निजी गुठीअन्तर्गत रेग्मी परिवारले वि.सं. १८७९ मा निजी गुठी राखेका हुन् । तर २०५२/५३ सालतिर शिवकान्ति डोटेलको नाममा लालपूर्जा बनेको छ ।
What you should know
पाल्पा — रामपुर नगरपालिका-४, खोप्टारस्थित २ सय वर्ष पुरानो लक्ष्मीनारायण पाटी संग्रहालय (धर्मशाला) नै व्यक्तिको नाममा दर्ता भएको छ । निजी गुठीअन्तर्गत यहाँका रेग्मी परिवारले वि.सं. १८७९ मा निजी गुठी राखेका हुन् । तर २०५२/५३ सालतिर शिवकान्ति डोटेलको नाममा लालपूर्जा बनेको छ ।
करिब १७ रोपनी जग्गा डोटेलको नाममा दर्ता भएको छ । त्यसमध्ये १० रोपनी धर्मशाला क्षेत्र रहेको छ । तीन रोपनी क्षेत्रफलमा धर्मशाला पुरातत्व विभागबाटसमेत पुनर्निर्माण भएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धसप्रकाश रेग्मीले बताए । ‘व्यक्तिको नाममा लालपूर्जा रहेको ढिला थाहा पाइयो,’ अध्यक्ष रेग्मीले भने, ‘अहिले हामी अख्तियारमा मुद्दा दर्ता गरेका छौं । कसरी लालपुर्जा बन्यो भन्नेमै हामी अचम्म परेका छौं ।’
डोटेलले थप ७ रोपनी जग्गा मोहियानी हकअन्तर्गत छाडेका छन् । तर सबै पौवा नै लालपूर्जामा देखिएकाले समस्या भएको हो । डोटेल परिवारका पुस्ताले धर्मशालाको रेखदेख गर्दै आएको थियो । रेग्मी परिवारले रामपुर क्षेत्रको खोप्टार, कांसजरी, बहखोला, गिजिनडाँडा क्षेत्रमा २ हजार १ सय रोपनी जग्गा निजी गुठी राखेका छन् । यो धर्मशाला २०८० सालमा पुनर्निर्माण सकिएको छ ।
पुरातत्व विभागको विशेष पहलमा करिब ३ करोड ७४ लाख लागतमा पुनर्निर्माण गरिएको छ । पुरानो धर्मशाला भुईंतलासहित तीन तले ६ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापालीको थियो । छानो झिंगटीको हो । सोही स्वरूपमा नै पुनर्निर्माण गरिएको छ । लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष रेग्मीका अनुसार पुरानै ऐतिहासिकता झल्काउने बहुमूल्य काठका सामग्रीबाट भवन निर्माण भएको हो ।
भवन निर्माण सकिएपछि यसलाई संग्रहालयका रूपमा विकास गरिएको छ । गाउँघरमा पहिले चलनचल्तीमा आएका पुराना काठजन्य वस्तुलाई संरक्षण गर्दै संग्रहालयमा राखिएका छन् । १८७९ सालमा रामपुरका समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरेका हुन् । विशिष्ट व्यक्तिको आगमनका साथै बटुवाका लागि बास बस्ने प्रयोजनका लागि गुठी व्यवस्था गरिएको थियो । २०७२ को भूकम्पले यसलाई क्षति पुर्याएपछि यो जीर्ण थियो । यो धर्मशाला रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको छ ।
