सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ की ११ वर्षीया छोरी खुसी सिजापति र ९ वर्षीय सुलभ रावत शनिबार साँझतिर राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
नेपालगन्ज — बाँकेस्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । पौडी खेल्ने क्रममा शनिबारबाट बेपत्ता भएका ९ वर्षीय सुलभ रावतको आइतबार शव भेटिएको सशस्त्र प्रहरीका डिएसपी मोहन बिष्टले बताए ।
खोजी कार्यमा लागेका सशस्त्र प्रहरी नायब निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा ११ सदस्यीय विपद् व्यवस्थापन टोली आइतबार बिहान ५ बजेदेखि पुनः मोटरबोटसहित खोजीमा खटिएको थियो । खोजीका क्रममा ९ वर्षीय सुलभको शव डुबेको स्थानबाट करिब ५ सय मिटर तल तथा सिंधनियाघाटस्थित राप्ती नदी पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ फेला परेको डीएसपी बिष्टले बताए । नदीमा बेपत्ता ११ वर्षीया खुसी सिजापतिको खोजी भइरहेको उनले बताए । शनिबार राति १ बजेसम्म स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता बालबालिकाको खोजी गरेका थिए ।
सशस्त्र प्रहरीका अनुसार डुडुवा गाउँपालिका–५ का गोविन्द सिजापतिकी ११ वर्षीया छोरी खुसी र सोही स्थानका विकास रावतका ९ वर्षीय बालक सुलभ शनिबार साँझ करिब ६ बजे राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
दुवै बालबालिका शनिबार साँझ करिब साढे ४ बजे घरबाट निस्किएका थिए । उनीहरू डुबेको घटनाबारे एक भैंसी गोठलाले राति करिब ८ बजे परिवारलाई जानकारी दिएको थियो । त्यसपछि पीडित परिवार र स्थानीयले शनिबार राति १० बजे मात्र सशस्त्र प्रहरीको अस्थायी मनसुन सुरक्षा बेस कुण्डा फत्तेपुरलाई खबर गरेका थिए ।
