फोहर संकलन खुला दौड प्रतियोगिता सम्पन्न । प्रतियोगिताअन्तर्गत एक घन्टामा ७ क्विन्टल ६० किलो फोहर संकलन भएको छ ।
What you should know
कपिलवस्तु — प्रतियोगिताको नाम दौड राखिएको छ । तर, सबैले हातमा पन्जा र मुखमा मास्क लगाएका छन् । सबैका हातमा बोरा छन् । सानादेखि ठूला सबैले बोरा बोकेर दोडादौड गरिरहेछन् । बाटोको दायाँबायाँ भेटिएका फोहर बस्तु संकलन गर्दै हस्याङफस्याङ दौड्दै छन् । यो दृश्य हो जिल्लाको सुदूरपश्चिममा पर्ने विजयनगर गाउँपालिकाद्वारा आयोजित फोहर संकलन खुला दौड प्रतियोगिताको ।
फोहर संकलन गर्न सचेतना जगाउने उद्देश्यले गाउँपालिकाद्वारा बिहीबार आयोजित प्रतियोगितामा एक घन्टामा ७ क्विन्टल ६० किलो फोहर संकलन भएको छ । बालबालिकादेखि समुदायका अगुवालाई कुन कुन बस्तु फोहर हुन् भन्ने चिनाउँदै फोहर संकलन गर्न उत्प्रेरित गर्ने र गाउँटोललाई सरसफाइ गर्न उत्प्रेरित गर्ने उद्देश्यले समुदायलाई फरक ढंगले परिचालित गरेर उत्साहित बनाउन कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ ।
७ वर्षे बालिकादेखि ६२ वर्षे वृद्धसम्म सहभागी भएको कार्यक्रममा निर्धारित समयमा धेरै फोहर बस्तु संकलन गर्ने तीन जनालाई नगद पुरस्कार दिइएको थियो । प्रतियोगितामा सबैभन्दा धेरै ९४.२४ किलो फोहर बस्तु संकलन गरेर जम्मा गर्ने विवेकसिंह चौधरी प्रथम भए । त्यस्तै ६१.६६ किलो फोहर सकलन गर्ने अहमद हुसेन दोस्रो भए । त्यस्तै ५७.२७ किलो फोहर संकलन गर्ने असफाग अहमद तेस्रो भए । तीनै जनालाई गाउपालिका अध्यक्ष गोपाल थापाले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेका थिए । 
बिहीबार बिहान ८ बजे गाउँपालिकाको पत्थरदेइयास्थित जनता आधारभूत विद्यालयबाट सुरु भएको दौड जगदीशपुर प्रहरी चौकी पुगेर समापन भएको थियो । एक किमि ८ सय मिटर दूरीको बाटोमा पर्ने तीन गाउँ र दायाँबायाँका घरका छेउकुनामा भएको फोहर संकलन गरिएको हो । नकुहिने फोहर, प्लास्टिक, सिसा, जुत्ता–चप्पल, बोतल, गुट्काका टुक्रा संकलित गरिएको थियो । प्रचण्ड गर्मीमा पनि स्थानीयले असिनपसिन हुँदै फोहर संकलन गरेका थिए । फोहर संकलनका लागि बोरा गाउँपालिकाले उपलब्ध गराएको थियो ।
एकै जनाले ३ बोरासम्म फोहर संकलन गरेका थिए । फोहर गाउँपालिकाले ट्रयाक्टरमा राखेर डम्पिङ साइटमा लगेर नष्ट गरेको छ । नौलो र रोचक कार्यक्रम हुँदा गाउँलेले पनि चाख मानेर हेरेका थिए । 
यस्ता सन्देशमूलक कार्यक्रमले फोहर सरसफाइ हुने, समुदायले आफैं गर्न सक्छ भन्ने सन्देश गएको देखेर उत्साहित हुने भएकाले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘यस वर्ष कार्यक्रम निकै प्रभावकारी भयो,’ उनले भने, ‘अब अर्को वर्षमा यसलाई वडासम्म विस्तार गर्नेछौं ।’ फोहर संकलन खुल्ला दौड प्रतियोगिता प्रतिस्पर्धाभन्दा पनि एकता, सद्भाव र समन्वयले स्वतस्फूत रूपमा गाउँ, टोल र बस्ती सरसफाइ हुन सक्ने सकारात्मक सन्देश गएको गाउँपालिकाका प्रमख प्रशासकीय अधिकृत हिमालाल विश्वकर्माले बताए । खेलको अनुभव हुने, शारीरिक श्रम हुने भएर स्वँस्थलाई पनि फाइदा पुग्ने हुँदा धेरैको चासो रहेको उनले बताए । 
विद्यार्थी र बालबालिकालाई परिचालन गरेर फोहर संकलन गर्दा उनीहरूबाट अभिभावक र समुदायले समेत सिक्ने अवसर पाउने हुँदा कार्यक्रम विद्यार्थी लक्षित गरेर संचालन गरिएको गाउँपालिकाका खानेपानी तथा सरसफाइ संयोजक अर्जुन बेल्बासेले बताए । विद्यार्थी र बालबालिकामार्फत सचेतना गरियो भने घर, परिवार, समाज, वडा र पालिकासम्मले सिक्ने अवसर पाउने हुँदा यो नमुना कार्यक्रम गरिएको उनले बताए । ‘घर–आँगन आसपासका फोहर हटेपछि गाउँ–बस्ती नै चिरिच्याट्ट देखिएका छन्,’ उनले भने ।
प्रतियोगिता सुरु हुनुअघि यसका नियम सुनाइएको थियो । सहभागी ४० जनालाई लुगा धुने र नुहाउने दुईवटा साबुन दिइएको थियो । नयाँ र सन्देशमूलक कार्यक्रमले फोहर संकलन गरेर सरसफाइ गर्दा निकै उत्साहित भएको आधारभूत विद्यालय नेवलागन्जमा कक्षा ९ मा पढ्ने सपना विकले बताइन् । ‘के के कुरा फोहर हुन्, तिनलाई कसरी संकलन गर्ने भन्ने कुरा यस दौड प्रतियोगिताबाट सिक्न पाइयो,’ उनले भनिन्, ‘अब घरटोल सफा गर्न उत्साहित भएर लाग्छु ।’
विजयनगर गाउँपालिकाले सरसफाइसम्बन्धी रचनात्मक काम गर्दै आएको छ । यसअघि पनि बाटोमा दिसापिसाब गर्नेलाई जरिवाना तिराउनेदेखि साप्ताहिक रूपमा आफ्नो गाउँटोल आफैं सफा गर्ने कार्यक्रम संचालन गर्दै आएको थियो । यसले गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख स्थानीय तह बनाउन सहयोग पुर्याएको पालिका अध्यक्ष थापाले बताए ।
