धान रोपाइँको मुख्य समय नजिकिँदा पश्चिम नवलपरासीमा १८ हजार मेट्रिक टन युरिया मल आवश्यक भए पनि हाल ५ सय टन मात्र मौज्दात छ ।
What you should know
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ का भेषराज चौधरी मल पाउने आशमा हरेक दिन कृषि सहकारीमा धाउँछन् । ‘बीउ राख्न ढिलो भसकेको छ, मल पाउने निधो छैन,’ उनले भने ।
रामग्रामकै कलाउद्धीन अन्सारीको पीडा पनि उस्तै छ । ‘पोहोर वर्ष मल नपाएर भारतीय बजारबाट एक बोरा मल ल्याउँदा पाएको सास्ती सम्झिदा खेती नै नगरौं जस्तो लाग्छ,’ अन्सारीले भने,‘खेती नगरी के खाने ? जसोतसो गरेर खेती त गर्न पऱ्यो ।’
वर्षौंदेखि यही समस्या भोग्दै आएका किसानलाई गत वर्ष पनि जनप्रतिनिधिले आगामी वर्ष मलको अभाव नहुने आश्वासन दिएका थिए । तर, यस वर्ष पनि किसानले भने बीउ राख्ने बेला मल पाएका छैनन् । अब धान रोप्ने समयमा के हुने हो भन्ने अन्यौल छ । ‘बीउ राख्ने त थोरै चाहिने भएर गाईबस्तुको मल राखेर काम चलाइयो,’ स्थानीय किसान रमेश चौधरीले भने,‘अब धान रोप्ने र गोड्ने समयमा रासायानिक मल अत्यावश्यक पर्दछ । तर, पाउने निधो छैन ।’ पोहोर पनि चाहिने भन्दा आधा मात्र पाएको उनले बताए ।
कृषि सामग्री कम्पनीले जिल्लाका ७७ वटा सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । तर, माग अनुसार नआउँदा सहकारीलाई वितरण गर्न समस्या पर्दै आएको छ । गोदाममा मल हुँदा समेत कृषि सामग्रीले मल वितरण नगरेको र किसानले सहकारी घेर्ने चेतावनी दिइरहेको आदर्श कृषि सहकारी संस्था कुनवारका व्यवस्थापक सञ्जयकुमार सिंहले बताए ।
कृषि जान केन्द्र परासीका अनुसार जिल्लामा रोपाइँका लागि १८ हजार मेट्रिक टन युरिया, १२ हजार मेट्रिक टन डिएपी र ५ हजार मेट्रिक टन पोटास आवश्यक पर्ने गर्छ । तर, अहिले गोदाममा ५ सय मेट्रिक टन युरिया र २ सय मेट्रिक टन डिएपी मौज्दात रहेको छ । अहिले गोदाममा रहेको केही मात्राको मल असारमा धान रोप्ने समयमा किसानलाई वितरण गर्ने तयारी गरेको कृषि सामग्री कम्पनी परासी शाखाका प्रबन्धक ताराप्रसाद खनालले बताए ।
जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यसका लागि १८ हजार मेट्रिक टन युरिया र १२ हजार मेट्रिक टन डिएपी मलको माग छ । तर, आठ हजार मेट्रिक टन मात्र मलको आपुर्ति हुँदा किसानले हरेक वर्ष अभाव झेल्दे आएका छन् ।
