कृषकहरुले प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्यसँग कपिलवस्तुमै सरकारी धान खरिद केन्द्र स्थापना गरी न्यूनतम समर्थन मूल्यमा धान बिक्रीको सुविधा माग गरेका छन्।
What you should know
कपिलवस्तु — जिल्लाका कृषकहरुले प्रतिनिधि सभा अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुलाई कपिलवस्तुमै धान खरिद गर्ने सरकारी निकायको माग गरेका छन् ।
वाणगंगा नगरपालिका-४ गजेहडामा रहेको जनसेवा बहुमुखी कृषि सहकारी संस्थाद्वारा संचालित बिउबिजन प्रशोधन केन्द्र अवलोकन गर्न आइतबार यहाँ आएका समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्यहरुसँग स्थानीय कृषकले यस्तो माग गरेका हुन् ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्लाका रुपमा रहेको कपिलवस्तुमा सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य नपाउँदा आफूहरु समस्यामा परेको कृषकहरुले बताएका छन् । ‘निकै दु:खजिलो गरेर जेनतेन धान खेती गर्छौं । मेहनत गरेर उत्पादित धानको उचित मूल्य नपाउँदा कृषि पेशाबाटै निराश बनेका छौं,’ जनसेवा बहुमुखी कृषि सहकारीका अध्यक्ष द्रोर्णराज सुवेदीले भने । ब्यापारीले मनलाग्दी मूल्य राखेर खरिद गर्दा कृषकको धान खेती गर्ने उत्साह नै घटेको उनले बताए ।
सरकारले तोकेको मूल्यमा धान बेच्न जिल्लाबाट भैरहवा वा बर्दिया पुग्नु पर्ने उनले बताए । ‘त्यस्मा पनि कोटा राखिएको हुन्छ । हामीलाई सरकारले तोकेको मूल्यले केही सहुलियत हुँदैन,’ उनले भने ।
सरकारले मोटो, मसिनोदेखि कालानमक धान प्रशस्त उत्पादन हुने कपिलवस्तुमै खरिद बिक्री गर्ने केन्द्र स्थापना गर्न सके कृषकहरु अझ उत्साहित भएर कृषिकर्ममा लाग्ने कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए । त्यस्तै सिँचाइ, मलखादको सहज उपलब्धता तथा माछापालक कृषकलाई पनि सहज रुपमा सहुलियतको कृषि विद्युत मिटर जडान गर्ने ब्यवस्था गर्न माग गरेका थिए ।
जिल्लामै धान र गहुँको बिउ उत्पादन गर्ने ठूलो संस्थाका रुपमा स्थापित जनसेवा बहुमुखी कृषि सहकारीले गरेको कामबारे सांसदहरुले जानकारी लिएका थिए । ०७४ देखि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले गोदाम घर, बिउ भण्डार गृह र पर्खाल निर्माण तथा मेसिन खरिदकालागि १ करोड २१ लाख बढी रकम अनुदान दिएको कार्यक्रमका प्रमुख राकेश ओझाले बताए ।
अनुगमनकालागि प्रतिनिधि सभा अन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु डा. सुजाता तामाङ, गीताकुमारी सेन्दाङ, ताहिर अली भाट, पुनमकुमारी अग्रवाललगायत आएका थिए । जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि ८१ हजार ५ सय ७६ हेक्टरमा खेती हुँदै आएको छ । धान ६५ हजार ८ सय ५२ हेक्टरमा खेती हुँदै आएका छ । धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलव २ मेटन छ ।
