लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा रामजी घिमिरे नियुक्त

नवनियुक्त स्वास्थ्यमन्त्री रामजी घिमिरे सरकारको प्रवक्तामा नियुक्त भएका हुन् ।

जेष्ठ २५, २०८३

घनश्याम गौतम

Ramji Ghimire appointed as spokesperson of Lumbini Provincial Government

बुटवल — लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा नवनियुक्त स्वास्थ्यमन्त्री रामजी घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ । त्यसैगरी, सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ । 

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन । बजेटकै समयमा मन्त्री फेरबदल गरेपछि सरकारको बजेट निर्माण प्रक्रियामा ढिलाइ भएको छ । सरकारले ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटको अन्तिम तयारी भएकाले त्यसमा गम्भीर ध्यान दिन मन्त्रीहरूलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिएका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully