बाँके, दाङ, कपिलवस्तु लगायत छ जिल्लामा प्राविधिक टोलीले तीन महिनामा ४२ नयाँ पिलर निर्माण र १०९ स्तम्भको मर्मत तथा अभिलेखीकरण सम्पन्न गरेको छ।
What you should know
नेपालगन्ज — बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा ३८ वटा नयाँ पिलर निर्माण तथा ९५ वटा पिलरको मर्मत–सम्भार गरिएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मत–सम्भारको तयारीका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड कार्यक्रमअन्तर्गत फिल्डमा साढे दुई महिना लगाएर काम गरिएको हो।
चैत ८ गते काठमाडौंबाट नेपालगन्ज आएको उपसचिवको नेतृत्वको टोलीले नेपाल–भारत संयुक्त बैठक बसेर चैत १७ गतेबाट काम सुरु गरेको थियो।
तीन महिनादेखि खटिएको टोलीले बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन तथा सर्वेक्षण कार्य गरेको हो। नेपालतर्फ नापी विभागअन्तर्गतको प्राविधिक टोलीले उक्त कार्य सम्पन्न गरेको हो।
नापी विभागका प्रमुख नापी अधिकृत तथा फिल्ड टिमका लिडर खिम रानाका अनुसार सर्वेक्षणमा नेपाल र भारत दुवै पक्षका गरी ४२ वटा नयाँ पिलर निर्माण तथा १०९ वटा पिलरको मर्मत–सम्भार गरिएको छ।
‘सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने तथा अभिलेख अद्यावधिक गर्ने काम गरिएको छ,’ रानाले भने, ‘मुख्य काम बाँके, दाङ र कपिलवस्तुमा गरिएको हो।’
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार नेपाल–भारत सीमा सम्बन्धी संयुक्त समितिको निर्णयअनुसार फिल्ड सर्वेक्षण टोली परिचालन गरिएको थियो।
‘फिल्ड सर्वेक्षणका लागि नेपाल–भारत सीमामा देशभर चार वटा टोली परिचालन गरिएकोमा बाँके क्षेत्रको टोली 'टोली नम्बर ३' रहेको थियो,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘यस टोलीले पश्चिम नेपालका चार जिल्लाअन्तर्गत पर्ने सीमा क्षेत्रको अध्ययन गरेको हो।’
सर्वेक्षण कार्य नेपालतर्फ नापी विभागअन्तर्गतको प्राविधिक टोली र भारततर्फ सम्बन्धित निकायका प्राविधिक टोलीले संयुक्त रूपमा गरेका थिए। भारततर्फ सर्भे अफ इन्डियाका अधिकृत तहका कर्मचारीहरू सहभागी थिए।
सशस्त्र प्रहरी बल नम्बर ३० गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार सीमा स्तम्भको अवस्थिति, अभिलेख र पुनः निर्माणसम्बन्धी प्राविधिक पक्षको अध्ययन टोलीले गरे पनि मर्मत–सम्भार तथा संरक्षणको जिम्मेवारी भने सीमा सुरक्षा निकाय सशस्त्र प्रहरी बललाई दिइएको छ।
‘सीमा स्तम्भहरूमा आवश्यक चिन्ह तथा नम्बरिङ गर्ने कार्य पनि दुई देशबीचको सहमतिअनुसार हुनेछ,’ उनले भने, ‘यो वर्षको काम सकिएको छ। सीमा स्तम्भहरूको रङ रोगन, मर्मत तथा संरक्षणको काम सम्पन्न भएपछि नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ सीमा सुरक्षा बललाई जिम्मेवारी हस्तान्तरण गरिनेछ।’
सर्वेक्षण सम्पन्न भएसँगै सीमा स्तम्भहरूको मर्मत–सम्भार तथा पुनः निर्माणको कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ। अर्को पटक कात्तिकदेखि काम सुरु गरिने जनाइएको छ।
सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले भारत–नेपाल सीमा सन्दर्भ प्रणालीअन्तर्गत नवलपरासीको बर्दघाट, कपिलवस्तुको तिलौराकोट क्षेत्र, दाङको लमही र बाँकेको कालाबन्जरमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर जीपीएस अवलोकन गरिएको थियो। साथै, सीमाका स्तम्भहरूलाई भविष्यमा जीपीएसमा आधारित प्रणालीमा आबद्ध गर्न सहायक मापन केन्द्रका लागि आवश्यक स्थान छनोटको काम पनि सम्पन्न गरिएको छ।
नेपाल र भारतका सम्बन्धित निकायको समन्वयमा सञ्चालित सर्वेक्षणको अन्तिम समीक्षा तथा समापन बैठक मंगलबार सम्पन्न भएको थियो। समापन तथा समीक्षा बैठकमा नेपालतर्फ बाँके, दाङ, कपिलवस्तु, नवलपरासी र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फ श्रावस्तीसहित सम्बन्धित दुई जिल्लाका जिल्ला अधिकारीहरूको सहभागिता थियो।
