लुम्बिनी प्रदेशमा मध्य आसरसम्म २० प्रतिशत मात्रै रोपाइँ

सिंचाइ अभावले किसान पीडामा, स्थानीय र प्रदेश सरकार भने किसानको खेतमै पुगेर रोपाइ दिवस मनाउँदै

असार १४, २०८३

घनश्याम गौतम

Only 20 percent of crops planted in Lumbini Province by mid-June

What you should know

बुटवल — धान उत्पादनका लागि उर्भर भुमि मानिने लुम्बिनी प्रदेशमा मध्य असार सकिनै लाग्दा २० प्रतिशत मात्र रोपाइँ भएको छ । सिंचाइ अभावले आकाशे पानीमै भर पर्ने भएकाले तराइका जिल्लाहरूमा धानको ब्याडमा बीउ छिप्पिँदै जाँदासमेत किसानले राेपाइँ गर्न पाएका छैनन ।  

प्रदेशको कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ । ३३ हजार ८७० हेक्टरमा धानखेती हुने गरेकोमा अहिलेसम्म १६८.९ प्रतिशत अर्थात शून्य दशमलब ५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । लुम्बिनीमा सबैभन्दा धेरै नवलपरासी पश्चिममा रोपाइँ भएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत नविन गैरेका अनुसार नवलपरासी पश्चिममा ५० प्रतिशत खेतमा रोपाइँ भएको छ । नवलपरासीमा २० हजार ८८७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती हुँदै आएकोमा अहिलेसम्म १० हजार ४४३ हेक्टरमा धान रोपेर सकिएको छ । ६३ हजार ५५० हेक्टरमा धान उत्पादन हुने गरेको रूपन्देहीमा २७ हजार ३२६ हेक्टर क्षेत्रफल अर्थात ४३ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।

त्यस्तै तराइँकै जिल्लाहरू मध्ये ३६ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती हुने दाङमा १५ प्रतिशत, ६६ हजार २२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कपिलवस्तुमा अहिलेसम्म किसाले १.५८ प्रतिशत अर्थात १ हजार ५० सय हेक्टरमा मात्र धान रोपेका छन् । अन्य खेत पानी अभावले बाँझै छ । ५० हजार १५० हेक्टर धानखेतीको क्षेत्रफल रहेको बर्दियामा  १९.३१ प्रतिशत रोपाइँ भएको छ । 

६ वटा पहाडी जिल्लामध्ये पाल्पामा सबैभन्दा कम ४ प्रतिशत  रोपाइँ भएको छ । ७ हजार २८७ हेक्टरमा धान खेती हुने भए पनि २९१ हेक्टरमा मात्र रोपाइँ भएको छ । ६ हजार ५४१ हेक्टर धानखेतीयग्य जमिन रहेको गुल्मीमा ७ प्रतिशत, प्यूठानमा ८८ प्रतिशत रोपाइँ भएको छ । ६ हजार ५२५ हेक्टर धानखेतीको क्षेत्रफल रहेको प्यूठानमा अहिलेसम्म ५ हजार ७४२ हेक्टरमा रोपाइँ सकिएको छ । प्यूठानको अधिकांश खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेकाले धेरै रोपाइँ सकिएको निर्देशनालयका कृषि प्रसार अधिकृत गैरेले बताए । उनका अनुसार अर्घाखाँचीमा ११.२, रोल्पामा ४० र रुकुम पूर्वमा २५ प्रतिशत खेतमा रोपाइँ सकिएको छ । 

किसानले सिंचाई अभावमा रोपाइँ गर्न नपाइरहेका बेला स्थानीय र प्रदेश सरकार भने असार १५ को अवसरमा किसाको खेतमै पुगेर धान दिवस मनाउने तयारीमा छन् । प्रदेश सरकारले सुनवल नगरपालिकामा धान दिवस मनाउने तयारी गरिरहेको छ । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले ३ तहकै सरकारको समन्वयमा सुनवल नगरपालिकामा धान दिवस मनाउने तयारी भइरहेको बताए ।  ‘लुम्बिनी प्रदेशका तराइका पहाडि जिल्लामा प्यूठानमा सबैभन्दा धेरै धान रोपाइ भएको र पाल्पामा सबैभन्दा कम रोपाइ भएको देखिएको छ,’ उनले भने, ‘सोमबार धान दिवसका अवसरमा ३ तहकै सरकारको समन्वयमा किसानको उत्साहका लागि पश्चिम नवलपरासीको सुनवलमा धान दिवस मनाउने गरी तयारी भइरहेको छ ।’ संघीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा दिवस मनाउने तयारी भइरहेको उनले बताए । 

रूपन्देहीको शुद्धोधन गाउँपालिकाको मानपकडीमा पनि धान दिवस मनाइदै छ । लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा धान दिवस मनाइने कृषि ज्ञान केन्द्र रूपन्देहीका भाष्कर पौडेलले बताए । मानपकडीमा सहभागिता जनाएर मन्त्री चौधरी प्रदेश सरकारको धान दिवस मनाउन पश्चिम नवलपरासी पुग्ने भएकाले विहानै किसानको खेतमा पुग्ने गरी तयारी गरिएको उनले बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully