सुक्खा खेतमै बीउ उखेल्दै बर्दियाका किसान

पर्याप्त वर्षा नहुँदा यसपाली असार तेस्रोसातासम्म बर्दियामा ५० प्रतिशत मात्र रोपाइँ भएको छ।

असार २२, २०८३

कमल पन्थी

Bardiya farmers uprooting seeds in dry fields

What you should know

बर्दिया — असार पहिलो सातामै रोप्नुपर्ने ब्याड छिप्पिन थालेपछि मधुवन नगरपालिका–३ धनौराकी मनकला थारु जेनतेन रोपाइँ गर्न उखेल्न थालेकी छिन् । खेत सुक्खा भए पनि ब्याड बिग्रिने डरले उनले चाँडो राेपाइँ सक्नु परेको छ। पानी नपरेपछि उनले बोरिङको व्यवस्थापन गरेर खेत रोप्ने तयारी गरेकी छन् ।  

रोपाइँका लागि चाहिने जति वर्षा नभएपछि धनौराकै रामशंकर थारु आकाश हेर्दै बसिरहेका छन् । पर्याप्त पानी नपर्दा उनलाई पनि रोप्न ठिक्क भएको ब्याड बिग्रिने चिन्ता छ ।  

बर्दियामा असार १५ मा लगातार ५ घण्टा वर्षा भएको थियो । त्यसयता दिन बिराएर केही भागमा थोरै वर्षा भइरहे पनि रोपाइँ लागि पर्याप्त नभएको बढैयाताल गाउँपालिका–८ का किसान बासु चौधरीले बताए । पर्याप्त वर्षा नहुँदा बर्दियामा असार २२ सम्म करिब ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

सबैभन्दा बढी रोपाइँ कर्णाली नदीले सिंचित क्षेत्र मानिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जनाएको छ । यस क्षेत्रमा करिब ७५ प्रतिशत भएको छ । 

मधुवन, ठाकुरबाबा, बारबर्दिया, बासगढी, गुलरिया नगरपालिका र बढैयातालमा गाउँपालिकामा करिब ३५ प्रतिशत रोपाइँ भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाकी प्रमुख कमला अधिकारीले बताइन् । आकाशे पानीको भरमा रहेका खेतमा रोपाइँ प्रभावित भएको उनले बताइन् । अझै पनि एक/दुई दिन झरी परे असारभित्रै शतप्रतिशत रोपाइँ हुने उनले बताइन् । बर्दियामा ५० हजार १ सय हेक्टरमा धान खेती हुने गरेको छ ।

बबई सिँचाइ आयोजनाको मूल नहरमा पानी कम हुँदा रोपाइँ प्रभावित भएको छ । बबई खहरे खोला भएका कारण आकाशे पानीको भरमा जलस्तर घटबढ हुने गरेको छ । भेरी, बबई डाइभर्सनको काम सम्पन्न नभएसम्म १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउन नसकिने आयोजना प्रमुख गोपाल शर्माले बताए । भेरी, बबई डाइभर्सन अबको दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य रहेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully