मगर समुदायले प्रकृति, जल, जमिन र अग्निको पूजा गर्दै गाउँभर फूल टिप्ने, भुमे नाच र विभिन्न प्रतियोगितासहित भव्य रूपमा भुमे पर्व मनाउँदै आएका छन्।
What you should know
रुकुम पूर्व — एकातिर शिरमा टोपी र पगरी, रातो–कालो चोलीमाथी सेतो खादी अनि कछाडमा पटुकी कसेका । कानमा बिर्गुली र कम्मरमा खुकुरी भिरेका दाजुभाईको लहरो । अर्कोतिर रातो–कालो चोलीमाथी गादा भिरेर लुङ्गी लगाई धरोले कम्मर कसक्क कसेका । मौलिक गरगहनाले सजिएर चिटिक्क परेका दिदीबहिनीको लहरो ।
यो हो रुकुम पूर्वको मौलिक चाड भुमेको अवसरमा नाचिने भुमे नाचको रमझम्मा देखिने दृश्य । सुन्दर भूगोलमा मौलिक भाषा, कला र संस्कृति, परम्पराको निन्तरतासँगै प्रेमिल जमघट । यही हो यहाँको सम्पदा, यहाँको निधी ।
जल, जमिन र अग्निको पूजा । धरती अर्थात प्रकृतीको पूजा । भूमी अर्थात जमिनको पूजा । ‘प्रकृती पुजक’ यस भेगका आदीवासी, जनजाती अनि उनीहरु बाँचेको यो माटो र पानीको पूजा नै भुमे पूजा हो ।
रुकुम पूर्वको भुमे गाउँपालिकाका वडा नं. ६ महतका विक्रम पुनका अनुसार हरेक वर्ष जेठको जेठ १५ गते भुमे पर्व फुकाएपछि यसको आरम्भ हुन्छ । यसअघि गाउँका मुखिया कहाँ गएर अनुमति माग्ने र बाजा बजाउनेसँग बाजा बजाउन अनुरोध गर्ने गरिन्छ । अनि यही रातदेखि सुरु हुन्छ रुकुम पूर्वका मगर वस्तीस्हरुमा भुमेको रमझम् ।
‘जेठ १५ गतेबाट गाउँका युवा–युवतीहरु हर साँझ मध्य गाउँमा भेला भएर भुमेको चाल र भाकामा नाच्छन्, रमाउँछन् । ताकी नाचमा निखारता आओस्,’ महतकै चलनबारे बताउँदै उनी भन्छन्, ‘यसपछि जेठ मसान्तको अघिल्लो दिन लेक उक्लिने दिन । गाउँभरीका अग्रज, दाजुभाई र दिदीबहिनी सबै मिलेर बाजागाजा बजाउँदै लेकतिरको यात्रा तय गर्छन् ।’
साथै गाउँदेखि केही माथी पुगेर बासबस्ने चाँजोपाँचो मिलाइन्छ । बिचमा आगो बालेर वरीपरी लहरै लागेर त्यहीँ आगो ताप्दै रातभरी रमाइलो गरिन्छ । कतिबेला मौलिक भाकामा नाचगान त कतिबेला लोकदोहोरीका चुट्का । यो रातभरी नै चलिरहन्छ । अँध्यारो रातमा, घना जंगल माझ बाजाको तालमा, सुरिलो भाका गुञ्जिरहन्छ ।
यसरी रातभरी जागराम बसेपछि बिहानपख झिसमिसेकै यो टोली अझै उकालो लाग्छ । किनकी फुल टिप्ने ठाउँ त भेटिएकै छैन । मसान्तको दिन फुल टिप्ने साइतको दिन हो । अघिल्लो दिन यहाँ आएर बास बसेपछि यसदिन फुल टिपेर गाउँ फर्किन भ्याईन्छ भनेर यसो गरियो । यहाँबाट केही उकालो हिँडेपछस बिचमा एउटा भुमेको थान भेटिन्छ ।
गाउँकै चेली अर्थात कन्याले उक्त थानमा ध्वजा लगाइदिन्छिन् । अनि भुमे पूजा गरेर टोली अझै अगाडि बढ्छ । अब फुल टिप्ने बेला हुन्छ । लहरै लागेर बुकी फुल टिप्ने अनि त्यही फुल शिरमा शिउरिएर रमाउने बेला हुन्छ ।
भुमेका बेला यसरी फुल टिप्ने महतसँगै जिल्लाका विभिन्न मगर वस्तीहरु सबैतिरको परम्परा भएको भुमे गाउँपालिका पूर्व अध्यक्ष रामसुर बुढा बताउँछन् ।
‘भुमे पर्वको सौन्दर्य हो । आपसी सद्भाव बढाउने एक बहाना हो,’ उनी थप्छन् । फुल टिपेर बजागाजासहित ओरालो झर्ने अनि त्यही दिन गाउँ पुग्ने । गाउँमा एउटा खरदारी समूह हुन्छ । त्यही समूहले लेकबाट फूल टिपेर आएकालाई स्वागत गर्न महतगाउँ केही माथीसम्म पुग्छ । अनि सबै सँगसँगै गाउँ पुग्छन् ।
यस दिन ‘बाढि–पहिरो नजाओस्, उत्पादन राम्रो होस् र प्रकृतिको जय होस्, भुमेको जय होस् ।’ यही कामना गर्दै संगुरको बली पनि दिने चलन रहेको पूर्व अध्यक्ष बुढाको भनाइ छ । अनि लेकबाट ल्याएका बुकी फूल शिरमा लगाएर भुमे नाच नाच्न लहरो बनाइन्छ र नाच्नगाउन सुरु हुन्छ ।
यो भेगका लागी भुमे एक चाड, एक बहाना अनि एक बृहत परिचयका रुपमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीको भनाइ छ । यही रमझम् र रौनकमा यतिबेला रुकुम पूर्वका खासगरी मगर खाम भाषीहरुको बसोबास रहेको स्थान रंगिएको छ ।
भुमे पर्वको अवसरमा असार १ लम्बिनी प्रदेश सरकारले रुकुम पूर्वसँगै रोल्पा, दाङ र प्युठान जिल्लामा सार्वजनिक बिदा समेत दिने गरेको छ । साथै भुमे गाउापालिकाले हरेक बर्ष आयोजना गर्ने ‘भुमे साास्कृतिक महोत्सव तथा खुला प्रतियोगिता २०७३’ यसबर्ष आज असार २ गतेदेखी आयोजना गरिएको गाउँपालिका अध्यक्ष होम प्रसाद श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो भुमे, हाम्रो पहिचान, स्थानीय भाषा, कला संस्कृतिको जगेर्ना हाम्रो अभियान । भन्ने मूल उद्घोषका साथ कार्यक्रमको आयोजना गरिएको छ,’ उनले भने, ‘यस कार्यक्रममा भुमे, धङ्गे (नचारु) नाच, मयुर नाच, डिग्रे (पैसेरु) नाच, झेरेल्नी नाच, फाक गित, लस्के गीत, सिंगारु नाचको प्रतियोगिता समेत आयोजना गरिएको छ । र भोलि हाम्रो पालिकाले स्थानीय बिदासमेत दिएको छ ।’
भुमेको यो रमझम् असार ५ गते दान–दक्षिणा दिएर यस वर्षका लागि भुमे पर्वको समापन विधिवत् रुपमा सम्पन्न गरिन्छ ।
