सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा सामाजिक विकास डिभिजन कार्यालयमार्फत प्रदेशका १२ वटै जिल्लामा किशोरीहरूलाई यस्तो आत्मरक्षा तालिम संचालन गरेको हो ।
What you should know
पाल्पा — गुल्मीको मुसीकोट नगरपालिका–६, भुवाचिदी कुर्घाकी विमला कुमाललाई ढेड महिनाअघिसम्म एक्लै हिँड्दा मनमा डरले सताउँथ्यो । पछाडिबाट कोही आइहाल्छ र समाती पो हाल्छ कि भन्ने हुन्थ्यो । अझ मुलुकका विभिन्न भागमा बलात्कार, यौनजन्य हिंसाका घटना सामाजिक सञ्जाल र समाचारमा पढेकाले पनि सुनसान बाटो एक्लै हिँड्दा मनमा अनेकन् कुरा खेल्थे । तर उनलाई यतिबेला भने यस्तो कुराले मनमा डर, त्रास हटेको छ । ४५ दिनसम्म सिकेको सीप अर्थात् आत्मरक्षा तालिमले आफूलाई निडर बनाएको उनले सुनाइन् ।
‘पहिला मैले केही पनि जानेकी थिइनँ,’ कक्षा ११ मा अध्ययनरत उनले भनिन्, ‘त्यही भएर मनमा डर पलाउँथ्यो । तर अहिले भने त्यस्तो केही पनि हुँदैन । ढुक्कसँग हिँड्न सक्ने भएकी छु ।’
शिक्षक तथा अन्य विद्यार्थीमाझ अनुभव सुनाउँदै उनले यौनजन्य हिंसा भइहाले प्रतिकार कसरी गर्ने भन्नेबारेमा आफू जानकार भएको बताइन् । आफूमाथि छेडखानी प्रयास भए कसरी जोगिने भन्ने सिकेको उनले खुलस्त सुनाइन् । ‘धेरै साथीहरू मेरा कुरा सुन्न र जान्न उत्सुक छन्,’ उनले भनिन्, ‘साथीहरूलाई यौनजन्य वा अन्य घटनाबाट जोगिन सिकेको सीप र शारीरिक अभ्यासबारे भन्ने गर्छु ।’
पाल्पाको दिव्यज्योति मावि कसेनी सराईकी किशोरी आरती सूर्यवंशी सार्वजनिक स्थानमा उभिएर बोल्न डराउँथिन् । तर अहिले प्रशिक्षकका रूपमा तयार भएकी छन् । उनले पनि ४५ दिनको तालिम प्राप्त गरेकी हुन् । ‘म अब शारीरिक अभ्यास गराउन सक्ने भएकी छु,’ कक्षा ११ की छात्रा उनले भनिन्, ‘पहिले मलाई अरूले केही भन्छन् कि भन्ने हुन्थ्यो । दुर्व्यवहार गर्लान् कि भनेर डर लाग्थ्यो । प्रतिरोध गर्ने आत्मविश्वास थिएन । अहिले भने शारीरिक तथा मनोवैज्ञानिक रुपमा बलियो भएकी छु ।’
भवितव्य आइहाले त्यसलाई शारीरिक र मानसिक रूपमा अब प्रतिकार गर्न सक्ने भएको अनुभव उनले सुनाइन् । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा सामाजिक विकास डिभिजन कार्यालयमार्फत प्रदेशका १२ वटै जिल्लामा किशोरीहरूलाई यस्तो आत्मरक्षा तालिम संचालन गरेको हो । सयौं किशोरीलाई भविष्यमा तालिम प्रदान गर्न सकियोस् भनेर प्रशिक्षक तयार पारेको मन्त्रालयले जनाएको छ ।
आत्मसुरक्षा तालिममा सहभागी पाल्पाका किशोरी ।
त्रिभुवन मावि भुवाचिदी कुर्घाका प्रधानाध्यापक जितबहादुर रायमाझीले आत्मरक्षा तालिमको सबैभन्दा राम्रो पक्ष नै किशोरीहरूलाई मनोबल बढाउने रहेको पाएको बताए । अधिकांश किशोरी तथा महिलामा समाजको डर र पुरुषभन्दा हामी कमजोर छौं भन्ने मानसिकताका कारण प्रतिवाद गर्ने आँट नगर्ने भएकाले यस्तो तालिमले आत्मबल बढाएको उनले बताए । ‘आत्मरक्षा तालिमले किशोरीको आत्मबल बढाउन ठूलो सहयोग पुगेजस्तो मलाई लागेको छ,’ उनले भने, ‘उनीहरूले सिकेको सीप र केही शारीरिक प्रतिरक्षाको समेत ज्ञान भएपछि उनीहरू समस्या परिहाले पनि उम्कन सक्छन् भन्ने लाग्यो ।’
४५ दिने तालिम संचालन गरेको दिव्यज्योति मावि कसेनीकी शिक्षक सीता श्रेष्ठले कसैले हात समात्यो भने कसरी बच्नुपर्दो रहेछ भन्ने अहिले बल्ल किशोरीले थाहा पाएका छन् । आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स’ गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ भन्ने विषयमा किशोरीले राम्रो जानकारी पाएको उनले बताइन् । यस्तै, आत्मरक्ष तालिमले कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर कसरी जाने भनेजस्ता कौशल सिक्न पाएको शिक्षक श्रेष्ठले बताइन् ।
पछिल्लो समय गाउँ समाजमा महिला हिंसा, बलात्कार, यौन दुर्व्यवहारका घटना बढेकाले यस्तो तालिमको आवश्यकता ठानेको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताए । त्यसैले पाल्पा र गुल्मीका दुई विद्यालयका विद्यार्थी तथा किशोरीलाई यस्तो तालिम दिएको उनले बताए । ‘तालिममा किशोरीहरूलाई आफूलाई प्रतिरक्षा गर्न कसरी सकिन्छ भन्ने ज्ञान दिइएको छ,’ उनले भने, ‘जसले गर्दा भोलिका दिनमा उनीहरूले अन्य विद्यार्थीलाई थोरै दिनको भए पनि प्रशिक्षण दिन सकून् भन्नेसमेत हो ।’
अहिले ४५ दिन तालिम पाएका किशोरीले आगामी दिनमा सामान्य आत्मरक्षा गर्ने टिप्स दिन सक्ने हुन्छन् । अनि बालिका र महिलामाथि हिंसा गर्नेको प्रतिकार गर्नसमेत सक्छन् । किशोरीहरूको मनोबल बढाएर महिला पनि पुरुषजत्तिकै बलिया छन् भन्ने आत्मविश्वास दिने काम गरेको प्रमुख घिमिरेले बताए । तालिमले किशोरीहरूलाई भावनात्मक रुपमा बलियो बनाएको आफूले पाएको दिज्यज्योति मावि कसेनीका प्रधानाध्यापक लोकेन्द्र थापाले बताए ।
विगतका वर्षमा पनि लुम्बिनी प्रदेशकै अन्य जिल्लामा स्थानीय तह, नेपाली सेना, विद्यालय आफैं र विभिन्न संघसंस्थाले समेत किशोरीलाई आत्मरक्षा तालिम संचालन गर्थे । तर पछिल्लो समयमा भने यसमा कमी हुँदै आएको थियो । रम्भा गाउँपालिका पाल्पाकी शिक्षा शाखा प्रमुख मीना आचार्यले जिल्लामै पहिलो पटक आत्मरक्षा तालिम संचालन गरेको बताइन् ।
रम्भाका विभिन्न विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई आत्मरक्षा तालिम दिइएको थियो । त्यसपछि विद्यालयहरूमा विद्यार्थी स्वयंले समेत तालिम चलाएको उनले बताइन् । जिल्लाका अन्य स्थानीय तहले पनि त्यसैको सिको गरेर तालिम संचालन गरेको उनले बताइन् । नेपाली सेनाले समेत तानसेनमा आत्मरक्षा तालिम संचालन गरेको थियो । जसमा झण्डै तीन सय सहभागी भएका थिए ।
