पाल्पाको माथागढी–१ का वडाध्यक्ष पन्थी पदमुक्त

वडाध्यक्ष राजकुमार पन्थीले आफू जेनजी आन्दोलनको पक्षमा लागेको र निर्दोष बालबालिका मार्न हुन्न भन्ने सन्देश दिएकै कारण कारबाहीमा परेको बताए ।

जेष्ठ २७, २०८३

माधव अर्याल

Ward chairperson Panthi of Mathagadhi-1, Palpa, removed from post

पाल्पा — माथागढी गाउँपालिका–१, चिदीपानीका वडाध्यक्ष राजकुमार पन्थी पदमुक्त भएका छन् । नेकपा एमालेबाट निर्वाचित पन्थीलाई अन्य दलमा प्रवेश गरेको आरोपमा पदमुक्त गरिएको हो । सम्बन्धित दलको जानकारीका आधारमा उनलाई पदमुक्त गरिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 

आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेकाले उनीहरूको पद स्वतः रिक्त भएको उल्लेख छ । पन्थीले भने आफू जेनजी आन्दोलनको पक्षमा लागेको र निर्दोष बालबालिका मार्न हुन्न भन्ने सन्देश दिएकै कारण कारबाहीमा परेको बताए । उनले सामाजिक सञ्जालमार्फत कुनै पनि दलमा प्रवेश नगरेको अवस्थामा कारबाही भएको जनाएका छन् । 

एमाले केन्द्रीय सचिवालयले जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि पद रिक्त भएको हो । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको बेहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था  छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully