गुल्मीका १२ पालिकाको बजेट : कतै पारित, कतै छलफलमा

मालिका गाउँपालिकाले बजेटमा पालिकाभित्र बसाेबास गर्ने दम्पतीले सन्तान जन्माएमा पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ ।

असार ११, २०८३

सन्तोष महतारा

Budgets of 12 municipalities in Gulmi: Some passed, some under discussion

गुल्मी —  

जिल्लाका दुई नगर र १० गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट सार्वजनिक गरेका छन् । यसअघि प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट ल्याएका हुन् ।

रेसुंगा नगरपालिकामा नगरप्रमुख खिलध्वज पन्थीले कुल ६५ करोड ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जून पारित पनि भइसकेको छ । त्यस्तै, मुसिकोट नगरपालिकाले कुल ५८ करोड ६१ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

त्यस्तै, गाउँपालिका अन्तर्गत कालीगण्डकी गाउँपालिकाले ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सभामा पेश उक्त बजेट छलफल गर्ने कार्यतालिका छ । सत्यवती गाउँपालिकाले ६२ करोड रुपैयाँ बराबरको बजेट पेश गरेको छ । उक्त बजेटका सम्बन्धमा सभामा छलफल गर्ने कार्यतालिका छ ।

चन्द्रकोट गाउँपालिकाले ५७ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ । रुरुक्षेत्र गाउँपालिकाले ५१ करोड ६८ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ । छत्रकोट गाउँपालिकाले ५२ करोड ४२ लाख २३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

गुल्मीदरबार गाउँपालिकाले ५५ करोड ५६ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमा छलफल गर्ने कार्यतालिका छ । इस्मा गाउँपालिकाले ५४ करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ ।

धुर्कोट गाउँपालिकाले ५६ करोड ८९ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमा छलफल गर्ने कार्यतालिका छ । मदाने गाउँपालिकाले ४९ करोड ८८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । साथै, मालिका गाउँपालिकाले ५८ करोड ६० लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेटका सम्बन्धमा पछि छलफल गर्ने कार्यतालिका छ ।

धेरै पालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट विनियोजन गरेका छन् । यसवर्ष रेसुंगाले पूर्वाधार प्राथमिकतालाई निरन्तरता दिँदै पर्यटन विकासलाई तीव्रता दिएको छ । नगरपालिकाले 'जाउँ हिँड रेसुंगा' अभियानलाई तीव्रताका साथ अगाडि बढाउनुका साथै स्वास्थ्य क्षेत्रमा गुल्मी अस्पतालमा दिइरहेको प्राथमिकता प्रभावकारी भएकोले निरन्तरता दिइएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

मालिका गाउँपालिकाले यसवर्ष बजेटमा केही नयाँ समावेश गर्न खोजेको देखिएको छ । जसअनुसार पालिकाभित्र बसाेबास गर्ने दम्पतीले छाेराछाेरी जन्माए पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ । २ सय ६० जना आसपास बच्चा जन्मने दर अनुमान गर्दै १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।

सन्तोष

Link copied successfully