अर्घाखाँची अस्पतालमा मिर्गौलाको डायलासिस सञ्चालनको तयारी

जिल्लामै यो सेवा सुरु भएपछि नियमित डायलासिसका लागि बुटवल, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

असार २४, २०८३

वीरेन्द्र केसी

Preparations to start kidney dialysis at Arghakhanchi Hospital

What you should know

अर्घाखाँची — सदरमुकाम सन्धिखर्कस्थित अर्घाखाँची अस्पतालमा मिर्गौलाको डायलासिस सेवा सञ्चालन गर्ने तयारी भएको छ । त्यसका लागि अस्पतालमा पााचवटा मेसिन जडान गरिसकिएको छ । 

डायलासिस सेवाका लागि अत्यावश्यक आरओ (रिभर्स अस्मोसिस) पानी शुद्धीकरण प्रणालीको जडान गर्न बाँकी छ । यो जडान गर्ने काम भइरहेको अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले बताए । 

‘डायलासिस सेवाको गुणस्तर सुनिश्चित गर्न आरओ प्रणाली अनिवार्य मानिन्छ,’ उनले भने, ‘यो जडान गर्ने काम सुरु भएको छ । चार/पाँच दिनमा काम सकिन्छ ।’ यसपछि परीक्षण सफल भएपछि सो सेवा सञ्चालन हुने उनले बताए । मन्त्रालयबाट सञ्चालनको लागि स्वीकृत लिनुपर्छ । आवश्यक उपकरण जडान, प्राविधिक जनशक्ति व्यवस्थापनसहित सबै काम र प्रक्रिया पूरा गरेर सञ्चालनमा आउन ६ महिनाजति समय लाग्न सक्ने तिवारीले बताए । 

त्यसका लागि दुई जनालाई नर्सिङ तालिम दिने काम भएको र अब थप दुई जनाले तालिम लिने प्रक्रियामा रहेको अस्पतालका मेडिकल अधिकृत डा. खगेन्द्र आचार्यले बताए । यो सेवाले बिरामीलाई राहत पुग्ने उनले बताए । 

हाल अर्घाखाँचीका मिर्गौलाका बिरामीले नियमित डायलासिसको उपचारका लागि बुटवल, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेको गृहजिल्लामा प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने प्रक्रिया अघि बढाएको हो । मुख्यमन्त्री आचार्यले विशेष पहलमा डायलासिस सेवाको प्रक्रिया अघि बढाइएको हो । 

अर्घाखाँचीसहित गुल्मी, प्यूठानका बिरामीलाई पनि सेवाका लागि सहज हुने अपेक्षा गरिएको छ । मेसिन जडान र जनशक्ति तयार गर्न लाग्ने समयपछि कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याउन आफूले थप पहल गर्ने मन्त्री घिमिरेले बताए । 

अस्पतालमा सेवा सञ्चालन भएपछि स्थानीयलाई समय र खर्चको बचतसँगै उपचारमा सहज हुने अपेक्षा गरिएको छ । 

अर्घाखाँची अस्पताललाई ५० बेडको अस्पतालमा स्तरोन्नतिका लागि प्रदेश सरकारबाट स्वीकृत भएको छ । भवन निर्माणका लागि भने भारत सरकारले दूतावासमार्फत ६७ करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । नेपाल सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अब छिट्टै प्रक्रिया पूरा गरेर अर्घाखाँची अस्पतालको आधुनिक भवन निर्माणका लागि केही दिनमै ठेक्का लाग्ने प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले बताए । पूर्वाधारसँगै विशेषज्ञ चिकित्सकबाट बिरामीको उपचार हुनेछ ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully