५३ वर्षसम्म दुई लेन बनेन सन्धिखर्क–गोरुसिंगे सडक, २० माग गर्दा ५ करोड बजेट

बजेट अभाव र प्राविधिक चुनौतीका कारण ६८ किलोमिटर लामो सन्धिखर्क–गोरुसिंगे सडक ५३ वर्ष बितिसक्दा पनि डबल लेनको काम अधुरै छ ।

असार ५, २०८३

वीरेन्द्र केसी

Sandhikharka-Gorusinghe road not built into two lanes for 53 years, budget of Rs 50 million despite 20 demands

What you should know

अर्घाखाँची — जिल्ला सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडकमा ५३ वर्षदेखि निरन्तर काम पनि सडक यात्राको जोखिम हटेको छैन । यो सडक अन्तरगतको बसेरी, डोहोटे, नरपानी, फुदवाङ, ठाडालगायतका ५० ठाउँमा साँघुरा घुम्तीले जोखिमयुक्त यात्रा गर्नुपरेको छ । हरेक वर्ष न्यून बजेट विनियोजन हुँदा एउटै सडकको काम वर्षौंसम्म पूरा हुन नसकेको हो । 

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जोड्ने पुरानो सडक सन्धिखर्क–गोरुसिंगे सडक हो । पछिल्लो समय धार्मिक तीर्थस्थल सुपा देउराली मन्दिरमा दर्शनार्थी आउजाउको लागि गाडीको चाप हुँदा सन्धिखर्क–गोरुसिंगे सडक पर्यटकीय बाटोको रुपमा परिणत भएको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्क छोटो दूरी बनाउन सकिने भए पनि जिल्लाको दक्षिण क्षेत्रको भेगलाई सडकले समेट्न कपिलवस्तुको गोरुसिंगे–पथ्थरकोट–ठाडा–नरपानी हुँदै सन्धिखर्क जोडिएको पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसालले बताए । २०३० सालबाट सडक खन्न सुरु गरिएको हो । त्यतिबेला यो सडक गाउँलेले कोदालो, गैती, बेल्चाले वर्षौंसम्म खनेका थिए । उनले आफु बाल्यकाल छँदा घरबाट आटो, रोटी बोकेर महिनौंसम्म कोदालोले बाटो खनेको बताए ।  ‘भीरपाखो, जंगललाई खन्न वर्षौं लागेको थियो,’ उनले भने, ‘घरबाट खानेकुरा पकुटीमा लगेर जंगलमा पकाएर खाँदै खनेको बाटो हो । ०३० सालबाट खन्न सुरु गरिएको सडकमा ०४३ सालमा सदरमुकाम सन्धिखर्कमा पहिलो पटक ट्याक्टर आएको थियो ।’ 

क्रमश: सडकलाई फराकिलो बनाउने, साँघुरा मोड काट्ने, सजिलो बनाउने काम पनि गाउँलेले नै गरको उनले बताए । विस्तारै पछि डोजरले सडकको काम गर्न थालेको हो । सो सडक गोरुसिंगेबाट फराकिलो पारिँदै कालोपत्र सुरु भएको थियो । ०६० सालमा सन्धिखर्कसम्म एक लेनको सडक कालोपत्र सम्पन्न भएको उनले बताए । गाडीको चाप थपिँदै जाँदा सरकारले डबल लेनको बनाउन लागेको हो । ‘पहिला त बिहानै सन्धिखर्कबाट हिँडेको बस साँझमात्रै बुटवल पुर्‍याउँथ्यो,’ सन्धिखर्कका व्यापारी हुमप्रसाद श्रेष्ठले भने, ‘अहिले पाँच घण्टामा पुगिन्छ । पुरै सडक डबल लेनको भए समय थोरै लाग्छ ।’

जिल्लाको राजनीतिक नेतृत्वले सो सडकलाई डबल लेनको बनाउन हरेक वर्ष केन्द्रमा सर्वदलीय रुपमा डेलिकेसन जाने गर्छ । ‘केही वर्षअघिसम्म सडक साँघुरो र अप्ठयारो भएकै कारण दुर्घटनाबाट धेरै यात्रुको अकालमा ज्यान गयो,’ पश्चिम नेपाल बस व्यवसायी संघ सन्धिखर्क शाखा प्रमुख कमलप्रसाद भट्टराइले भने, ‘विस्तारै सडक सहज हुँदै गएपछि दुर्घटनामा कमी आएको छ । यात्रा सहज हुँदै गएको छ । अझै पनि धेरै ठाउँ असहज र जोखिम भएकाले फराकिलो डबल लेनको सडक, सेफ्टी वाल बनाउन अति आवश्यक छ ।’ 

गुल्मीको पश्चिम क्षेत्र, दाङको देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी भएपछि गुल्मीसहित पाल्पाका स्थानीय यही बाटो आउजाउ गर्ने भएकाले गाडीको चाप थपिएको छ । भारत र देशका विभिन्न ठाउँबाट सुपा देउराली दर्शनका लागि तीर्थालु गाडी लिएर भित्रिने गर्छन् । तराई र भारतबाट गर्मी छल्ने गन्तव्य नरपानी बन्नुले पनि गाडीको चाप धेरै छ । ‘अब यो सडक जिल्ला सदरमुकामलाई जोड्ने मात्रै होइन, पर्यटक आवतजावत गर्ने रुट बनेको छ,’ प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसालले भने, ‘सन्धिखर्क–गोरुसिंगे सडकको नाम परिवर्तन गरी सुपा देउराली मार्ग राख्ने योजनामा छु ।’ 

उनले सो सडकलाई प्राथमिकतामा राखेर बजेट पार्न कोशिष गरेका थिए । २ अर्बको लागत अनुमान भएको सो सडकलाई सरकारले ५ करोड रुपैयाँ मात्रै विनियोजन गरिदिएपछि मंगलबार संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुसालले असन्तुष्टी जनाए । ‘बर्सेनि साँघुरो सडकका कारण सन्धिखर्क–गोरुसिंगे सडकमा दुर्घटना हुने गरेका कारण दुई लेनमा स्तरोन्नति गर्न बजेट माग गरेको थिए,’ उनले संसदमा भनेका थिए, ‘२ अर्ब लागत भएको सडकका लागि यो वर्ष ५ करोड मात्र विनियोजन गरिएछ । यही गतिले जाने हो भने एउटा सडक सम्पन्न गर्न ४ दशक कुनुपर्ने देखियो । यो कसरी स्वीकार हुन सक्छ ?’   

बैठकमा भुसालले बजेटअघि प्रधानमन्त्रीसँग सामूहिक भेटको प्रसंग जोडे । ‘प्रधानमन्त्रीसँग भेटमा सहभागी हुने अवसर प्राप्त भएको थियो । त्यस क्रममा अर्घाखाँचीको महत्वपूर्ण योजनाबारे ध्यानाकर्षण गराइएको थियो,’ उनले बैठकमा भने, ‘सम्बन्धित मन्त्रालय र सचिवालयले आश्वस्त पारेपछि जिल्लावासीलाई यसपटक योजना पर्छन् । यो यो पर्छन् भनेर विश्वास पनि दिलाएका थियौं । तर, बजेट आएपछि धेरै योजना समेटिएनन् ।’ उनले बजेट शक्तिकेन्द्रको वरिपरि घुमेको शंका प्रशस्त भएको पनि बताए । 

सडक डिभिजन कार्यालय शिवपुरका कार्यालय प्रमुख सविन कोइरालाले आगामी आर्थिक वर्षका लागि स्ट्रक्चर र मोड फराकिलो बनाउने, मर्मतलगायत काम गर्न २० करोड रुपैयाँ बजेट माग गरिए पनि ५ करोड मात्रै परेको बताए । उनले भने, ‘त्यति रकमले के गर्ने ? ५ करोड रुपैयाँ त यो आर्थिक वर्षको दायित्व छ । बजेट नै नभएपछि सामान्य मर्मत र खाल्डाखुल्डी पुर्नलाई पनि समस्या हुने भयो ।’ 

सन्धिखर्क–गोरुसिंगे सडक खण्डको बसेरी जंगल, फुदवाङ, सितापुरलगायतको ठाउँमा सडक डरलाग्दो छ । खाल्डाखुल्डी भएको ठाउँ, सडकको बीच–बीचमा स्ट्रक्चरको काम, वाल लगाउने, मोड फराकिलो पार्न २० करोड रुपैयाँ बजेटको स्टिमेट गरेर माग गरे पनि नपरेपछि आगामी आर्थिक वर्ष सो सडकमा केही पनि काम नहुने उनले बताए । यो वर्ष ९ करोड रुपैयाँ बजेट परेकोमा घटेर ५ करोडमा झरेको छ । सन्धिखर्क–गोरुसिंगे सडकको दूरी ६८ किलोमिटर रहेको छ । जसमध्ये ३० किलोमिटर दूरीको सडक मात्रै ७ मिटर चौडाई रहेको छ । अरु दूरी ५ मिटर चौडाई छ । ‘सडक धेरै ठाउँमा जोखिमपूर्ण नै छ,’ उनले भने, ‘जिल्ला सदरमुकाम आउजाउ र धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा दर्शनको लागि भारत र नेपालका विभिन्न ठाउँमा भित्रिने गरेकाले गाडीको चाप अत्यधिक छ । गाडी धेरै, चौडाई कम भएकाले यात्रा सहज छैन, डरलाग्दो नै छ ।’

बसेरी, फुदवाङलगायतका ५० ठाउँमा जोखिमयुक्त मोड रहेको उनले बताए । बाँकी रहेको ३८ किलोमिटर दूरीको सडकलाई ७ मिटर चौडाई बनाउन, वाल उठाउन, नाली बनाउनेसहित समग्र कामको लागि एक अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान रहेको कोइरालाले बताए । सो रकम एकै वर्ष खर्च गर्न नसके पनि दुई/तीन आर्थिक वर्षमा खर्च गरेर सडकलाई डबल लेनको बनाउन सकिने उनले बताए । 

‘बजेट अभावले एउटै सडकलाई पूरा गर्न वर्षौं समय लाग्ने र निर्माण भएको सडक खल्डाखुल्डी हुने, भत्किने सडक माथि र तलबाट पहिरोले पुर्ने, बगाउने गर्दा समस्या परेको छ,’ उनले भने, ‘हरेक वर्ष माग गरे अनुसारको बजेट नहुँदा लामो समयसम्म सडक निर्माणसम्पन्न गर्न अधुरै रहने गर्छ । बसेरी जंगल क्षेत्रमा सडक फराकिलो पार्न धेरै रुख छन्, रुख काट्न वनले रोक्दा पनि समस्या छ ।’

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully