जिल्लाका छ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागिे बजेट सार्वजनिक गरेका छन् । बजेटमा पुरानै योजनालाई निरन्तरता दिइएको छ । जिल्लामा तीन नगर र तीन गाउँपालिका छन् ।
What you should know
अर्घाखाँची — जिल्लाका छ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागिे बजेट सार्वजनिक गरेका छन् । बजेटमा पुरानै योजनालाई निरन्तरता दिइएको छ । जिल्लामा तीन नगर र तीन गाउँपालिका छन् ।
शितगंगा नगरपालिकाले लागि ९६ करोड १ लाख ९५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । भूमिकास्थान नगरपालिकाले ८५ करोड ९६ लाख ७ हजार र सन्धिखर्क नगरपालिकाले ८६ करोड ४५ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
मालारानी गाउँपालिकाले ६२ करोड २२ लाख २२ हजार रुपैयाँ, पाणिनि गाउँपालिकाले ७१ करोड ३७ लाख २४ हजार रुपैयाँको र छत्रदेव गाउँपालिका ५३ करोड ६६ लाख ४० हजार रुपैयाँको बजेट विनियोजन गरेका छन् ।
बजेटमा गाउँमा सडक कालोपत्रे, बाटो निर्माण, मर्मत, शैक्षिक संस्था लगायत भवन निर्माण, कृषिमा आधुनिकीरकण गर्दै उत्पादन वृद्धि, खसीबोका, पाडा, बंगुर उत्पादन बढाउने, घरेलु तथा साना उद्योग, पर्यटन विकास लगायतका मिल्दाजुल्दा बजेट सार्वजनिक गरेका छन् । स्थानीयलाई कृषि, पशुपालन, पर्यटन उद्यमबाट स्वरोजगार बनाउने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, सिँचाइ, एक घर एक धारा खानेपानी सुविधा लगायतका विषयमा बजेट छुट्टाएका छन् ।
शितगंगा नगरपालिका उपप्रमुख गिता भाट् क्षेत्रीले उत्पादनमूलक र छिटो प्रतिफल दिन, राजश्व परिचालनमा योगदान पुर्याउने, आर्थिक विकास, गरिबी निवारण जस्ता कार्यक्तम सञ्चालन गर्ने, समावेशी र दीगो विकास, सहस्राब्दी विकासका लक्ष्य, हरियाली प्रवर्द्धन, वातावरण संरक्षण, जनमैत्री विकाससहित समावेशी विकासका मुद्दाहरुलाई निरन्तर सम्बोधन गरिने गरी बजेट विनियोजना भएको उल्लेख छ ।
नगरभित्र जातीय र असमानताको अन्त्य, विकासमा न्यायपूर्ण पहुँच, शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, शासकीय सुधार, सेवा प्रवाहमा सरल र सहज वतावरण ल्याउने नीति अघि सारिएको छ ।
कृषि क्षेत्रको यान्त्रीकरण, व्यवसायीकरण, आधुनिकीकरण र विविधिकरण गरिने भएको छ । जसमा फलफूल, रैथाने बाली, मौरीपालन, टिमुर, अदुवा, बेसार, अकवरे खुर्सानी, कफी, केरा लगायत नगदे तथा मसलाजन्य बालीको व्यवसायिक उत्पादन र बजारीकरणमा गरिने भाटले बताइन् ।
सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले शैक्षिक गुणस्तरमा वृद्धि, भौतिक पूर्वाधार विकास, सबै गाउँमा सडक सञ्जालमा जोड तथा कालोपत्रे, सदरमुकामलाई सुन्दर बनाएर स्मार्ट सिटी बनाउने, कृषि उत्पादनमा जोड दिएर पढेलेखेका युवालाई कृषि उद्यममा जोडेर स्वरोजगार बनाउने, सबैका घरमा एक घर एक खानेपानीका धारा, कृषकका खेतबारीमा सिँचाइ सुविधा लगायत पुरानै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेकी छिन् ।
नगर क्षेत्रका गाउँ बस्ती सुख्खा बन्दै गएकाले एक वडा एक रिचार्ज पोखरी निर्माण, वन जंगल हरियाली बनाउन विरुवा रोप्ने कार्यक्रम छ । त्यस्तै स्थानीय उत्पादनको प्रशोधन, भण्डारण, प्याकेजिङ, लेभलिङ, ब्राण्डिङ गरी खरिद बिक्री तथा बजारीकरण गर्नका लागि प्रतिस्पर्धाको माध्यमबाट सहकारी संस्थानको छनोट गरी स्थानीय कृषकबाट उत्पादित स्थानीय पजाति ब्राण्डिङ तथा बजारीकरण गर्ने मिश्राले बताइन् ।
भूमिकास्थान नगरपालिका उपप्रमुख बालकृष्ण बञ्जाडेले प्रस्तुत गरेको बजेटमा स्वस्थ्य र विषादीरहित स्थानीय उत्पादन गर्न प्रांगारिक खेती प्रणालीलाई प्राथमिकता दिँदै कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकरणको लागि कृषकलाई आधुनिक कृषि औजार वितरण गर्ने रहेको बताए । नगर तथा वडाका मुख्य सडकको स्तरोन्नति कार्यलाई प्रमुख प्राथमिकताका साथ जोड दिँदै मर्मत तथा कालोपत्रे गर्ने रहेको छ ।
मालारानी गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले पालिका भित्रको पर्यटन प्रवर्द्धन गर्न डकुमेन्ट्री तयार गरी प्रचारप्रसार गर्ने, हरेक स्कुलमा पढाईमा शिक्षाको गुणस्तर वृद्धि गर्ने सहित गतवर्षसम्म काम पूरा नभएका योजनालाई आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताइन् ।
छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले पालिकाभित्र उत्पादन भएको दूध, कृषि उत्पादनलाई थप वृद्धि गरी बजारीकरण गर्ने र कृषकको आम्दानी बढाउने लक्ष्य रहेको बताइन् । यहाँको उत्पादन गुल्मीको तम्घास बजार र बुटवल निर्यात हुँदै आएको छ । पूर्वाधार विकासमा सबैका टोलवस्तीसम्म पुगेका सडकलाई बाह्रै महिना सञ्चालन प्रमुख सडकलाई कालोपत्रे लगायत रहेको छ । शिक्षालाई प्रविधिमैत्री सिकाइको लागि स्मार्ट बोर्ड तथा डिजिटल सिकाई सामग्रीको व्यवस्थापन गरी प्रविधिको प्रयोगलाई विस्तार गर्ने रहेको छ । पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले दुर्गाफाँटमा रहेको १५ वेड अस्पताल सञ्चालनको लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मीको व्यवस्था गरी अस्पताल सुचारु गर्ने बताइन् ।
