छोराछोरी जन्मिनासाथ बैंक खातामा पाँच हजार

मालिकामा बसोबास गर्ने दम्पतीबाट छोराछोरी जन्मिनेबित्तिकै बच्चाको खातामा पालिकाले पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको हो ।

असार १०, २०८३

सन्तोष महतारा

गुल्मी — गुल्मीको मालिका गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने दम्पतीबाट बच्चा जन्मिनेबित्तिकै पाँच हजार रुपैयाँ बच्चाका नाममा जम्मा गरिदिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा यो कार्यक्रममा पनि बजेट समावेश गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले प्रस्तुत गरेको वार्षिक बजेटमा 'नवजात शिशु कल्याणकारी कोष' स्थापना गरेर बजेटमा समावेश गरिएको छ । जसअनुसार उक्त कोषबाट मालिकामा बसोबास गर्ने दम्पतीबाट छोराछोरी जन्मिनेबित्तिकै बच्चाको खातामा पालिकाले पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको हो ।

यससम्बन्धी कार्यविधिमा सबै समावेश गर्ने तयारीमा रहेको पालिकाले मालिकाभित्र बसोबास गर्ने दम्पतीबाट जन्मिएको बच्चा, ३५ दिनभित्र जन्मदर्ता बनाएको, पालिकाभित्रका स्वास्थ्य संस्थामा मापदण्डअनुसार गर्भ जाँच गराएको र २० वर्ष पुगेपछि मात्रै विवाह गरेर बच्चा जन्माएको लगायतका मापदण्ड समावेश गर्नेछ ।

बच्चा उच्च शिक्षा हासिल गर्ने बेलासम्म अध्ययन खर्चको जोहो, २० वर्ष पुगेपछि मात्रै विवाह गर्न प्रोत्साहन र बालमैत्री पालिका बनाउन सहयोग पुगोस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए । उनले छोराछोरी दुवै यस कार्यक्रममा समेटिने बताए । उनका अनुसार वार्षिक २ सय ६० आसपास बच्चा जन्मिने र जसका लागि १३ लाख रुपैयाँ विनियोजन गरेको बताए ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष  २०८३/८४ का लागि ५८ करोड ६० लाख ९६ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम ल्याएको छ ।

सन्तोष

Link copied successfully