पर्यटन नीतिमा आमूल परिवर्तन खोज्दै बुटवल

निजी क्षेत्रले गर्ने लगानीमा उपमहानगरपालिका सहयोगी बन्ने नगर प्रमुखको दाबी ।

जेष्ठ १८, २०८३

घनश्याम गौतम

Butwal seeks radical change in tourism policy

What you should know

बुटवल — बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रूपन्देहीको आर्थिक विकासमा पर्यटनको पर्याप्त सम्भावना रहेकाले त्यसमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले निजी क्षेत्रको लगानीमा स्थानीय सरकार सहयोगी बन्ने प्रतिबद्धता पनि जनाए ।

रूपन्देही उद्योग संघको आयोजनामा सोमबार बुटवलमा भएको ‘रूपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती’ विषयक कार्यक्रममा राज्यकै कमजोरीले पर्यटन क्षेत्रबाट चाहेअनुसारको प्रतिफल आउन नसकेको पनि नगर प्रमुख पाण्डेयले बताए ।

‘बुद्धजन्मस्थल लुम्बिनी, आदिमानव रामापिथेकस, सामरिक महत्त्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक सांस्कृतिक महत्त्वका स्थलहरूलाई प्रचारप्रसार गर्दै पर्यटन आकर्षण गर्ने काममा निजी क्षेत्रले अग्रसरता लिनुपर्छ,’ उनले भने, ‘त्यसमा बुटवल उपमहानगरपालिका सहयोगी बन्न प्रतिबद्ध छ ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल, देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधैं अगाडि बढाउँदै आएको बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्येता तथा प्राध्यापक युवराज कँडेल, लुम्बिनी विश्वविद्यालयका विभागीय प्रमुख डा. श्रीप्रसाद भट्टराईले पर्यटन विकाससम्बन्धी छुट्टाछुटै अवधारणापत्र प्रस्तुत गरेका थिए ।

लुम्बिनीलाई शान्ति, ध्यान र आरोग्यको पर्यटकीय क्षेत्रका रूपमा विश्वभर परिचित गराउँदै रूपन्देही पर्यटनको गन्तव्य बनाउनुपर्नेमा धेरैले जोड दिएका थिए । छलफलमा स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै बुटवल ट्रान्जिट सहरका रूपमा विकास भएको हुँदा यहाँको कल्चर बुझाउँदै त्यसलाई सदुपयोग गरेमा पर्यटक आकर्षक गर्न सकिने सम्भावना रहेको पर्यटन बोर्डका सिनियर म्यानेजर घिमिरेले बताए । 

रूपन्देहीको पर्यटन क्षेत्रको अवस्थाका बारेमा अवधारणा राख्दै अध्येता कँडेलले पर्यटनको विकास गर्न सेवा र कथा जरुरी रहेको बताए। पर्यटन सूचना केन्द्रको आवश्यकता रहेको र व्यावसायिक संस्थाहरुबाट नै पर्यटनको विकासमा नयाँ पुस्तालाई जोडेर अघि बढाउन जरुरी भएको उनको सुझाव थियो । 

लुम्बिनी विश्वविद्यालयका विभागीय प्रमुख भट्टराईले पछिल्लो समयमा हाम्रा सांस्कृतिक धरोहर मठमन्दिर लगायतका आस्थाका केन्द्र नक्कली बनाउने (डेष्टिनेसन डुब्लिकेसन) विषयले मौलिक पर्यटनको विकासमा दीर्घकालीन र गम्भीर समस्या उत्पन्न हुने चेतावनी दिए । ‘पाल्पाको भैरवस्थान बुटवल ल्याउने, अर्घाखाँचीको सुपादेउराली कपिलवस्तुमा तयार गर्ने काम गम्भीर छ,’ उनले भने, ‘भोलि त्यसैको सिको गर्दै भारतले लुम्बिनी दिल्लीमा बनाइदियो भने हामीले विरोध गर्ने सामर्थ्य राख्न सक्छौं कि सक्दैनौं, त्यो गम्भीर छ ।’ होटल व्यवस्थापन र टुरिजम अध्ययन गर्ने विद्यार्थीलाई कक्षाकोठामा नभई होटलमा नै व्यावहारिक ज्ञान दिनुपर्ने उनले बताए ।

कार्यक्रममा पर्यटन नीतिमा आमूल परिवर्तन गर्दै नेपालमा घुम्ने पर्यटकको बसाइँ लम्ब्याउन सकेमात्र पर्यटनबाट राष्ट्रले लाभ लिन सक्ने र पर्यटकको बसाइँ लम्ब्याउने गरी प्याकेज योजना र प्रचारमा जोड दिन सुझाव दिएको रूपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । हाल नेपालमा विदेशबाट आउने पर्यटकको बसाइँ औसत १६ दिनभन्दा बढी रहेको बेला लुम्बिनीमा भने केवल डेढ दिनमात्र बस्ने गरेका छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully