गर्मीका कारण बाँकेमा ज्वरो, पखालालगायतका बिरामीको संख्या बढ्दै गएपछि भेरी अस्पतालको इमरजेन्सी वार्डमा चाप बढेको छ ।
What you should know
नेपालगन्ज — लगातार बढ्दै गएको तापक्रमले बाँकेमा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम ४२ डिग्री आसपास पुगेपछि बिरामी हुनेको सख्या बढ्दै गएको छ ।
गर्मी अत्यधिक बढेसँगै जनजीवन प्रभावित बनेको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिसहरु बिरामी पर्न थालेका छन् । भेरी अस्पतालको ओपीडी सेवा सार्वजनिक बिदाले बन्द भएका कारण इमरजेन्सी वार्डमा बिरामीको चाप बढेको छ ।
उपचारका लागि आएका बिरामीले अस्पतालको मूलद्वारमा रहेको इमेरजेन्सी कक्ष भरिने गरेको छ । गर्मीयाम सुरु भएपछि जिल्ला अस्पतालमा ज्वरो, झाडापखाला, पेट र टाउको दुख्ने, मधुमेह, उक्त रक्तचापलगायतका बिरामीको संख्या बढ्दै गएको हो । गर्मीयाम सुरु भएपछि भेरी अस्पतालको ओपीडी सेवामा सार्वजनिक बिदाका दिनबाहेक ५ सय जना बढी बिरामी उपचारका लागि आउने गरेको निमित्त सुपरिन्टेन्डेन्ट डाक्टर विवेककुमार महतोले बताए ।
भेरी अस्पतालको बहिरङ विभागमा दैनिक ५/६ सय जना हाराहारी उपचारका लागि आउने गरेकोमा हाल इमरजेन्सी वार्डमा दैनिक एक सय जना बढी उपचारका लागि आउने गरेका छन् । सार्वजनिक बिदामा ओपीडी सेवा बन्द हुने गरेकोले पनि इमरजेन्सीमा भर्ना हुनेको संख्या बढ्दै गएको उनले जनाए ।
गर्मी बढेसँगै भेरी अस्पतालमा पखाला, निमोनिया, ज्वरोका बिरामीको संख्या बढेको चिकित्सकले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा बृद्धबृद्धा बढी प्रभावित भएको भेरी अस्पतालका इमरजेन्सी कक्षका इन्चार्ज संकेत रिसालले बताए । गर्मी बढेसँगै नेपालगन्जमा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको उनले बताए ।
दिउँसो तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक रिसालको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका स्वच्छ तरल पर्दाथ सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सुझाए ।
भेरी अस्पतालमा ओपिडी खुलेका बेला दैनिक ५० जना हाराहारीमा मात्रै बिरामी उपचारका लागि आउने गरेका थिए । तर अहिले बिरामीको चाप ह्वात्तै बढेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले २०० जना र शुक्रबार दिउँसो २ बजेसम्म ६९ जनाले इमरजेन्सीमा उपचार गराएका थिए । शनिबार पनि इमरजेन्सीमा बिरामीको चाप भइरहेकाे अस्पतालले जनाएको छ । अस्पतालको इमरजेन्सी वार्डअन्तर्गत प्यारामेडिसिन इन्चार्ज मदन श्रेष्ठले गर्मी बढेसँगै ज्वरो, डिहाइड्रेसन, झाडापखालालगायतका बिरामी बढ्दै गएको बताए ।
जल तथा मौसम विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको छ । यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएको उनले बताए । अवस्थीले जेठ ७ मा यस वर्षको सबैभन्दा बढी ४१ दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । बुधबारयता भने तापक्रम घटिरहेको उनको भनाइ छ । अवस्थीका अनुसार सन् २०१२ जुन १४ मा नेपालगन्जमा सबैभन्दा बढी ४५ डिग्रीसम्म तापक्रम पुगेको थियो ।
