गुलरियामा दर्जनाैं औषधि पसल इजाजतविनै सञ्चालन, नियमन सुस्त

गुलरिया नगरपालिकामा इजाजत नलिई ५८ भन्दा बढी औषधि पसल, पोलिक्लिनिक र निजी अस्पताल अवैधरुपमा सञ्चालनमा रहेको पाइएको छ ।

असार २७, २०८३

कमल पन्थी

Dozens of pharmacies operating without a license in Gulariya, regulation remains lax

What you should know

बर्दिया — बर्दिया सदरमुकाम रहेकै पालिकामा अनुमति नलिएर औषधि पसलहरु संचालन गरेको पाइएको छ । गुलरिया नगरपालिकाभित्र मात्रै लुम्बिनी प्रदेश स्वास्थ्य विभागबाट इजाजत नै नलिई ५८ वटा पोलिक्लिनिक, फार्मेसी, प्याथोलोजीलगायत निजी अस्पताल अवैधरुपमा सञ्चालनमा रहेको खुलेको छ । ५ वटा त नामै नभएका औषधि पसल सञ्चालनमा रहेको गुलरिया नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

गुलरिया–११ मा एक भारतीय नागरिकले अवैधरुपमा औषधि पसल सञ्चालन गर पनि नियमक निकायले कुनै चासो नदिएको गुलरियाका सामाजिक अभियन्ता राजकुमार बर्माले बताए । वर्षौंदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गरेको देखिए पनि कसैबाट कारवाही नभएको उनले बताए ।  

भारतसँग जोडिएको गुलरिया–९ र १० मा केही घरमै पनि अवैधरुपमा औषधि पसल सञ्चालनमा रहेको स्थानीय बताउँछन् । यस क्षेत्रमा ८/१० वटा अवैध औषधि पसल भएकोले नियमक निकायले कारवाही प्रक्रिया अघि बढाउन आवश्यक रहेको गुलरिया–१० का वडाध्यक्ष हरिप्रसाद पासीले बताए । आफु दुई कार्यकाल वडाध्यक्ष भएयता अवैधरुपमा सञ्चालन गरिएका औषधि पसलको कतैबाट अनुगमन नभएको उनले जनाए ।

गुलरियामा दर्ता र ईजाजत प्रक्रिया पूरा नगरी करोड बढी लगानीमा सञ्चालनमा आएको सिटी अस्पताल पनि छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिवकुमार चौधरीले सिटी अस्पताललाई स्वास्थ्य मापदण्ड पूरा गरी दर्ता गर्न पत्रचार गरेको बताए । ‘सदरमुकामको वडा ६ क्षेत्रमा सबैभन्दा बढी ईजाजत नलिई औषधि पसल सञ्चालमा छन्,’ उनले भने, ‘५ वटा नामै नभएका र नक्कली डाक्टरमाथि निगरानी बढाई ३५ दिनभित्र स्वास्थ्य मापदण्ड अनुसार दर्ता गर्न निर्देशन दिएका छौं ।’ 

सिटी अस्पतालका सञ्चालकले भने नगरपालिकाबाट अस्थायी अनुमति लिएको जनाएको छ । करिब दुई वर्षअघि स्थापना भएको सिटी अस्पतालका सञ्चालक डाक्टर मुकेश झाले ६ महिनाभित्र स्वास्थ्य मापदण्ड पूरा गरी दर्ता गरिने बताए । सिटी अस्पताललाई गत वर्ष नै स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न पालिकाले पत्रचार गरेको थियो ।

बर्दियामा अवैध रुपमा सञ्चालनमा आएका औषधिसित सम्बन्धित व्यवसायको संख्या एकिन हुन नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी पद्मा श्रेष्ठले हालसम्म स्वास्थ्य कार्यालयमा बर्दियाका ३ वटा पोलिक्लिनिक दर्ता भएको बताइन् । ‘स्वास्थ्य मापदण्ड अनुसार पूरा गर्ने शर्त नभएकाको दर्ता हुँदैन,’ उनले भनिन्,‘दर्ता हुनका लागि स्वास्थ्य मापदण्ड अनुसार अपांगतामैत्री, कर्मचारीको तलबलगायतका सम्झौता हुनुपर्ने, विपन्नलाई कम्तीमा १० प्रतिशत छुटलगायतको सम्झौता हुनुपर्छ ।’ गुलरियाका स्वास्थ्य शाखा प्रमुख चौधरीले अवैध रुपमा सञ्चालनमा रहेका औषधि पसलमा चाडै कारवाही प्रक्रिया अघि बढाउने बताए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully