९ स्थानीय तह रहेको प्यूठानमा ९ वटै पालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ८८ करोड, ८९ लाख ७४ हजार १३९ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
काठमाडौँ — प्यूठानका स्थानीय तहहरुले करिब ५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएका छन् । ९ स्थानीय तह रहेको प्यूठानमा ९ वटै पालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ८८ करोड, ८९ लाख ७४ हजार १३९ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
सबैभन्दा धेरै प्यूठान नगरपालिकाले ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ । यस्तै स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४७ लाख ९९ हजार, गौमुखी गाउँपालिकाले ६४ करोड ४ लाख ७२ हजार, झिमरुक गाउँपालिकाले ६२ करोड १७ लाख ३१ हजार पाँचसय, नौबहिनी गाउँपालिकाले ५६ करोड, ७९ लाख ३१ हजार ८ सय, ऐरावती गाउँपालिकाले ५२ करोड ९२ लाख ८० हजार, सरुमारानी गाउँपालिकाले ४६ करोड ९० लाख माण्डवी गाउँपालिकाले ४४ करोड ५१ लाख ४ हजार १३० र मल्लरानी गाउँपालिकाले सबैभन्दा कम ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।
कृषि, पर्यटन र रोजगारी सिर्जनामा जोड दिएका स्थानीय तहहरुले लिफ्ट खानेपानी आयोजनाको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिनेदेखी स्थानीय करार कर्मचारी, विद्यालय कर्मचारी लगाएको १० प्रतिशत तलब वृद्धिसमेत गरेका छन् ।
