भारतीय पर्यटकप्रति सम्मान व्यक्त गर्न पर्यटन व्यवसायीको आग्रह

भारतीय पर्यटकलाई नेपालमा स्वागतयोग्य वातावरण बनाउन व्यवसायीले सामाजिक सञ्जालको सही प्रयोग र व्यवसायमैत्री नीति ल्याउन सरकारसँग माग गरेका छन्।

असार ९, २०८३

माधव ढुंगाना

Tourism professionals urge to show respect for Indian tourists

What you should know

भैरहवा — लुम्बिनी र पोखराका पर्यटन व्यवसायीले सामाजिक सञ्जालमा भारतीय पर्यटक लक्षित ‘अपमानजनक’ व्यवहार रोक्नुपर्ने बताएका छन् । 'अफसिजन'मा पनि भारतीय पाहुनाका कारण गन्तव्यहरू गुल्जार बनेको बताउँदै व्यवसायीले सम्मानजनक व्यवहार गर्न अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा व्यक्त गरिने नकारात्मक टीका-टिप्पणी र अपमानजनक अभिव्यक्तिले गन्तव्यबारे गलत प्रचार हुने पर्यटन व्यवसायीको भनाइ छ । लुम्बिनी र पोखराका पर्यटन व्यवसायीले भारतीय पर्यटक नेपाल आउने वातावरण नबिग्रिने गरी सामाजिक सञ्जालको प्रयोग र उपयुक्त सरकारी नीति अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् ।

होटल संघ पोखराले भैरहवामा आयोजना गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तर्क्रियामा सहभागी पर्यटन व्यवसायीले पछिल्लो समयमा भारतीय पर्यटकलाई अपमानित गर्ने खालका गतिविधि सामाजिक सञ्जालमा देखिनु र सरकारी नीति पनि अनुकूल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकको बढ्दो आगमनले ठूलो उत्साह जगाइरहेका बेला पर्यटन व्यवसायी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको बताए । ‘भारतीय पर्यटकले पोखरालगायतका स्थानका तारेहोटल खचाखच भरिएको नदेख्ने तर सीमित भारतीय तीर्थयात्रीले बाटोमा खाना पकाएर खाएको दृश्य देखाइनुले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिएको छ,’ सुवेदीले भने, ‘यस्ता गतिविधि हुनु हुँदैन ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले धेरै भ्युअर्स बढाउने उद्देश्यले युट्युब सञ्चालकले नकारात्मक सन्देश जाने गतिविधिलाई प्राथमिकता दिने गरेको बताए । भारतीय पर्यटकलाई नेपालमा थप आकर्षित गर्ने खालका पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम लिएर नेपाली पर्यटन व्यवसायी भारतका विभिन्न सहरमा पुग्न खानले आग्रह गरे । 

सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्माले नेपाल आउने भारतीय पर्यटकले ल्याएका सवारी सधानसँग भन्सार कर लिइसकेपछि पनि बीच बाटोमा प्रदेश सरकारहरूले बाटो प्रयोग गरेको भन्दै थप कर लिनु ज्यादती भएको बताए । ‘भारतीय पर्यटकले ल्याएको पैसालाई स्रोत देखाउन भन्ने, डिजिटल कष्टमको नाममा भारतीय पर्यटकलाई अर्को नाकाबाट फर्किँदा प्रत्येक दिन जरिवाना लगाउनेलगायतका धेरै सरकारी नीति अव्यवहारिक छन्,’ उनले भने, ‘भारतीय पर्यटकलाई असर पार्ने खालको सरकारी नीतिविरुद्ध सबै व्यवसायीले संयुक्त आवाज उठाउन जरुरी छ ।’

‘जाउँ है पोखरा’ अभियानअन्तर्गत पर्यटकीय राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने उद्देश्यले आयोजित उक्त पर्यटन प्रवर्द्धनात्मक कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रमा विद्यमान समस्या र चुनौतीलाई केलाउँदै थप पर्यटकीय गन्तब्यको खोजी र प्रचारप्रसारमा जोड दिइएको छ । 

होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई भन्सार नाका र बीच बाटोमा सुरक्षाकर्मीले अपमानजनक रूपले धरपकड गरिनाले पर्यटकीय वातावरण बिग्रिने गरेको बताए । भारतीय पर्यटकले नेपालमा नगद ल्याउँदा पनि विभिन्न झमेला रहेकाले यसतर्फ सरकारले सहजीकरण गर्न जरुरी रहेको उनले बताए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully