रूपन्देहीका उद्योगी एआईप्रति उत्सुक

उद्योग–व्यवसायमा एआईको उपयोगबारे बुटवलमा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षणमा जिल्लाभरका उद्योगी र व्यवसायी सहभागी थिए ।

जेष्ठ १२, २०८३

दीपेन्द्र बडुवाल

Rupandehi industrialists eager for AI

What you should know

भैरहवा — रूपन्देहीका उद्योगी–व्यवसायी कृत्रिम बुद्धिमता (एआई)को उपयोगप्रति उत्सुक देखिएका छन् । आफ्नो उद्यम–व्यवसायलाई एआई मैत्री तुल्याएर लाभ हासिल गर्न उनीहरूले रुचि देखाएका हुन् । एआईको सदुपयोगबाट कसरी व्यवसायलाई सफल तुल्याउन सकिन्छ भन्नेबारे उनीहरूले सिक्न थालेका छन् । 

उद्योग–व्यवसायमा एआईको उपयोगबारे दुई दिनअघि बुटवलमा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षणमा जिल्लाभरका उद्योगी र व्यवसायी सहभागी भए । उक्त प्रशिक्षणमा लगानीकर्ता, व्यवस्थापक र कर्मचारी सहभागी थिए । भर्खरै आफ्नो व्यवसाय सुरुवात गरेका युवा उद्यमी पनि एआई प्रयोगका लाभ बुझ्न कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले एआईका विशेषताबारे जिज्ञासा राखेका थिए । 

जिल्लामा ठूला उद्योग र व्यावसायिक प्रतिष्ठान रहेका छन् । तिनका कर्पोरेट कार्यालय संघीय राजधानीमा भए पनि अधिकांश व्यवस्थापक र कर्मचारी जिल्लामै छन् । जिल्लास्थित व्यवस्थापक र कर्मचारी एआईको प्रयोगमा अभ्यस्त छैनन् । त्यसैले उनीहरूलाई एआईको प्रयोगबारे सिकाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको जिनियस टक नेपालका सीईओ कृष्ण साहले जानकारी गराए । उनका अनुसार भारतबाट आएका एआई प्रशिक्षक परितोष शर्माले उद्योगी व्यवसायीलाई एआईको प्रयोगबाट कसरी व्यवसाय वृद्धि गर्न सकिन्छ भन्नेबारे सिकाएका थिए । 

कार्यक्रममा सहभागी लगानीकर्ताले आगामी दिनमा पनि प्रविधिको सकारात्मक प्रयोगबारे व्यावहारिक कक्षा सञ्चालनका लागि जोड दिएका थिए । ‘एआईको प्रयोग नगरी सुखै छैन,’ ई–ड्राइभ लुम्बिनीका सञ्चालक राजकुमार गुप्ताले भने, ‘कसरी हुन्छ आफ्नो व्यवसायलाई अटोमोसनमा लैजानुपर्छ ।’ पछिल्लो समय एआईको प्रयोगले जनशक्तिको अभाव टार्न थालेको छ । यसको सकारात्मक उपयोगबाट एक्लै व्यक्तिले धेरै जनाको काम गर्न सकिने उनले बताए । उत्पादन, व्यापार, खरिदबिक्री र ब्रान्डिङका काम एआईबाट भइरहेको उनले बताए । 

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले एआईको प्रयोगबाट आफ्नो प्रतिष्ठानले लिन सक्ने लाभ र कर्मचारीको दक्षता विकासबारे प्रश्न सोधेका थिए । एआईको कर्मचारीको जीवन पद्धतिसित कसरी तालमेल गराउन सकिन्छ भनेर चासो दिन्कुा साथै आगामी दिनमा उद्योगले यसलाई कसरी आत्मसात् गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए । युवा उद्योगी सुरज उप्रेतीले एआईको आवश्यकता र सम्भावनाबारे जानकारी भए पनि व्यावहारिक जीवनमा यसको उपयोग गर्न बाँकी रहेको बताए । प्रशिक्षण कार्यक्रममा स्प्रिङबेस डट एआईका संस्थापक भरत गोल्छाले आफ्नो कम्पनी र यसले प्रदान गर्ने सेवाबारे जानकारी गराएका थिए ।

दीपेन्द्र

Link copied successfully