रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित

६ जना प्रतिस्पर्धीमध्ये पहिलो चरणमा कसैको बहुमत नपुगेपछि सबैभन्दा धेरै मत ल्याउने उमेदवारलाई दोस्रो प्रतिस्पर्धीले समर्थन गर्दै सभापति घोषणा गरिएको हो ।

जेष्ठ ३१, २०८३

घनश्याम

Shalikram Ghimire of Rupandehi elected as Lumbini Province President of RSVP

What you should know

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशका अध्यक्षमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित भएका छन् । उनी निवर्तमान उपसभापति हुन् । दाङको घोराहीमा शनिबारदेखि जारी अधिवेशनमा सभापति पदका ६ जना प्रतिस्पर्धी थिए । पहिलो चरणको निर्वाचनमा शालिकराम घिमिरेले १ सय ९९ मत प्राप्त गरेका थिए ।

प्रतिस्पर्धामा दोस्रो हुने गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए । रास्वपाको विधानमा सभापति पदको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ । पहिलो चरणमा प्रतिस्पर्धी मध्ये सबै भन्दा धेरै मत ल्याएका शालिकरामलाई दोस्रो मत प्राप्त गर्ने गोपालले समर्थन गरेपछि दोस्रो चरणको निर्वाचन नगरी शालिकरामलाई सभापति घोषणा गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार निर्वाचनमा ५ सय ५२ मत खसेको थियो । त्यस अनुसार निर्वाचित हुन कुनै एक उमेदवारले २ सय ७७ मत प्राप्त गर्नुपर्ने विधानमा व्यवस्था भए पनि पहिलो र दोस्रो हुनेको सहमतिमा दोस्रो प्रतिस्पर्धीले पहिलो प्रतिस्पर्धीलाई समर्थन गरेकाले दोस्रो चरणको निर्वाचनमा जान आवश्यक नरहेको बताए ।

‘पहिलो चरणको मतदानबाट दोस्रो धेरै मत प्राप्त उमेदवारले सबै भन्दा धेरै मत प्राप्त गर्ने उमेदवारलाई समर्थन गर्नु भएको छ,’ उनले भने, ‘त्यो भए पनि दोस्रो चरणको निर्वाचनमा जान जरुरी देखिएन, सबैभन्दा बढी मत प्राप्त गर्ने उमेदवारलाई नै सभापति निर्वाचित गरिएको हो ।’

पहिलो चरणको निर्वाचनमा सभापति पदका अन्य प्रतिस्पर्धीहरु रूपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रूपन्देहीका मञ्जु भुसालले ७१ र रूपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए । सबै भन्दा धेरै मत प्राप्त गर्ने घिमिरे प्रदेशका निवर्तमान उपसभापति हुन् । उनी रास्वपा स्थापनाकालदेखि पार्टीमा प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै उपसभापति बनेका थिए । 

त्यस्तै गोपाल घिमिरे केन्द्रीय विभागका सदस्य हुन् । प्रतिस्पर्धी मध्ये शालिकराम सभापति रवि पक्षबाट र गोपालले वरिष्ठ नेता वालेन्द्र पक्षबाट उमेदवारी दिएको रास्वपाका कार्यकर्ताहरुले जनाएका छन् । त्यस्तै तेस्रो स्थानको मत प्राप्त गरेका गणेश पौडेल र राजकुमार सुवेदी रवि पक्षका हुन् । गोपालसहित रूपन्देहीबाट प्रतिनिधि सभा सदस्य रहेकी मन्जु भुसाल र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका सल्लाहकार रहेका मधु अर्याल वालेन्द्र पक्षका हुन् । 

रास्वपा रूपन्देही सभापति डा. बुद्धिप्रसाद शर्माले सहकार्य र एकताको सन्देश दिने गरी लुम्बिनी प्रदेश सभापति पदको दोस्रो चरणको मतदान नगराएर प्रतिस्पर्धी भन्दा दोब्बर मत ल्याएका शालिकराम घिमिरेलाई दोस्रो प्रतिस्पर्धी मत प्राप्त गर्ने गोपाल घिमिरेको समर्थनमा सभापति निर्वाचित गरिएको बताए ।

‘अब उपसभापति, महामन्त्री र दुई जना सहमहामन्त्रीलाई पनि सर्वसम्मत गराउने प्रयास जारी छ,’ उनले भने, ‘सहमति नभए निर्वाचनबाटै आइतवार नै टुंगो लाग्नेछ ।’ रास्वापको लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि दाङको घोराहीमा जारी छ ।

घनश्याम

Link copied successfully