राप्ती र गढवाले ल्याए ढकियामा बजेट

थारू समुदायको प्रतिनिधित्व गर्ने उपाध्यक्षहरूले ढकियालाई स्थानीय सरकारको बजेट प्रस्तुत गर्ने माध्यम बनाएर आफ्नो समुदायको पहिचान झल्काएका हुन् ।

असार १०, २०८३

दुर्गालाल केसी

Rapti and Garhwa bring budget to Dhakiya

What you should know

दाङ — अधिकांश स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षले बुधबार बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत गर्ने शैली संघ, प्रदेशदेखि स्थानीय तहसम्म एउटै छ, झोलामा बजेटको पुस्तक राखेर रिबनले बाँध्ने । राप्ती र गढवा गाउँपालिकामा भने बुधबार फरक शैलीमा बजेट आयो– त्यो हो ढकियामा बजेट ।

राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी र गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी ढकियामा बजेट बोकेर सभामा पसे । थारू पोसाकमा सजिएका उनीहरूले ढकियाबाट निकालेर बजेट पाठ गरे । ढकिया थारू समुदायको महत्त्वपूर्ण हस्तकला सामग्री हो । स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर उनीहरू ढकिया बुन्छन् र यस्तै विशेष समारोहमा प्रयोग गर्छन् ।

ढकिया विवाह, पूजापाठ, चाडपर्व र कुनै विशेष समारोहमा शोभा बढाउन प्रयोग हुने गर्छ । थारू महिलाहरू ढकिया टाउकोमा राखेर समारोहको रौनक थप्ने गर्छन् । थारू समुदायको पहिचान झल्किने ढकियामा बजेट राखेर राप्ती र गढवाका उपाध्यक्षहरूले नैलो कामका सुरुवात गरेका छन् ।Rapti and Garhwa bring budget to Dhakiya

थारू समुदायको प्रतिनिधित्व गर्ने उपाध्यक्षहरूले ढकियालाई स्थानीय सरकारको बजेट प्रस्तुत गर्ने माध्यम बनाएर आफ्नो समुदायको पहिचान झल्काएका हुन् । औपचारिक ब्रिफकेसको सट्टा थारू समुदायको उत्पादनलाई प्राथमिकता दिएको गढवाकी उपाध्यक्ष चौधरीले बताइन् ।

‘हामीले अरूको नक्कल गर्नुपर्छ भन्ने छैन । हाम्रो समुदायको सीप र कलाले बुनेको ढकियालाई चिनाउने काम गरेका छौं,’ उनले भनिन्, ‘हामी हरेक शुभकार्य र समारोहमा ढकिया प्रयोग गर्छौं भने बजेट बोक्न किन प्रयोग नगर्ने ? यही सोचेर ढकियामा बजेट बोकेको हो ।’

गढवा गाउँपालिकाले ८२ करोड ६४ हजार रूपैयाँ र राप्ती गाउँपालिकाले ७५ करोड ४ लाख ९६ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । गढवा गाउँपालिकाले कृषि भण्डारण, शीत भण्डार, पशुपालन, सिँचाइ र युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताइन् ।

कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र सामाजिक विकासलाई प्राथमिकता दिएर बजेट सार्वजनिक गरेको राप्ती गाउँपालिका उपाध्यक्ष चौधरीले बताइन् । ढकियालाई आफ्नो समुदायको पहिचानका रूपमा बजेट प्रस्तुतिमा प्रयोग गरेको उनले बताइन् । ‘हामी स्थानीय स्रोत साधनको प्रयोग किन नगर्ने ?,’ उनले भनिन्, ‘यो हाम्रो शुभ कार्य जनाउने बस्तु हो । बजेटजस्तो राम्रो काममा प्रयोग गर्दा शुभ संकेत नै हुन्छ ।’

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully