दुई सातामा च्याउ सेवन गरेर तीन जनाको मृत्यु, १७ बिरामी
What you should know
पाल्पा — जंगली विषालु च्याउ सेवन गरेर बिरामी परेका तानसेन नगरपालिका–८, मदनपोखरा कोकलका एक बालकको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका ८ वर्षीय अनुप रानाको उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो । पाल्पामा च्याउ सेवन गरेका १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्थानीय तहका स्वास्थ्य शाखाहरूले जनाएका छन् ।
पाल्पाको मिसन अस्पतालमा ४, लुम्बिनी मेडिकल कलेजमा ७, भरतपुर मेडिकल कलेजमा दुई जनाको उपचार भएको हो । मिसन अस्पतालमा तानसेन नगरपालिका–११, भालुवन घर भई तानसेन नगरपालिका–४, बस्दै आएका एकापरिवारका तीन जनाको उपचार भइहेको छ । चार जना बिरामी परेकामा एक जना चार वर्षीय बालक लोक्सना कुँवर उपचारपछि घर फर्केका छन् ।
च्याउ खाएर बिरामी परेपछि मिसन अस्पतालमा १२ वर्षीय कृष्टिना कुंवर, २४ वर्षीय सिर्जना कुँवर र ३२ वर्षीय पार्वती कुंवरको उपचार भइरहेको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए । उनीहरूको बुधबारदेखि नै उपचारका चलिरहेको छ । सबै जना एउटै परिवारका हुन् । मिसन अस्पतालमै रम्भा गाउँपालिका–५, ताहुँ खलकुनकी ५० वर्षीया यानुमाया जर्घाको उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको अस्पतालले जनाएको छ । गत जेठ १ गते जंगलबाट च्याउ ल्याएर खाएकी उनीलगायत तीन जना बिरामी परेपछि ताहुँस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
ताँहु खलकुनकै थप दुई जनाको मृत्यु भइसकेको छ । ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको हो । दुबै जनाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको थियो । कामुमगरको ४ गते र खाम्चाको ५ गते मृत्यु भएको अस्पतालले जनाएको हो ।
तानसेन नगरपालिका स्वास्थ्य शाखाका अनुसार तानसेन नगरपालिका–८, मदनपोखरा कोकलका ५९ वर्षीय नेत्रबहादुर राना, ४७ वर्षीय भिमिसरा राना, ४८ वर्षीय मनकुमारी राना, ४७ वर्षीय धनीसरा राना, ३२ वर्षीय नारायण राना, ३२ वर्षीय एलिसा राना, ३८ वर्षीय दिपक विकसमेत जंगली च्याउ खाएर बिरामी परेका थिए । तानसेन नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक चन्द्रतारा बस्यालका अनुसार च्याउ सेवन गरेर बिरामी परेकाहरूको घरमै पुगेर सोधपुछ गरिएको छ ।
उनीहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचार गरिएको हो । ‘हामीले जंगली च्याउ खाँर्द नखान आग्रह गरिएको छ,’ उनले भने, ‘अहिले अन्य बिरामीको अवस्था सामान्य भए पनि यसले ज्यान सक्छ भन्ने जानकारी दिएका छौं ।’ उता, निस्दी गाउँपालिका–४, मित्याल भीरपानीका ६२ वर्षीय धनबहादुर परियार र ६५ वर्षीया उर्मिला परियारको चितवनस्थित चितवन मेडिकल कलेजमा आईसियुमा उपचार भइरहेको छ । च्याउ खाएर बिरामी परेका उनीहरूलाई मध्यविन्दु अस्पताल नवलपुरमा उपचारका लागि लगिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरका अनुसार मध्यविन्दु अस्पतालले रिफर गरेर चितवन पठाएको हो । उनका अनुसार भीरपानी घर भए पनि बेंसी (अरुणखोलातर्फ) गोठमा बस्दै आएका थिए । मगरी भाषामा ‘ग्वारु मुगन’ भन्ने जातको च्याउ खाएर उनीहरू बिरामी परेका थिए । हेर्दा गुच्छा जस्तो देखिने र खाँदा मिठो हुने भएकाले गाउँमा यस्ता च्याउ सेवन गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख दिशा मगरले बताए । पाल्पामै माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टाका विषालु च्याउ खाएर बिरामी परेका चार जना उपचारपछि घर फर्केको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले बताए ।
ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर पुजन श्रेष्ठका अनुसार च्याउ सेवन गरेर बिरामी परेकाहरूलाई ७२ घण्टासम्म आईसियुमा उपचार गर्नुपर्छ । तर अस्पताल जानै नमान्ने समस्या रहेको उनले बताए । ‘हामीले स्वास्थ्य शिक्षा दिने सबै स्वास्थ्यकर्मीलाई जंगली च्याउ खादै खानु हुदैन भनेर सम्झाउन लगाउने गरेका छौं,’ उनले भने, ‘एक पटक सेवन गर्दा केही भएन भनेर पटक पटक सेवन गरेका हुन्छन् । फरक फरक च्याउनको फरक फरक स्वाद र विषादी हुन्छ भन्ने हामीलेसमेत छुट्याउन सकिदैन ।’
अधिकांश च्याउ सेवन गर्ने बिरामीको लक्षण पखाला लाग्ने, बान्ता आउने हुन्छ । बिस्तारै कलेजो लगायत भित्री अंगले काम गर्न नसकेपछि बिरामीको मृत्यु हुने उनले बताए । ‘कतिपय बिरामीलाई उपचारपछि सुधार पनि आउने गर्छ,’ उनले भने, ‘तर अधिकांशको अवस्था भन्न सकिने हुँदैन ।’ त्यसैले स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखाले ‘जंगली च्याउ खाँदै नखानू’ भन्ने सचेतनामुलक कार्यक्रम संचालन गरेका छन् । मिसन अस्पतालले सन्देशमुलक सूचना प्रवाह गर्दै जंगलको च्याउ सेवन गर्दै नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयले सबै स्थानीय तहलाई स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्न आग्रह गरेको छ । कार्यालयले जंगलका कुनै पनि च्याउ नखान अपिल गरेको हो । स्वास्थ्य शाखाले विद्यालय, समुदायमा पुगेर सचेतनामुलक कार्यक्रम गरेको जनाएका छन् । तानसेन नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिकाले विद्यालयमा शिक्षा दिनुका साथै अभिभावकलाई भेटर जानकारी गराएको छ । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली मदनपोखराको कोकलमा पुगेर बिरामीको अवस्था जानकारी लिए । उनीहरूले आगामी दिनमा जंगलबाट खोजेर ल्याएको च्याउ सेवन गर्न नहुने सम्झाएका छन् । च्याउ टिप्ने, बेच्ने र पकाएर खाने काम नगर्न स्वास्थ्य शाखाहरूले आग्रह गरेका हुन् ।
वनजंगलमा आफै उम्रेका रैथाने या जंगली च्याउहरू अत्यन्त विषालु हुन सक्ने भएकाले यसमा सचेत रहन चिकित्सक श्रेष्ठले आग्रह गरे । कुन च्याउ खान हुने र कुन नहुने भनेर सजिलै छुट्याउन सकिदैन । ग्रामीण भेगमा च्याउ पहिलेदेखि खाने प्रचलन रहेको छ । तर विषालु हो या होइन चिन्न गाह्रो छ । खाइरहेको च्याउ पनि कुनै बेला विषालु हुन सक्ने चिकित्सक श्रेष्ठले बताए ।
