ने काम भएको छ,’ उनले भने, ‘गोरुले दिनभरको मेलो ट्याक्टरले एकैछिनमा बाँझो खेत जोत्ने, हिल्याउने र सम्याउने गर्छ । धान रोपाइँ छिटो हुन्छ ।’
काठ दाउरा बेचेको आम्दानीले वनले आयआर्जनसहित गाउँमा विकासका काम पनि गर्दै आएको छ । ट्याक्टर पाएपछि किसान खुसी भएका छन् ।
