गाउँ र सदरमुकाम बाहेक बुटवल, कपिलवस्तु, भैरहवा, दाङ, गुल्मी, प्यूठान, पाल्पा लगायतका जिल्लामा पनि यहाँबाट रिजर्भमा ट्याक्सी गुड्ने गर्छन् ।
What you should know
अर्घाखाँची — जिल्लाको मालारानी गाउँपालिका–५ बाँगी भडारका युवा ईश्वर कुँवरलाई ट्याक्सीमा यात्रु बोक्न भ्याइनभ्याइ छ । रात होस् या दिन, मोबाइलमा घण्टी बज्नासाथ लोकेसन सोधेर उनी दौडिहाल्छन् ।
गाउँ र सहरबाट बिरामी अस्पताल पुग्नेदेखि विवाह, पूजापाठ, शक्तिपीठमा घुम्ने पर्यटक, साथीभाइ भेटघाट, सदरमुकामका सरकारी कार्यालय, पालिका र वडामा काम परेकाहरूले कुँवरलाई फोन गरेर बोलाउँछन् ।
गाउँमा कोही अप्ठ्यारो र बिरामी पर्दा मध्यरातमा उठेर ट्याक्सी लिएर घरमै पुग्छन् । उनले यसरी सेवा दिन थालेको ६ वर्ष बितिसक्यो ।
‘टोल र घरघरमा पुग्ने बाटा कच्ची छन्, मुख्य सडक कालोपत्र र ग्राभेल छन्,’ कुँवरले भने, ‘सबैमा पुगेर यात्रुलाई गन्तव्यमा पुर्याउँछु । गाउँमा बिरामीलाई मध्यरातमा पनि अस्पताल पुर्याएको छु ।’ सडक सुविधाले यात्रा छोटो भएको पनि उनले बताए ।
‘हामी बाल्यकालमा घरबाट सदरमुकाम सन्धिखर्क पैदल आउजाउ गर्न एक दिन पूरै लाग्थ्यो,’ उनले भने, ‘अहिले त ३०/३५ मिनेटमै पुगिन्छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन रुट हो, कालोपत्र भएपछि त १५ मिनेटमै पुगिन्छ ।’ गाउँमा रहेका धार्मिक मठमन्दिर, प्राकृतिक संरचनासहित घुम्ने गन्तव्यमा पनि पर्यटकलाई पुर्याउने गरेका छन् । 
कँवरले पढ्दा पढ्दै भडारको गाउँमा स्कुल नजिकै चिया र खाजा पसल सञ्चालन गरे । हेर्दाहेर्दै टोलैपिच्छे सडक खनिए । त्यसपछि ती सडकमा छिटफुट ट्याक्सी गुडेको देखे । उनको मन मोडियो, अर्को पनि व्यवसाय गरौं । ट्याक्सी किनिहाले । ६ वर्ष ट्याक्सीको कमाइले गाउँमै पक्की घर बनाए । श्रीमतीले किराना तथा गल्ला र खाजा पसल चलाउँछिन् । उनी गाडी चलाउने समय बाहेक घरमै बसेर व्यापारमा सघाउँछन् । ‘गाउँमा यात्रु बोकेरै महिनामा ४० देखि ६० हजार रुपैयाँ बचत गर्छु,’ उनले भने, ‘पसल र गाडीले मलाई विदेश जानेतिर ध्यान मोडेन । दुवै जनाले आफ्नै बिजनेस गरेका छौं, गाउँमा सबैले ईश्वर भाइ/दाइ, अंकल, छोरो भनेर माया गर्छन् । मलाई यहीँ नै आनन्द छ ।’
गाउँ र सदरमुकाम बाहेक बुटवल, कपिलवस्तु, भैरहवा, दाङ, गुल्मी, प्यूठान, पाल्पा लगायतका जिल्लामा पनि यहाँबाट रिजर्भमा ट्याक्सी गुड्ने गर्छन् ।
कविर गाउँका केशव खनालले प्रमुख जिल्ला अधिकारीको गाडी चलाउँथे । दशकसम्मको जागिर छाडेर उनले डेढ वर्षदेखि ट्याक्सी किनेर चलाएका छन् । ‘जागिर आफ्नो ठाउँमा ठीक होला तर आफ्नै गाडी बिजनेस भनेको स्वतन्त्र पेसा हो,’ उनले भने, ‘सबै काम स्वतन्त्र रूपमा गर्नुपर्छ । मलाई जागिर भन्दा ट्याक्सी पेसा नै ठीक लागेको छ ।’
गाउँका मुख्य सडक कालोपत्र भइसकेका छन् । भित्र टोलका बाटा कच्ची भए पनि ट्याक्सी चल्छन् । ‘बेलुका घरमा बस्छु, जिल्लाभित्र र बाहिर कतिबेला कहाँ यात्रु बोकेर दौडिनुपर्छ, टुंगो हुँदैन,’ उनले भने, ‘रातदिन यात्रु बोक्छु । बिरामीका लागि एम्बुलेन्सको पनि काम गरेको छु ।’ यात्रुको पर्खाइमा सन्धिखर्क शान्ति बगैंचा, चुत्रावेशीमा ट्याक्सी पार्किङ गरेर बस्छन् । ‘गाउँमा र जिल्लाबाहिर जाने यात्रुले फोन गरेपछि दौडिहाल्ने हो,’ उनले भने, ‘सरकारी काम र सामान किन्न सदरमुकाम झरेका पनि दुई/चार जना मिलेर ट्याक्सी रिजर्भ गर्छन् ।’
घरमै पुर्याइदिने, बीच बाटोमा काम परेमा भनेकै समयसम्म रोक्दिने र छिटोछरितो यातायातको सुविधा ठान्दै धेरैको यात्राको रोजाइ अहिले ट्याक्सी बनेका छन् ।
जिल्लाका ६ स्थानीय तह र ६१ वडाका टोलैपिच्छे सरकारी बजेट, सामुदायिक वनको आम्दानी, रेमिट्यान्स र गाउँलेले चन्दा उठाएरै सडक खनेका छन् । सरकारी बजेटमा गाउँमा बाटा पुगेका छन् । त्यहाँबाट घर–आँगनसम्म धेरैले व्यक्तिगत लगानीमा सडक खनेका छन् । गाउँका घरमा मोटरसाइकल र ट्याक्सी आँगनमै पुर्याएका छन् ।
यसरी ट्याक्सी किनेर सञ्चालन गर्नेमा वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि छन् । रोजगारी खोज्दै सन्धिखर्कका चन्द्रबहादुर थापा दुबई र मलेसिया धेरै वर्ष धाए । हेर्दाहेर्दै बाटाहरू धमाधम निर्माण भए । टोलसम्म बाटा बनेका देख्दा उनलाई छोटो समयमै यातायातले सहरसँग गाउँ जोडिएको र ती बाटामा ट्याक्सी गुडेको देखे । त्यसपछि उनको ध्यान मोडियो । विदेशमा कमाएको पैसाले ट्याक्सी किने । अहिले एक दशकदेखि अर्घाखाँची र जिल्लाबाहिरका कच्ची, कालोपत्र सडकमा यात्रु लिएर पुगिरहेका छन् । ‘ट्याक्सी नपुग्ने ठाउँ कहाँ होला र ? नयाँ बाटा खन्ने बित्तिकै बस, जिपभन्दा पहिले हामी नै पुग्छौं,’ उनले भने, ‘त्यस्ता गाउँबाट बिरामी बोकेर अस्पताल पुर्याउने र अन्य काममा गाउँलेलाई सेवा दिएका छौं । बाटो भएर घर छेउमा सुविधा भएपछि पैदल हिँड्ने मान्छे कमै भेटिन्छन् ।’
सुरुमा पैसा कमाइ असाध्यै राम्रो थियो । किस्ता तिरेर महिनामा एक लाखभन्दा बढी कमाइ हुन्थ्यो । अहिले धेरै गाडी छन् । प्रतिस्पर्धा उस्तै भएकाले ५० हजार रुपैयाँसम्म कमाइ हुने थापाको भनाइ छ । स्वदेशै बसेर ट्याक्सीको कमाइले घरखर्च, छोराछोरीको पढाइ खर्च पुर्याएर बैंक बचत पनि भइरहेको उनले बताए ।
‘ट्याक्सीले गर्दा धेरै सुविधा भएको छ,’ मालारानीका स्थानीय विमल थापाले भने, ‘केही कामका लागि सदरमुकाम पुग्दा ढिला भयो भने होटलमा बास बस्नु पर्थ्यो । अहिले त जतिबेला पनि ट्याक्सीले घरमै ल्याइदिन्छन्, होटलमा बस्नु पर्दैन, खर्च कम भएको छ ।’ मध्याह्न र रातमा कहीँ जानुपरे, बाहिरबाट जिल्लामा आउँदा रात परे ट्याक्सीकै कारण होटलमा बास बस्नुपर्ने बाध्यता हटेको उनले बताए ।
यसरी पहाडी जिल्लामा टोलैपिच्छे ट्याक्सी सुविधा सहजै पाउनुको कारण सडक हो । सडकका हिसाबले अर्घाखाँची नमुना जिल्ला हो । जिल्लामा ३ सय ५० भन्दा बढीको संख्यामा व्यावसायिक र निजी ट्याक्सी छन् । सबैले रिजर्भमा यात्रु बोक्छन् ।
‘हामीले मान्छे बोक्ने मात्रै नभएर एम्बुलेन्सको पनि काम गरेका छौं,’ अर्घाखाँची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र भुसालले भने, ‘वैदेशिक रोजगारबाट फर्किएका, जाने तयारीमा रहेका र बेरोजगार युवाले ट्याक्सी चलाउने काम पाएका छन् । यहाँका ३ सय ५० जनाका परिवार ट्याक्सीबाटै पालिएका छन् ।’
जिल्लामा २०७० सालदेखि ट्याक्सी सेवा सञ्चालन भएको हो । सुरुमा १० वटाबाट सुरु भएको याे यात्रा यात्रुको चाप बढी भएसँगै धमाधम ट्याक्सीको संख्या पनि थपिँदै गएको छ।
सुरुको वर्षभन्दा अहिले बाटा पनि सजिला र कालोपत्र भए । टोलका कच्ची सडक पनि राम्रो भएको उनले बताए । वर्षाका बेला टोलमा पुग्ने केही सडकबाहेक अधिकांश बाटामा बाह्रै महिना यातायात चल्ने भुसालले बताए । धेरैले किस्तामा गाडी किनेर आफैं चालक बनेका छन् । ट्याक्सीले यात्रु बोक्ने मात्रै नभएर गाउँमा उत्पादन भएको तरकारी, खाद्यान्य, दूध लगायतका वस्तु बजारसम्म ल्याइदिने गर्छन् ।
