अनुगमनका क्रममा केही उद्योगहरू नदी किनार तथा स्थानीय खोला आसपासमै सञ्चालन भइरहेको भेटिएको छ ।
पाल्पा — कानुनी मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका पाल्पाका चार क्रसर उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालयले जरिवाना गराएको छ । जिल्लास्थित संयुक्त अनुगमन टोलीले विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगहरू अनुगमन गरी कतिपय उद्योगलाई बन्द गराउनुका साथै जरिवाना गराएको हो ।
संघीय सरकारको निर्देशनपछि घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायको संयुक्त टोलीले तानसेन नगरपालिका, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र माथागढी क्षेत्रका क्रसर उद्योगहरूको स्थलगत अनुगमनपछि चार क्रसर उद्योगलाई जरिवाना तिराएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पका प्रमुख केशव सुनारले बताए ।
रामेश्वरी कन्स्ट्रक्सन प्रालि छत्रकोट गाउँपालिका–४, गुल्मीले तानसेन नगरपालिका– १४, अर्गलीमा सञ्चालन गरेको क्रसर उद्योगलाई २५ हजार जरिवाना गरी सञ्चालन बन्द गराएको प्रमुख सुनाले बताए । रामेश्वरी कन्स्ट्रक्सनले पक्की पुलको काममा ढिलाइ गरी क्रसर उद्योग सञ्चालन गरी अन्य स्थानमा गिट्टी, बालुवा सप्लाई गर्दै आएको स्थानीयको आरोप छ ।
कोषबहादुर थापाले माथागढी-६ फापरबारीमा सञ्चालन गरेको माथागढी क्रसर उद्योग प्रालिलाई पनि २५ हजार जरिवाना गरी उद्योग बन्द गराइएको छ । यो उद्योग वर्षौदेखि स्थानीय प्रशासन, प्रहरी, स्थानीय तहले देखेको नदेख्यै गरी सञ्चालन हुँदै आएको थियो ।
दिव्य कन्स्ट्रक्सन प्रालि कलंकी काठमाडौंले रम्भा गाउँपालिका– ५ ताहूँमा सञ्चालन गरेको क्रसर उद्योगलाई २५ हजार जरिवाना गरी सञ्चालन बन्द गरिएको प्रमुख केशव सुनारले बताए । सडक पूर्वाधार कार्यालय अन्तर्गत चार वर्षअघि ठेक्का लिएको सडकको कालोपत्र गर्ने बहानामा क्रसर उद्योग संचालन गरे पनि अनुमति लिएको थिएन । अहिले यस क्षेत्रमा कालोपत्रको काम सुरु भएको छैन ।
पन्थ कन्स्ट्रक्सन प्रालिले पूर्वखोला गाउँपालिका–३, रिङ्नेरहमा सञ्चालन गरेको क्रसर उद्योगलाई २५ हजार जरिवाना गरी सञ्चालन बन्द गरिएको प्रमुख सुनाले बताए । पन्थ कन्स्ट्रक्सनले २०७८ मा सुरु गरेर २०८० मा सम्पन्न गर्नुपर्ने सडक कालोपत्रको काम अलमल गरी क्रसर संचालन गर्दै आएको छ । अनुगमन समितिका संयोजक सुनाले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका उद्योगहरूलाई कारबाही गरिएको बताए ।
चारवटै क्रसर उद्योगलाई प्रदेश सरकारको औद्योगिक प्रवर्द्धन ऐन, २०८१ अनुसार दर्ता नगरी सञ्चालन गरेको पाइएकाले अधिकतम जरिवाना गरिएको उनले बताए । ‘हामीलाई अधिकतम कारबाही गर्ने अधिकार अनुसार नै कारबाही गरी बन्द गराएका छौं,’ उनले भने, ‘बन्द गराइएका उद्योगलाई आवश्यक प्रक्रिया पूरा नभएसम्म सञ्चालन नगर्न निर्देशनसमेत दिइएको छ ।’ यसैगरी रामपुर क्षेत्रमा सञ्चालित एक क्रसर उद्योगलाई समेत बन्द गराइएको छ । अनुगमनका क्रममा आवश्यक इजाजतपत्र तथा स्वीकृतिका कागजात प्रस्तुत गर्न सकेका छैनन ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योग विगत चार वर्षदेखि विकास निर्माणका लागि आवश्यक निर्माण सामग्री उत्पादन गर्ने नाममा सञ्चालन हुँदै आएका थिए । अधिकांश उद्योगले क्रसर उद्योगका रूपमा व्यावसायिक उत्पादन र बिक्री–वितरण गर्दै आएको अनुगमन टोलीले जनाएको छ । क्रसर उद्योग सञ्चालनसम्बन्धी प्रचलित मापदण्डअनुसार नदी, खोला, वन क्षेत्र, बस्ती तथा संवेदनशील क्षेत्रबाट निश्चित दूरी कायम गर्नुपर्ने व्यवस्था छ । तर अनुगमनका क्रममा केही उद्योगहरू नदी किनार तथा स्थानीय खोला आसपासमै सञ्चालन भइरहेको भेटिएको छ ।
माथागढीको झडेवा क्षेत्रमा सञ्चालित उद्योग स्थानीय खोलानजिकै रहेको पाइएको छ । तानसेनको अर्गलीमा सञ्चालित उद्योग काली गण्डकी नदीको किनार क्षेत्रमा सञ्चालन भइरहेको थियो । राजनीतिक संरक्षण र नियामक निकायको कमजोर अनुगमनका कारण यस्ता उद्योग वर्षौंदेखि सञ्चालनमा थिए ।
