एकल महिलाप्रति सामाजिक विभेद कायमै रहेको गुनासो

‘सामाजिक विभेदका विरुद्ध र एकल महिलाले सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण तयार हुने गरी सामाजिक रूपान्तरण गर्नका लागि अझै धेरै संघर्ष गर्न बाँकी नै छ,’ डा.लीली थापाले भनिन् ।

असार ९, २०८३

माधव ढुंगाना

Complaints about persistent social discrimination against single women

What you should know

भैरहवा — पारिवारिक विभेद, सामाजिक लाञ्छना, असमानता र घरेलु हिंसाजस्ता कुसंस्कारसँग एकल महिलाले अझै पनि समाजमा सामना गर्न परिरहेको सरोकारवालाले बताएका छन् । 

१६ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित मानवअधिकारका लागि एकल महिला समूह, लुम्बिनी प्रदेश स्तरीय भेलामा सहभागी सरोकारवाला तथा एकल महिला समूहका नेतृहरूले समाजका कुरीतिविरुद्ध नेपाली समाजमा व्यापक जागरुकता र एकल महिलाबीच सांगठनिक ऐक्यबद्धताको ठूलो आवश्यकता रहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य तथा मानवअधिकारका लागि एकल महिला समूहकी संस्थापक अध्यक्ष डा.लीली थापाले केही दिनअघि केही सभ्रान्त व्यक्तिले आफूविरुद्ध सामाजिक सञ्जालमा प्रयोग गरिएको अपशब्द र तल्लो निष्कृष्ट शब्दले नेपाली समाजमा एकल महिलाप्रति हेर्ने दृष्टिकोणलाई उजागर गरेको उदाहरण दिइन् । 

‘सामाजिक विभेदका विरुद्ध र एकल महिलाले सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण तयार हुने गरी सामाजिक रूपान्तरण गर्नका लागि अझै धेरै संघर्ष गर्न बाँकी नै छ,’ थापाले भनिन् । 

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले दुई कार्यकालसम्म मुलुकको सर्वोच्च राष्ट्रपति पद सम्हालेकी विद्यादेवी भण्डारीबाट जानकी मन्दिर प्रवेश गरेपछि क्षमापूजा गरिएको र त्यतिबेला एकल महिलाले त्यसको विरोध गर्न नसकेको भनाइ राखेका थिए । 

अति न्यून जनसंख्या रहेको जातीय समूहलाई राज्यले आरक्षणको व्यवस्था गरेको तर मुलुकको ११ प्रतिशत जनसंख्या रहेको एकल महिलालाई आरक्षणको व्यवस्था राज्यले नगरेको गुनासो एकल महिला नेतृहरूले गरेका छन् । 

पछिल्लो जनगणनामा नेपालमा कुल एकल महिलाको संख्या ८ लाख २६ हजार १ सय ४७ छ । जसमध्ये लुम्बिनी प्रदेशमा यो संख्या १ लाख ४१ हजार ५ सय ८९ छ । 

समूहकी लुम्बिनी प्रदेश अध्यक्ष अरुणा श्रेष्ठले चाडपर्व तथा धार्मिक कार्यका बेला एकल महिलाको सार्वजनिक उपस्थितिलाई सहज रूपमा समाजले स्विकार्न नसकेको र बोक्सी र समाजिक बहिष्कारबाट एकल महिला बढी प्रताडित हुनु परेको बताइन् । 

समूहकी केन्द्रीय सदस्य एकमाया विश्वकर्माले समाज र घर–परिवारबाट समेत विभेदमा पर्ने गरेका एकल महिलाको उत्थानका लागि प्रदेश र संघीय सरकारले समेत बेवास्ता गरेको गुनासो गरिन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully