सम्मेलनमा सहभागीहरूले ओझेलमा परेका लुम्बिनीका सम्पदाको उत्खनन र प्रचारमा जोड दिने ।
What you should know
लुम्बिनी — लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा लुम्बिनी प्रदेशको पर्यटन तथा यातायात मन्त्रालयको सहयोगमा बुद्व जन्मस्थल लुम्बिनीमा बिहीबार २ दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले बुद्ध मूर्तिमा माल्यार्पण गरेर गरेका छन् ।
लुम्बिनी प्रदेशमा रहेका बौद्ध सम्पदाको संरक्षण र अन्तर्राष्ट्रिय प्रचार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा स्वदेश तथा विदेश बौद्ध विद्वान र सम्पदा विज्ञहरूको सहभागिता छ ।
२ दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी क्षेत्रमा सुशासन प्रवर्द्धन र दिगो पर्यटनको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर विभिन्न देशका विज्ञहरूद्वारा एक दर्जन कार्यपत्र प्रस्तुत गरिने विश्वविद्यालयले जनाएको छ ।
सम्मेलनमा भारत, चीन, श्रीलंका, फिनल्यान्ड तथा राजधानी काठमाडौंबाट आएका सम्पदा विज्ञले आ–आफ्नो प्राज्ञिक धारणा र अनुसन्धानमूलक विचारहरू राख्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा प्रमुख वक्तामा प्राध्यापक डा. नरेशमान बज्राचार्य रहेका छन् । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले लुम्बिनी र यस वरपर रहेका अमूल्य सम्पदालाई विश्वस्तरमा चिनाउनु नै यस सम्मेलनको मुख्य लक्ष्य रहेको जानकारी गराए ।
उपकुलपति डा. शाक्यले हाल धेरै बौद्ध सम्पदा संरक्षणको अभावमा गुज्रिरहेको र कतिपय महत्वपूर्ण स्थलहरू उचित खोज तथा उत्खनन्को अभावमा अझै पनि ओझेलमा परिरहेको प्रति चिन्ता व्यक्त गरे । यसरी ओझेलमा परेका ऐतिहासिक र पुरातात्विक बौद्ध सम्पदाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर र प्रचार–प्रसार गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका साथै यी क्षेत्रहरूलाई पर्यटनको महत्वपूर्ण र आकर्षक गन्तव्यका रूपमा विकास गर्नु पनि यो कार्यक्रमको मूल उद्देश्य हो ।’
सम्मेलनले आगामी दिनमा लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकास र सम्पदा संरक्षणका लागि ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा प्रदेश सभा सदस्य सीके गुप्ता, प्रदेश सचिवहरू, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, पर्यटन व्यवसायी, सामाजिक अगुवालगायतको सहभागिता छ ।
