विगतकै कार्यक्रमको निरन्तरता, बजेटमा नयाँपन देखिएन ।
What you should know
दाङ — दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएका छन् । घोराही र तुलसीपुर उपमहानगरपालिकाले सोमबार तथा लमही नगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका थिए । अन्य सात गाउँपालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन् ।
घोराही उपमहानगरपालिकाले २ अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । १ अर्ब ३५ करोड ४५ लाख ४५ हजार अर्थात् ५६.९३ प्रतिशत चालु खर्च र १ अर्ब २ करोड ४९ लाख ७७ हजार अर्थात् ४३.०७ प्रतिशत रकम पुँजीगत खर्च प्रस्तुत गरेको उपप्रमुख हुमाकुमारी डीसीले बताइन् ।
घोराहीले विगतका वर्षझैं कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारकै क्षेत्रमा बजेट केन्द्रित गरेको छ । कृषियोग्य भूमिमा सिँचाइ विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न क्रमागत डिप बोरिङका लागि २ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि प्रवर्द्धनका क्षेत्रमा ३ करोड ५९ लाख विनियोजन भएको छ ।
थारु भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक, मगर भाषाको कक्षा १ को पाठ्यपुस्तक र कक्षा १ देखि ८ सम्मको स्थानीय विषय हाम्रो घोराहीको पाठ्यपुस्तकका लागि १७ लाख विनियोजन भएको छ । सामुदायिक विद्यालयबाट एसईईको परीक्षामा उत्कृष्ट अंक ल्याई एक छात्र र एक छात्रालाई डाक्टर र इञ्जिनियर पढ्न छात्रवृत्तिका लागि १६ लाख रुपयाँ विनियोजन भएको छ ।
तुलसीपुरले २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, खेलकुद र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको तुलसीपुर नगर उपप्रमुख स्यानी चौधरीले बताइन् ।
चालुतर्फ १ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ अर्थात ५६ प्रतिशत र पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैया अर्थात ४२.३५ प्रतिशत बजेट विनियोजन भएको छ । तुलसीपुरले आकाशे पुल निर्माणका लागि ५० लाख रुपयाँ विनियोजन गरेको छ ।
खेतीयोग्य जमिन संरक्षण गर्न तटबन्धन निर्माणमा २ करोड र कृषि एम्बुलेन्स सञ्चालनमा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा क्षेत्र सुधारका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य पुर्वाधार निर्माणका लागी १ करोड बजेट विनियोजन भएको छ । गरिब विपन्न दीर्घरोगीलाई नि:शुल्क उपचारका लागि ५० लाख विनियोजन गरिएको छ । सडक मर्मत र स्तरोन्नति गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । खानेपानी तथा सरसफाईका लागी १ करोड विनियोजन गरिएको छ ।
यस्तै लमही नगरपालिकाले ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा, वातावरण संरक्षण तथा भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट ल्याएको उपप्रमुख लक्ष्मी योगीले बताइन् ।
पूर्वाधार विकासतर्फ ३१ करोड ९० लाख ३३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १८ करोड ९ लाख ३३ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १२ करोड २७ लाख ९३ हजार रुपैयाँ, आर्थिक विकासतर्फ ५ करोड ९२ लाख ६७ हजार रुपैयाँ तथा विपत् व्यवस्थापनतर्फ १ करोड १ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले पालिका अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीहरूको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा प्रतिभाशाली विद्यार्थीहरूलाई एमबीबीएस, इन्जिनियरिङ, कृषि तथा अन्य प्राविधिक विषय अध्ययनका लागि प्रतिस्पर्धात्मक छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।
यस्तै राजपुर, गढवा, राप्ती, बंगलाचुली, दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकाले पनि बुधबार नै बजेट प्रस्तुत गरेका छन् । सबै पालिकाले विगतकै कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट विनियोजन गरेका छन् ।
राजपुर गाउँपालिकाले ६१ करोड १ लाख ९० हजार, गढवाले ८२ करोड ६४ हजार, राप्तीले ७५ करोड ४ लाख ९६ हजार र बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार रुपयाँको बजेट प्रस्तुत गरेका छन् । यसैगरी दंगिशरणले ४६ करोड ४५ लाख ४८ हजार, शान्तिनगरले ५२ करोड २५ लाख ४७ हजार र बबई गाउँपालिकाले ५६ करोड ४ लाख ४३ हजार रुपयाँको बजेट प्रस्तुत गरेका छन् ।
