बर्दियामा धान रोपाई १८ प्रतिशत मात्रै

बबई सिंचाई आयोजनाका प्रमुख गोपाल शर्मालेले सिंचाईका लागि बबईको पानी पर्याप्त नभएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको बताए ।

असार १३, २०८३

कमल पन्थी

Only 18 percent of rice planting in Bardiya

बर्दिया — यस वर्ष असारको मध्येसम्म पनि मनसुनी वर्षा नहुँदा बर्दियामा १८ प्रतिशत मात्र धान रोपाई सकिएको छ । उक्त रोपाई पनि कर्णाली नदी सिंचाई क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाले जनाएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको केही ठाउँ बाहेक ६ वटा पालिकामा रोपाई नभएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले बताए ।

१५ असारमा ‘जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र सम्बृद्धि’ भन्ने नारासहित धान दिवस तथा रोपाई महोत्सवको तयारी हुँदै गर्दा बर्दियाको झण्डै ८२ प्रतिशत धान खेत बाँझै छ ।

वर्षा नहुँदा जिल्लाको पूर्वी क्षेत्रमा जमिन सुखेर हाते पम्पबाट पानी आउन छाडेको छ । लामो समयदेखि पानी नपर्नु र बबई लगायत खोलामा पानी कम हुँदा सिचाई अभावमा रोपाई हुन नसकेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।

तीन साताअघिसम्म जमिनदेखि ४० देखि ५० फिट मुनी हाते पम्पबाट पानी आउने गरेकोमा अहिले १ सय १० फिटसम्म गहिरो खन्दा पनि पानी आउन सकेको छैन,’ त्रिपाठीले भने, ‘पानी अभावमा सिंचाई नहुँदा रोपाई गर्न सकिएको छैन ।’

बासगढी नगरपालिकाको उत्तरी क्षेत्र र बढैयाताल गाउँपालिकामा खानेपानीका धारा समेत सुकेको स्थानीयले बताए । ‘धानको ब्याड राख्ने त टाढाको कुरा भयो, हाते पम्पबाट समेत पानी आउन छाडेको दुई साता भयो,’ बढैयाताल–४ का किसान भुवनेश्वर थारुले गुनासो गरे, ‘पम्पबाट पानी नआएपछि धान ब्याडसमेत राख्न सकिएको छैन ।’

बासगढीमा पनि लामो समयको खडेरीले रोपाई गर्न नपाएको मेयर खड्गबहादुर खड्काले बताए । ‘हाते पम्प सुक्दा स्थानीयलाई पानीको समस्या परेको छ,’ उनले भने, ‘विशेष गरि पालिकाको वडा २ र ४ मा हाते पम्पबाट पानी आउन छाडेको दुई साता भयो ।’

आकाशे पानीको भरमा बग्ने बबई नदीमा पनि पानीको सतह निकै घटेको छ । पूर्वी र पश्चिम मुल नहर पानीको अभावमा सुकेको छ । ‘१२ असारसम्म ४ क्युमेक्स प्रति सेकेण्ड पानी बगी रहेको बबईमा पर्याप्त सिचाईका लागि कम्तिमा ४० क्युमेक्स प्रति सेकेन्ड पानी हुनुपर्छ,’ बबई सिंचाई आयोजनाका प्रमुख गोपाल शर्मालेले भने, ‘सिचाईका लागि बबईको पानी पर्याप्त नभएपछि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।’

भेरी, बबई नदी डाइभर्सन निर्माण सम्पन्न नभएसम्म पर्याप्त सिचाई हुन नसक्ने उनले बताए । भेरी, बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले बजेट आएमा दुई वर्ष भित्र काम सम्पन्न हुने बताए ।

खडेरीले जिल्लाको पश्चिम क्षेत्रमा पनि धानको ब्याड सुक्न थालेको भन्दै सूचना अधिकारी चौधरीले ब्याड राखेको २८ दिन नाघेपछि रोप्दा त्यसले दिने उत्पादनमा हृास आउने बताए । ‘यस्तै अवस्था रहृयो भने धानको उत्पादन १५ देखि २० प्रतिशत घटने छ,’ उनले भने । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully