नख्खु कारागारबाट भागेका ‘जेल ब्रेकर’ कपिलवस्तुबाट पुन: पक्राउ

‘जेल ब्रेकर’ कपिलवस्तुका रामजैस मौर्यमाथि प्रहरी जवानलाई कर्तव्य गरी मारेको र अर्को ज्यान मार्ने मुद्दाको अभियोग छ ।

असार ४, २०८३

मनोज पौडेल

'Jailbreaker' who escaped from Nakkhu prison re-arrested in Kapilvastu

What you should know

कपिलवस्तु — जिल्ला कारागारबाट सुरुङ खनेर भागेका र पुनः पक्राउ परी नख्खु कारागार रहेका महाराजगन्ज नगरपालिका–६, बन्जरियाका रामजैस मौर्य जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट पनि भागेका थिए । उनै ५८ वर्षीय मौर्य अहिले कपिलवस्तुको नेपाल–भारत सीमावर्ती नाका कुकुरभुकुवाबाट पक्राउ परेका छन् ।

सीमावर्ती भारतको बढनी बजारमा बनाएको घरमा जाँदै गर्दा प्रहरीले उनलाई कृष्णनगर नगरपालिका–१, कुकुरभुकुवा नाकाबाट पक्राउ गरेको हो । देख्दा सामान्य लाग्ने उनीमाथि कडा अभियोग र कडा सजाय फैसला भएको थियो । ‘जेल ब्रेकर’को अभियोग लागेका उनीमाथि प्रहरी जवानलाई कर्तव्य गरी मारेको र अर्को ज्यान मार्ने मुद्दाको अभियोग थियो । पहिलो पटक जेलबाट सुरुङ खनेर भाग्दा डेढ वर्षमा र अर्को पटक जेलबाट भाग्दा ९ महिनामा पक्राउ परेका थिए । 

०६३ कार्तिक २४ गते बहादुरगन्जमा ड्युउटीमा रहेका प्रहरी जवान नविन गुरुङलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा अन्य ११ जनासहित मौर्यलाई ०६५ माघ १० गते जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । कर्तव्य ज्यानको मुद्दामा कारागारमा रहेका बेला त्यसअघि नै उनलाई अर्को ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय भएको थियो । त्यसैबीच ०६६ माघ १ मा उनीसहितका ८ जना व्यक्ति कपिलवस्तु कारागारको पूर्वी पर्खालबाट २१ फिट लामो सुरुङ खनेर भागेका थिए । त्यसपछि थुनुवा कैदी भागे/भगाएको मुद्दामा कपिलवस्तु जिल्ला अदालतले ०६८ जेठ १० को फैसलाले २५ वर्ष ३ महिना ३ दिन कैद सजाय तोकेको थियो ।

कैद सजाय तोकेको एक महिनापछि ०६८ असार १३ गते मौर्य पक्राउ परेका थिए । यसपछि उनलाई नख्खु कारागार पठाइयो । नख्खु कारागारबाट गत भदौको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनी त्यहाँबाट भागेका थिए । त्यसपछि जेठ २४ गते दोस्रोपटक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । 

उनलाई ०६८ साउन १४ देखि कैद कट्टा हुने गरी २०९३ कार्तिक १७ गतेसम्म कारागार बस्नुपर्ने कैदी पुर्जी अदालतले दिएकामा कैदी पुर्जी संशोधन गरी पाउँ भनी नख्खु कारागारबाटै अदालतमा निवेदन दिएकामा पुनरावेदन अदालत, बुटवलले ०६९ असोज १५ गतेको फैसलाले कैद सजाय २० वर्ष राखेर ०८८ साउन १३ गतेसम्म कैद सजाय राख्नु भनेको थियो । छुट्न ६ वर्ष बाँकी हुँदा उनी फेरि कारागारबाट भागेका थिए । 

‘यसपटक उनलाई भाग्न मन थिएन रे,’ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले भने, ‘सबैलाई कारागार छाड्न बाध्य बनाइएपछि आफू पनि हिँडेको उनको भनाइ छ ।’ कारागारभित्रै सानोतिनो पसल चलाएका थिए । थोरै आम्दानी गरेर टीभी, दराज जोडेका थिए । त्यही भएर भाग्न मन नभएको मौर्यले सुनाउने गरेको कुँवरले बताए । तर, परिस्थतिले साथ नदिँदा जबरजस्ती कारागार छोड्नु परेको मौर्यको गुनासो रहेको प्रहरी निरीक्षक कुँवरले सुनाए । 

कुँवरका अनुसार नख्खु कारागारबाट बाहिर निस्केपछि एक दिन मौर्य काठमाडौंमै बसे । फेरि कारागार फर्किए । त्यहाँ पूरै सन्नाटा र सुनसान देखेपछि उनी सरासर घर फर्किएका थिए । 

मौर्यको परिवार भने सीमावर्ती भारतीय बढनी बजारमा बस्ने गरेको छ । उनी फरार भएपछि कपिलवस्तु प्रहरीले निगरानी बढाएको प्रहरी निरीक्षक कुँवरले सुनाए । ‘उनी नेपाल आउजाउ गर्ने गरेको सूचना पायौं,’ उनले भने, ‘वाच गरेर बसेका थियौं । नेपालको घरबाट फर्कंदै गर्दा कुकुरभुकुवा नाकाबाट पक्राउ गर्‍यौं ।’ 

काठमाडौंस्थित नख्खु कारागारबाट भागेपछि मौर्यले भारतमा ठूली छोरीको विवाह गरिदिएका थिए । छोरीको विवाह समारोहमा सामेल हुन पाउँदा मौर्य आफूलाई अत्यन्त भाग्यमानी ठान्छन्,’ प्रहरी निरीक्षक कुँवले भने ।

मौर्य अहिले कपिलवस्तु कारागारमा रहेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully