वनका कर्मचारीले काटे बन्दै गरेको कल्भर्टका सरिया, स्थानीयद्वारा विरोध

‘सम्बन्धित सामुदायिक वनसँग समन्वय गरी कल्भर्ट निर्माण सुरु गरेका थियौं । कल्भर्टको आरसीसी ढलानसमेत भइसकेको छ,’ बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले भनिन्, ‘तर बिहीबार कुनै जानकारीबिना वनका ६/७ जना कर्मचारीले निर्माणाधीन कल्भर्टको सरिया काटेका छन् ।’

असार ४, २०८३

रामप्रसाद चौहान 

Locals protest against cutting of culvert slabs being constructed by forest officials

What you should know

बर्दिया — बारबर्दिया नगरपालिका–४ झोलुङ्गे पुल जाने बाटोमा निर्माणाधीन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीले बिहीबार निर्माणाधीन कल्भर्टका सातवटा सरिया काटेका हुन् । 

सरिया काटेको जानकारी पाउनासाथ स्थानीय सर्वसाधारणले अवरोध गरेपछि वनका कर्मचारीको भागाभाग भएको थियो । बैरियाघाटस्थित बबई नदीमा रहेको झोलुङ्गे पुल जाने बाटोमा खाल्डो रहेको हुँदा बर्खामा आवतजावत गर्न सर्वसाधारणलाई सास्ती व्यहोर्नु पर्छ ।

पराम्परादेखि चलनचल्तीमा रहेको बाटोमा कल्भर्ट निर्माण गर्दा वनले भत्काउन खोजेको बारबर्दिया नगरपालिका–४ बैरिया गाउँका बडघर राधेश्याम थारुले बताए । ‘बघैला र जिराह सामुदायिक वनको सिमानामा पर्ने उक्त बाटो पराम्परादेखि चलनचल्तीमा छ,’ उनले भने, ‘पुर्खादेखि चलनचल्तीको बाटोमा अघिल्लो सातादेखि कल्भर्ट निर्माण सुरु भएको हो । अहिले वनका कर्मचारीले दादागिरी शैलीमा रोक्न खोजेका छन् ।’ हामी गाउँलेले २०४४ सालमा वृक्षारोपण गरी बनाएको वन हो । शुक्रबार यस विषयमा तीन/चार गाउँका स्थानीय जम्मा भएर डिभिजन वन कार्यालयमा जाने तयारी भइरहेको उनले जनाए ।

झोलुङ्गे पुल जाने बाटोमा खाल्डो हुँदा सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गरी बिग्रुप संस्थासँग समन्वय गरी कल्भर्ट निर्माण सुरु भएको बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले बताइन् । ‘सम्बन्धित सामुदायिक वनसँग समन्वय गरी कल्भर्ट निर्माण सुरु गरेका थियौं, कल्भर्टको आरसीसी ढलानसमेत भइसकेको छ,’ उप–प्रमुख पाण्डेले भनिन्, ‘तर बिहीबार कुनै जानकारीबिना वनका कर्मचारीले निर्माणाधीन कल्भर्टको सरिया काटेका छन् ।’ स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा सरिया काटिसकिएको उप–प्रमुख पाण्डेले बताइन् ।

अनुमति नलिई कल्भर्ट निर्माण गरेकाले वनका कर्मचारीले सरिया काटेको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए । ‘कल्भर्ट निर्माणका लागि डिभिजन वन कार्यालयसँग कुनै जानकारी थिएन,’ उनले भने, ‘वन क्षेत्रमा बिनाअनुमति कल्भर्ट निर्माण भइरहेको खबर आउँदा वनका कर्मचारी खटिएर रोक्नका लागि सरिया काटेका हुन् ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully