रुपन्देहीका १५ स्थानीय तहको बजेट सार्वजनिक, कोटहीमाईले ल्याउन सकेन

धेरै स्थानीय तहमा पुरानै कार्यक्रमको निरन्तरता, कोटहीमाईमा अध्यक्ष र उपाध्यक्षबीच विवाद

असार ११, २०८३

घनश्याम गौतम

Budgets of 15 local levels of Rupandehi made public, Kotahimai could not bring them

What you should know

बुटवल — रूपन्देहीका १६ स्थानीय तहमध्ये १५ स्थानीय तहले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । दक्षिणी क्षेत्रमा रहेको कोटहीमाईमा अध्यक्ष र उपाध्यक्षको विवादले बजेट सार्वजनिक हुन सकेको छैन । 

कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा सुशीलाकुमारी यादव निर्वाचित भएका थिए । एकै दलबाट अध्यक्ष उपाध्यक्ष निर्वाचित भए पनि बजेट विनियोजनका विषयमा दुवैबीच विवाद हुने गरेको छ । यस पटकको बजेट विनियोजनमा पनि उपाध्यक्ष यादवले आफूलाई पनि अध्यक्षकै बराबर बजेट सिलिङ मागगरेपछि बजेट आउन नसकेको हो ।

गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सञ्जयकुमार सैनीले शुक्रवारसम्ममा बजेट ल्याउने प्रयास भइरहेको बताए । ‘बजेटका कुरा पनि होलान् । तर, अध्यक्षज्युको समय नमिलेका कारण बुधबार बजेट ल्याउन सकिएन,’ उनले भने, ‘शुक्रबारसम्ममा बजेट ल्याउनका लागि आज पालिकामै छलफल हुँदै छ ।’ शुक्रबारसम्ममा बजेट ल्याउने र पारित गर्ने उनले बताए । 

कोटहीमाईबाहेक रूपन्देहीका अन्य १५ वटै पालिकाले समयमै बजेट सार्वजनिक गरेका छन् । धेरै पालिकाको बजेट पारित पनि भइसकेको छ । बजेट सार्वजनिक गरेका स्थानीय तहले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट सार्वजनिक गरेका छन् । धेरै पालिकाको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवर्द्धनमै बजेट केन्द्रित छ ।  

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ९९ करोड रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा नगरको १ अर्ब ५० करोड ३८ लाख आन्तरिक स्रोतसहितको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा अधिकांश पुरानै कार्यक्रमको निरन्तरता देखिएको छ । उपमहानगरको बजेट चालु आवको तुलनामा झन्डै ६४ करोडले बढी हो ।

बजेटले उज्यालो, सफा, सुन्दर र हरियाली सहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, नागरिक वडापत्रलाई कार्यान्वयन गर्दै सेवाग्राहीलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने, मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने, प्राकृतिक जलस्रोत तथा जलाधार क्षेत्रहरुको संरक्षण गर्न प्राथामिकता दिएको छ । 

तिलोत्तमा नगरपालिकाले ३ अर्ब ५ करोड ६७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २१ अधिवेशनमा उपप्रमुख जागेश्वरी चौधरीले बजेटमध्ये चालुतर्फ ९२ करोड तीन लाख अर्थात ३० दशमलव २२ प्रतिशत, पुँजीगततर्फ एक अर्ब ६७ करोड ८४ लाख अर्थात् ५४ दशमलव ९१ प्रतिशत र सामाजिक सुरक्षातर्फ ४५ करोड अर्थात् १४ दशमलव ७२ प्रतिशत विनियोजन गरिएको उपप्रमुख चौधरीले बताइन् । तिलोत्तमाको आगामी आवको बजेट चालु आवको भन्दा १३ करोड बढी हो । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाले १ अर्ब ७५ करोड ७८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा कार्यवाहक प्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले प्रशासनिक भवन, बसपार्क तथा पहुँचमार्ग निर्माणलाई उच्च प्राथमिकता दिएको छ । साथै बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रम, शिक्षा सुधार, स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य, सामाजिक सुरक्षा तथा विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण र विकासलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

सैनामैना नगरपालिकाले एक अर्ब ५५ करोड ६७ लाख रुपैंयाँ बजेट सार्वजनिक गरेको छ । उपप्रमुख बिना रानाले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 

देवदह नगरपालिकाको एक अर्ब ६९ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी विस्तार तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ । 

ओमसतिया गाउँपालिकाले ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सुनिता चौधरीले सहभागिता, समावेशीता, सामाजिक न्याय, पारदर्शीता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बताइन् । 

स्थानीय तहलाई बजेट सार्वजनिक गर्न तोकिएको समयसीमा बुधबार रातिसम्ममा रूपन्देहीका १५ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको र कोटहीमाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादले बजेट सार्वनिक हुन नसकेको जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले बताए । ‘बजेटको सिलिङमै अध्यक्ष र उपाध्यक्षबीच कुरा मिलेन भन्ने जानकारी आएको छ,’ उनले भने, ‘छिटो समस्या समाधान गरेर शुक्रवार बजेट ल्याउन भनेको छु ।’ शुक्रवार बजेट ल्याउने तयारीमा दुवै जना रहेको उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully