शनिबार दिउँसो बेपत्ता भएका किशोरको खोजी गरे पनि राति शव फेला परेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।
बर्दिया — मधुवन नगरपालिका–७ शुक्रबस्ती नजिक पोदरीमा पौडी खेल्ने क्रममा १४ वर्षीय किशोर बेपत्ता भएको शव फेला परेको छ । शनिबार दिउँसो बेपत्ता भएका किशोरको खोजी गरे पनि शनिबार राति शव फेला परेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।
बाँके शम्शेरगन्जस्थित सशस्त्र प्रहरीका गोताखोरका टोली बेलुकी यहाँ आएर खोजी गर्दा शव फेला परेको हो । सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले सोही पालिका–७ का १४ वर्षीय शिदान्त विक पौडी खेल्ने क्रममा बेपत्ता भएपछि खोजी गर्दा शव फेला पारेको बताए ।
पौडी खेल्न उनीसँग चार जना गएकामध्ये तीन जना सकुसल रहेको उनले जनाए । गोताखोरका नौ जना सदस्य खोजी कार्यमा लागेको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब १२ किमी पश्चिम दक्षिण भारतीय सीमा नजिक रहेको छ ।
