गुलरिया न्यायिक समितिमा दर्ता ४४ मुद्दामध्ये ३२ मिलापत्र

समितिले महिला हिंसा, जग्गा, लेनदेन तथा ठगीसम्बन्धी विवाद स्थानीयस्तरमा समाधान गर्दै आएको छ ।

असार २०, २०८३

रामप्रसाद चौहान 

32 out of 44 cases registered in Gulariya Judicial Committee settled

बर्दिया — आर्थिक वर्ष ०८२/०८३ मा गुलरिया न्यायिक समितिमा जम्मा ४४ वटा मुद्दा दर्ता भएकामा ३२ वटामा मिलापत्र गरिएको छ ।

गुलरिया नगरपालिका कानुन शाखाका प्रमुख कपिल घिमिरेका अनुसार जग्गासम्बन्धी ४ वटा विवाद जिल्ला अदालत पठाइएको छ र ८ वटा मुद्दा कारबाहीमा रहेका छन् ।

महिला हिंसासम्बन्धी दर्ता भएको दुवै मुद्दा मिलापत्र भएको छ । जग्गा विवादसम्बन्धी २४ वटा मुद्दा दर्ता भएका थिए । जसमा १८ वटा मिलापत्र भएको छ । ४ वटा बर्दिया जिल्ला अदालतमा पठाइएको छ भने २ वटा फर्छ्यौट नभई कारबाहीमा रहेका छन् । 

नालानिकास बन्दसम्बन्धी ९ मुद्दा मध्ये ७ वटा मिलापत्र गराइएको र २ वटा कारबाहीमा रहेका छन् । लेनदेनको ३ मुद्दामध्ये २ वटा मिलापत्र भएको र एउटा कारबाही प्रक्रियामै रहेको घिमिरेले बताए । साँधको रुख बिरुवा कटान, सडक विवाद लगायतका मुद्दा परेका थिए ।  

यस्तै न्यायिक समितिमा सय वटा फुटकर निवेदन दर्ता भएका थिए । जसमा ७५ वटा मिलापत्र गराइएको छ । १४ वटा अदालत पठाइएको छ भने ११ वटा कारबाही प्रक्रियमा छन् ।

गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमको संयोजकत्वको न्यायिक समितिले नगरवासीलाई उचित न्यायिक सेवा प्रदान गर्दै आएको छ ।

मेलमिलापकर्ताहरुको सहयोगमा समितिले महिला हिंसा, जग्गा विवाद, लेनदेन विवाद, पतिपत्नि विवाद र ठगीसम्बन्धी विवाद स्थानीयस्तरमा समाधान गर्दै आएको हो । चालु आर्थिक वर्ष ०८२/०८३ मा न्यायिक समितिमा दर्ता भएका अधिकांश मुद्दा मिलापत्र भएको समितिले जनाएको छ ।

संविधानप्रदत्त अधिकार र जिम्मेवारी अनुरुप नगरवासीलाई न्यायिक सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको गुलरिया नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समिति संयोजक सावित्रा गौतमले बताइन् ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully