बर्दियामा ११ महिनामा वन्यजन्तुको आक्रमणमा ११ जनाले ज्यान गुमाए

सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जेष्ठ २७, २०८३

कमल पन्थी

11 people lost their lives in wild animal attacks in Bardiya in 11 months

What you should know

बर्दिया — बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । 

सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए । ‘चालु आवको हालसम्म चितुवाको आक्रमणमा परी १७ र पाटे बाघको आक्रमणमा १ गरि १८ जना घाइते भएका छन्,’ उनले भने, ‘गत आर्थिक वर्ष ०८१/०८२ मा ४ जना चितुवा, एक गैंडा र एक जना हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।’ डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले ६ वटा समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको थियो । 

समस्याग्रस्त चितुवा नियन्त्रणमा लिए पनि अझै त्रास कम भएको छैन । गुलरिया, राजापुर, मधुवन, बारबर्दिया लगायत पालिकामा बेला बेलामा चितुवा गाउँबस्तीमा पस्ने गरेको छ । 

बर्दियासँग जोडिएको भारतीय सीमाना कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्जमा बाघको संख्या बढ्दै गएपछि चितुवा सामुदायिक वन हुदै गाउँबस्तीमा पस्ने गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फाहाम्फेले वनभन्दा बाहिर चितुवा सहजै आहारा पाउने आशामा गाउँबस्ती पस्ने गरेको बताए ।

‘निकुञ्जमा बाघको डरले चितुवा मध्यवर्ती क्षेत्र हुँदै बस्तीमा पस्ने गरेको छ, गाउँबस्तीमा पालिएका बाख्रा लगायत वस्तु भाउ खाने र ती आहारा नपाएपछि मानिस माथि आक्रमण गर्छ’, उनी भन्छन् । 

बर्दियामा चितुवाको गणना नभएकोले यसको एकिन संख्या नभएको बर्दिया निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully