बेलहियामा आँखा अस्पताल सञ्चालनमा

बेलहियामा ३२ करोड रुपैयाँ लगानीमा आधुनिक र सुविधासम्पन्न गौतम बुद्ध आई केयर सेन्टर सञ्चालनमा आएको छ

जेष्ठ २१, २०८३

दीपेन्द्र बडुवाल

Eye hospital in operation in Belahiya

What you should know

भैरहवा — रूपन्देहीको सिद्धार्थनगर–१, बेलहियामा ३२ करोड रुपैयाँ लगानीमा आधुनिक र सुविधासम्पन्न गौतम बुद्ध आई केयर सेन्टर (आँखा अस्पताल) सञ्चालनमा आएको छ । भारतीय सीमाबाट नजिकै आँखा उपचारका लागि आवश्यक सम्पूर्ण सुविधासहित अस्पताल सञ्चालनमा आएको हो । 

आँखा चिकित्सक अनादी खत्रीले विदेशमा उपलब्ध सेवा सहुलियत मूल्यमा भैरहवामै उपलब्ध गराउने उद्देश्यले ६ महिनाअघिदेखि अस्पताल सञ्चालनमा ल्याएको बताए । ‘छोटो अवधिमा १० हजारभन्दा धेरै बिरामीको आँखा जाँच गरिसकिएको छ,’ उनले भने, ‘अहिलेसम्म एक हजारको आँखाको शल्यक्रिया भइसकेको छ ।’

बुटवल–बेलहिया सडक खण्डसँगै निर्माण गरिएको आधुनिक तीनतले भवनमा अस्पताल सञ्चालन गरिएको छ । गर्मी ठाउँमा भएकाले भवनलाई पूर्णतया वातानुकूलित तुल्याइएको छ । जसले गर्दा बिरामी र कुरुवाले गर्मीबाट राहत महसुस गर्न सक्ने उनले बताए । ‘दुईवटा मोडुलर अपरेसन थिएटर छन्,’ उनले भने, ‘अपरेसन शुल्क पनि काठमाडौंमा भन्दा सस्तो रहेको छ ।’

उनका अनुसार पहिलो तलामा बिरामी दर्तादेखि रोग निदानका काम गरिन्छ । यस क्रममा अधिकांश जाँच मेसिनको सहयोगबाट हुँदै आएको छ । सबै मेसिन अटोमेटिक छन् । एउटा मेसिनको मूल्य २ देखि ३ करोड रुपैयाँभन्दा बढी रहेको उनले बताए । 

भैरहवाकै रण अम्बिका आँखा अस्पतालमा उनले 'फेलोसिप' गरेका थिए । त्यसपछि थप अध्ययनका लागि अमेरिका पढ्न गए । त्यहाँबाट फर्किएपछि भैरहवामा अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । अस्पतालमा आँखा उपचारमा १३ वर्षभन्दा लामाे समय सेवा गरिसकेकी चिकित्सक स्वेता सिंह क्षेत्री र आँखा उपचारमा ४० वर्षभन्दा लामाे समय सेवा गरेका डा. बालकुमार खत्रीकाे पनि लगानी रहेकाे छ । आँखा चिकित्सक मुना अहिले पनि अमेरिकामा आँखाको क्यान्सर उपचारसम्बन्धी अध्ययन गरिरहेकी छन् ।

मुना फर्किएपछि अस्पताल रहेकै ठाउँमा आँखाको क्यान्सर उपचार इन्स्टिच्युट र बालबालिकाका लागि छुट्टै अस्पताल सञ्चालन गर्ने योजना रहेको चिकित्सक खत्रीले बताए । निजी अस्पताल भए पनि सस्तो शुल्क लिने गरेको उनले बताए । ‘दुई सयको टिकट काटेपछि आँखाका सम्पूर्ण जाँच गरिन्छ,’ उनले भने, ‘हामीले विभिन्न उपचार प्याकेज तयार गरेका छौं । त्यस्ता प्याकेज अन्तको भन्दा १५/२० प्रतिशत सस्तो छन् ।’ 

परिवारका आधा दर्जनभन्दा बढी सदस्य आँखा चिकित्सक भएकाले सेवा भावनाले अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । आफ्नै लगानी भएकाले धेरै कमाउने भन्दा पनि नेपाल–भारतका बिरामीलाई सुलभ उपचार सेवा प्रदान गर्न नाकानजिकै अस्पताल सञ्चालनमा ल्याएको उनले बताए ।

दीपेन्द्र

Link copied successfully